प्रचण्डका कारण माओवादी नाम मात्रको भयो | Khabarhub Khabarhub

प्रचण्डका कारण माओवादी नाम मात्रको भयो

‘गणतन्त्र राजतन्त्र भन्दा खत्तम रहेछ भन्नेभयो’



देश परिवर्तनका लागि १० वर्ष सशस्त्र युद्धपछि सरकारको नेतृत्वमा पुग्दासमेत माओवादीले जनतालाई भरोसा दिन सकेको छैन। देशभर जनस्तरमा, समाजमा, राजनीतिक पार्टीमा, पार्टी कार्यकर्तामा सबै तहमा निराशा बढ्दो छ। यो परिस्थिति निम्तनुमा को बढी जिम्मेवार छ ? को जवाफदेही बन्नुपर्छ ? भन्ने विषयमा जोडिएर नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

माओवादी शक्ति सरकारमा जाँदा पनि यस्तो निराशावादी कोर्सबाट राजनीतिक किन अगाडि बढेको होला ?
अहिलेको सरकारको नाम मात्र माओवादी पार्टी हो। प्रचण्डले माओवादीलाई नाम मात्रको बनाइसक्नुभयो। यो पनि उहाँको खुसीले राखेको जस्तो लाग्दैन। नेकपा राखेर पार्टी एकता गर्नुभएको थियो। पछि अदालतले आ–आफ्नो थान्कोमा जाऊ भनेपछि त्यो नाम उहाँहरुले बाध्य भएर राख्नुभएको हो। त्यस कारण जे भए पनि उनीहरुले माओवादीको वा कम्युनिस्ट पार्टीको विचार सिद्धान्त परित्याग गरेका छन्। जसका कारण अरु पार्टीले जे गर्छन्। त्यसो नै गर्नुभएको हो।

प्रतिकृयावादीले त त्यस्तो काम पहिलादेखि नै गर्दै आएकोले अभ्यास पनि हुन्छ। उहाँहरू नयाँ जोगीले खरानी घस्छ भनेजस्तो यो प्रतिकृयावादी व्यवस्थाको लागि र रक्षाको लागि भनेर अझ नांगो र उत्ताउलो ढंगले प्रस्तुत हुनुभएको हुनाले हामी कहाँ छौँ भन्ने थाहा नै छैन।

नाङ्गो र उत्ताउलो ढङ्ग भन्ने शब्दलाई कुन घटनाक्रमले पुष्टि गर्छ ?
संसदीय व्यवस्था भित्र रहेर उहाँले जुन काम गर्नुभएको छ त्यो प्रतिकृयावादी गर्ने काम भन्दा भिन्न काम गर्नुभएको छैन। त्यसले यो पुष्टि गर्छ।

संसदीय व्यवस्था भित्र तपाईंहरू पनि जान खोजको हो। ढोका खुला थियो जान सक्नु भएन। गएपछि त्यही हुने रहेछ ?
हामी त्यहाँ जान खोजेको होइन। पहिला संविधान सभाको निर्वाचनको कुरामा हामी जानुपर्ने नै थियो। संविधान सभाको निर्वाचन गराउने भन्ने हाम्रो माग थियो। संविधान सभाले बनाएको संविधानलाई लागु गर्ने सम्झौता नै भएको हुनाले हामी त्यहाँ गएर हस्तक्षेप गर्ने र जनगणतन्त्रको संविधान बनाउने भन्ने पार्टीको त्यो बेलाको नीति भएको हुनाले गयौँ। संसदमा पनि त्यही आवाज उठायौँ। त्यो उहाँहरूले छोड्नुभयो र संसदीय चुनाव दोहोर्याएर गर्नुभयो। दुनियाँमा संविधानसभाको चुनाव एक पटक मात्र हुन्छ।

प्रतिवादीले उनीहरूले भने जस्तो संविधान त्यहाँ पास नहुने देखे। त्यो बेला माओवादी पार्टी एक्लैले आधा सिट प्रत्यक्षमा जितेको थियो। त्यसो हुनाले उनीहरूले त्यो संविधानसभालाई खारेज गरेर अर्को संविधान सभाको चुनाव बाबुरामजीलाई गर्न लगाए। त्यस कारण हामीले त्यहाँ जान हाम्रो शान्ति प्रक्रियामा भएको सहमति अनुसार जनगणतन्त्रको लागि आधार तयार गर्न त्यहाँ भूमिका खेलेको थियौँ। त्यसपछि हामी सरकारमा पनि गएनौँ।

