भोजपुरको नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने | Khabarhub Khabarhub

भोजपुरको नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । 

पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नम्बर ६ को सिमानामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो ।

प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसाद राई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचार्यले जानकारी दिए । यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचार्यको भनाइ छ ।

‘हाम्रो ठाउँको प्रसिद्ध धार्मिकस्थल नागछाँगाको संरक्षणमा जुटेका छौँ’, उनले भने, ‘यो संरक्षण तथा प्रचारप्रसार गर्नका लागि भदौ ४ गते मेलाको आयोजना गरेका छौँ । यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णयसमेत गरेका छौँ । यसले यो क्षेत्रको प्रचार– प्रसारमा टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो ।’

यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताए । नागछाँगा, गङ्गाखोला, गोल्मेभिर, थामडाँडा लगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिएको उनको भनाइ छ ।

नागछाँगाको किंवदन्तीको खोज तथा अनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको  किंवदन्ती पनि छ’, उनले भने, ‘नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भीरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन् । यसको किंवदन्तीको खोजीमा लागेको छौँ ।’

दुई वडाको सिमानामा रहेको यो स्थानमा विकासमा एक भएर लागेको वडा नम्बर २ का  वडाध्यक्ष राजकुमार तामाङले बताए । स्थानीयस्तरका धेरै मानिस यो ठाउँको महत्वका विषयमा जानकार भए पनि बाह्यरूपमा चिनाउन नसकिएको उनको भनाइ छ । 

यसको प्रचारप्रसारका लागि विभिन्न गतिविधिलाई अघि बढाइएको उनले जानकारी दिए । हेर्दा नै यो ठाउँ अनौठो रहेको उनको भनाइ छ ।

ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाइ छ । ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो–कोही पनि अचम्मित हुने गरेका छन् ।  हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ । यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले सोहीअनुसार विकासको काम अघि बढाउने अध्यक्ष राईले बताए ।

‘नागछाँगा एउटा प्रकृतिको उपहार हो’, अध्यक्ष राईले भने, ‘यो हाम्रो गाउँपालिको सम्पत्ति पनि हो । यसको संरक्षणमा हामीले ध्यान दिँदै आएका छौँ । यसको पर्याप्त प्रचारप्रसार हुनसकेको छैन । यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ ।

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखाङ्ग भञ्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताए । 

स्थानीय स्रोत साधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए । रामप्रसाद राईको जन्म भएको स्थान रहेकाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ । उनले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ०६ बजे

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छ : मुख्यमन्त्री आचार्य

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  नवप्रवर्तन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा