अन्तर्वार्ता

कांग्रेस रुपान्तरण गर्ने नेतृत्वको खाँचो छ

By खबरहब

June 20, 2023

भर्खरै सरकारले बजेट प्रस्तुत गरेको छ। बजेट प्रस्तुत भइरहँदा जुन नेताको वर्चस्व छ ती नेताले आ–आफ्नो क्षेत्रमा करोडौं रकम एकलौटी पारे भन्ने सम्बन्धको आरोप संसद्मा लागेको छ। यसले गर्दा सरकारको मनोमानी देखिएको छ। अर्कोतर्फ सत्ता सहयात्री दल नेपाली कांग्रेसमा नेतृत्वको विषयलाई लिएर महामन्त्रीद्वय विभिन्न कसरत गरिरहेका छन्। कतिपयले विशेष महाधिवेशनको आह्वान हुनसक्ने सम्भावना औँल्याएका छन्। कांग्रेसका कतिपय नेताहरूले रूपान्तरण अभियान सञ्चालन गरिरहेको छन्। आफूखुसी रूपमा नेता रूपान्तरण भन्दै जिल्ला जिल्लामा गएका छन्। यो अवस्था कांग्रेसमा किन आयो ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रोमी गौचन थकालीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई साथ दिनुभएको छ, सरकार राम्ररी चलिरहेको छ ? पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अथवा २०७३ सालको मन्त्रिपरिषद्मा काम गरेको अनुभव छ। उहाँ बन्दुकको शक्तिको सिद्धान्तबाट युद्ध गरेर आउनु भएको हो। तर सिंहदरबारमा मैले अनुभव गरे अनुसारमा उहाँले प्रजातन्त्रको आधारमा नै नेतृत्व गर्नुभएको छ। हिजोका त्रुटिहरूलाई न्यूनीकरण गरेर नारा र भाषणमा होइन सुशासनको अनुभूति दिने गरी काम गर्नु आवश्यक छ। अहिले जनताले देख्ने अनुभव हुने गरी काम गर्नुपर्ने हो तर त्यो देखिएको छैन।

अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्यो। यसलाई कसरी हेर्नु भएको छ ? सरकार बाध्यताको घडीमा परेको जस्तो लागेको छ। किनभने लोकतन्त्रको अधिकतम आकर्षणको बिन्दु भनेको निष्पक्ष शासन प्रणाली हो। अहिलेको भ्रष्टाचारका कुरामा सबैलाई समान कारबाही हुनुपर्छ। तर हामीले त्यो देख्न पाएका छैनौं। सरकारले निष्पक्ष ढंगले अनुसन्धानमा साथ दिनुपर्छ। मुर्त रूपमा सुशासन दिने हो भने खटपट नै हुँदैन। कर्मचारीको खटनपटन मात्र सरकार होइन। कर्मचारी सक्षम छन्। त्यो नहुँदा नै खटपट हुने हो।

अहिलेको समयमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले लिएको कदममा पनि विविध कारण छन् र ? आजसम्म मैले यो विषयलाई त्यसरी लिएको छु। तर भोलिका दिनमा यो न्यायिक प्रणालीमा प्रशासकीय हस्तक्षेप हुन्छ हुँदैन भनेर भन्न सक्ने अवस्था छैन। लोकतान्त्रिक अभ्यासमा लामो अनुभव भएकोले न्याय प्रणालीमा प्रश्न उठाउन नसक्ने होइन। तर तुलनात्मक हिसाबले न्याय मूर्तिहरूले आत्मनिर्णय दिन साहस गर्छन्। ती इतिहासहरू हिजो पनि भएको हुनाले न्याय प्रति मेरो विश्वास छ। एउटा नागरिकलाई अनागरिक बनाएर पठाउने भनेको यो भन्दा तुच्छ काम अरू केही हुँदैन।

भुटानी शरणार्थीको मुद्दाको अनुसन्धानमा केही व्यक्ति नआएको र त्यसमा केही लेनदेन भएको हो ? त्यो बेला नेताबीच भएको भेटघाटलाई जनताले त्यही भनेका छन्। राम्रो नजरले हेरेका छैनन्। राजनीतिक नैतिकताको आधारमा अब उहाँहरू र हामीलाई शिर उठाएर हिँड्ने ठाउँ भएन।

सत्तामा भएकाले नेताले सबै बजेट आफ्नो गृह जिल्लामा लगेका छन्। अर्कातर्फ कम्युनिस्टहरु नेकपा ब्युँताउनुपर्छ भन्दै छन्। कांग्रेसलाई घेराबन्दीमा पर्ने खेल त हुँदै छैन ? प्रचण्डजी कहिले काँही धेरै सहज भइदिनु हुन्छ। उहाँले समय अनुसारको छलाङ मार्ने व्यक्ति हुँ भन्नुहुन्छ। उहाँहरूले समाजवादी मोर्चा बनाएर दरिलो शक्ति बनाए राम्रो हो। नेपालमा धेरै पार्टीहरू भए। संसदमा साना दलले नै ठूलो बार्गेनिङ गर्ने भए। त्यसैले यो मोर्चा बनाउने कुरा नराम्रो होइन जस्तो लाग्छ। पछिल्लो समयमा भूराजनीतिको बहानामा बाह्य कूटनीतिक शक्तिको प्रभाव पनि बढ्न थाल्यो भने नागरिकको जमात पनि धेरै छ। त्यो आधारमा हेर्दा नेपालको राजनीतिस्थिरता तर्फ गएको देखिँदैन। एमाले र कांग्रेस मिल्यो भने तेस्रो पार्टी कमजोर हुन्छ। त्यो प्रजातान्त्रिक रूपमा घातक हुन्छ। त्यसैले एमाले र कांग्रेस मिलेर सरकार बनाउनु हुँदैन।

देउवा सिंगापुर गएको स्वास्थ्य उपचारका लागि होइन, राजनीति उपचार हो भनेर कतिपय टिप्पणी आइरहेका छन्। यथार्थ के हो ? उहाँले निजी भ्रमण भनेर गएपछि त्यसको चर्चा परिचर्चा गर्ने समय खर्च गर्नुपर्ने आवश्यकता छैन। अन्य कुरा रहेछ भने त्यो भोलि बाहिर आइहाल्छ।

तपाईंहरूले सरकार निर्माण गर्दा गरेको सहमति कार्यान्वयन भइरहेको छ ? म पदलाई महत्त्व दिने मान्छे होइन। पार्टीले सांसदको लागि चुनाव लड्न मलाई आग्रह गरेको हो। अहिले राजनीति खडेरी छ। सबै पार्टीमा मूल्य मान्यतामा खडेरी परेको छ। मैले पार्टीको सैद्धान्तिक कुरा लिएर जनताको सामु गएको भए विजयी हुनेथिए। मुस्ताङमा मैले भर्खरका युवालाई अवसर दिएको हुँ। मैले शिक्षा र प्रविधिको आधारले हामी भन्दा अगाडि होलान् भन्ने लागेर युवालाई अवसर दिएँ। युवाले आफूलाई कसरी रूपान्तरण गरे भन्ने सवाल हेर्नुपर्छ। राजनीति गर्ने परिपाटी पुरानै राख्नु हुँदैन। कांग्रेसमा रूपान्तरण भनेर मात्र हुँदैन। रुपान्तर गरेर देखाउनु पर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको उन्नतिको कामना गर्छु। तर पार्टी स्थापना भएको ६ महिना नभई पैसा मागेको कुरा सार्वजनिक हुनु दुर्भाग्य हो। कांग्रेस भित्र नेतृत्वको रूपान्तरणको कुराको चर्चा हुन्छ। उपनिर्वाचनमा तनहुँको जिम्मा गगन थापाले र चितवनको जिम्मा विश्वप्रकाश शर्माजीले लिनुभएको हो। उहाँहरूले त्यहाँ गएर आफू महामन्त्री भएर नेतृत्वको हिसाबमा सफल हो वा असफल समीक्षा गर्नुपर्छ।

कांग्रेस भित्र घण्टीको डर हो तपाईंलाई ? कांग्रेसभित्र कसैलाई घण्टीको घर छ भने त्यतै जाँदा हुन्छ। एमालेका र कांग्रेसका भोटरलाई एमाले र कांग्रेसका नेताहरूले भोट हाल्ने वातावरण बनाएका हुन्। रूपान्तरण चाहियो भन्नेले आफूलाई रूपान्तरण गर्नुपर्छ। ८४ सम्म रास्वपा रह्यो भने त्यो नै ठुलो कुरा हो। अहिले नै रास्वपाको सैद्धान्तिक मतभेद आइसकेको छ। एमाले र कांग्रेसबाट चोरेर लिएको जनमत सधैँ रहँदैन।