यो संविधानलाई स्वीकार गरेर देशभक्त गणतान्त्रिक मोर्चा बनाएर पनि त चुनावमा गएको हो नि ?
त्यो त चुनावको लागि मात्र होइन। चुनावलाई उपयोग गर्नेमा त प्रक्रियावादी चुनावलाई नै हामी मान्छौँ। अहिले पनि हामीले चुनाव उपयोग गरेर क्रान्तिको तयारी गर्ने भनेर चुनाव उपयोग गरेको हो। प्रतिक्रियावादी व्यवस्था अन्तर्गतको चुनाव हो भन्ने कुरा जनतामा लैजानको लागि पनि हामीले बेलाबेलामा उपयोग गर्दै आएका हौँ। त्यसलाई उपयोग गर्नु र त्यो व्यवस्थामा गएर सरकारमा बसेर राज्य सञ्चालन गर्नुमा धेरै फरक छ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता उपलब्धि होइनन् र ?
उपलब्धि भनेको हाम्रो माग भनेको संविधान सभाबाट जनगणतन्त्रको संविधान बनाउने र नेपालमा जनगणतन्त्रको स्थापना गर्ने नै थियो। नयाँ जनवाद वा जनगणतन्त्रको लागि संघर्ष गर्ने हो भन्ने थियो। २०५२ साल फागुन १ गते यो कुरालाई घोषणा गरेरै युद्धको सुरुवात गरेका थियौं। त्यसको पर्चा पोस्टर सबैमा यो कुरा उल्लेख छ। पछि आफ्ना एजेन्डा छोड्दै गएर जनता ठग्ने काम भएको छ। हामीले त अहिलेसम्म जनतालाई सबै कुरा बताएर नै आएका हौँ।

तपाईंहरूले यसो भन्दै गर्दा हिजोका दिनमा ४० बुँदे माग बोकेर सिंहदरबार छिर्ने बाबुराम पनि उनै हुन। १० वर्ष लामो युद्धको मसाल बोकेर हिँड्ने प्रचण्ड पनि त्यही छन्। कस्ता मान्छेलाई नेता बनाएर १० वर्षसम्म युद्धमा होमिनु भएछ ?
अहिले हामीले त्यो हाम्रो कमजोरी भयो भनेर पछुताएका छौँ। हामीले त्यस्तो जो जनगणतन्त्रको पक्ष नै हैन रहेछ लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थालाई नै अविष्ठ मान्ने मान्छेलाई कसरी नेता बनाएछौँ भनेर कमजोरी महसुस गरेका छौं। पहिला उनीहरूले यो कुराको संकेत गरेको भए मान्दैनथ्यौँ। गद्दार त सबै पार्टीमा हुन्छन् तर हाम्रोमा नेतृत्व नै धेरै नै गद्दारी गर्यो।

तपाईंहरूलाई भारतमा गिरफ्तार पर्दा पनि यो खालको भूमिकामा नै उनीहरू थिए भनेर पछिल्लो समयमा कतिपयले व्याख्या गर्छन्। त्यो बेला पनि यो हेक्का भएन ?
हामी भारतीय जेलबाट छुटेर आउँदा धेरै पत्रकारले पनि यो कुरा सोधेका थिए। तर मैले मलाई त्यस्तो लाग्दैन भनेको थिएँ। तर अहिले आएर हेर्दा जे पनि गर्न तयार भए उनीहरू। अहिले आएर उनीहरुको चरित्र प्रष्ट देखियो।

त्यो बेला मोहन वैद्य ‘किरण’ वा तपाईंहरूको विचारको घाँटी निमोठ्न भारतमा गिरफ्तार गराइएको रहेछ भन्ने अहिले हेक्का भयो ?
पछिल्ला घटनाहरूले त्यही संकेत गर्छ। प्रमाण भने केही छैन।

अहिले प्रचण्ड नेतृत्वकै सरकार छ, संसदीय भूमिकामा पनि उनीहरूको बाहुल्यता छ। यो गणतन्त्र, संघीयता, धर्म निरपेक्षता यिनीहरु कसैले पनि चाहेको होइन रहेछन् भन्ने पुष्टि भएन र ?
यिनले जे पनि गर्न सक्छन्। एक जना अनुभवी राजनीतिज्ञले प्रचण्ड अरु भन्दा प्रतिकृयावादी भन्दा अझ बढी खतरनाक छन् जे पनि गर्न सक्छन् भनेका छन्। अहिले प्रचण्डले त्यही गरेका छन्।

कस्तो मान्छेलाई नेता बनाएछौँ भनेर समीक्षा गर्ने विषय होइन र यो ?
हो। त्यो हामीले नै लगेको हो। तर त्यसमा हाम्रो कमजोरी छैन भनेर भन्न पाइँदैन। ३० देखि ३५ वर्षसँगै काम गरेको मान्छे यो विषयमा जानकारी पाइएन भनेर पन्छिनु हँुदैन। हामीले पनि त्यसको जिम्मेवारी लिनुपर्छ। उनीहरूले विश्वासघात गरे, गद्दारी गरे धोका दिए भनेर हामीले पार्टी पुनर्गठन गर्नुपर्याे। सच्चाएर हुने थियो भने हामीले किन पार्टी पुनर्गठन गर्नुपर्ने परिस्थिति देखिन्थ्यो र ? यसमा हाम्रो पनि गल्ती छ भनेर हामीले स्वीकारेका छौँ।

अहिले पनि फेरि पूर्व कम्युनिस्ट मिल्नुपर्छ फेरि आउनुहोस् भनेर एउटै मञ्चमा एउटै ब्यानर टाँगेर तपाईंहरू किन उभिएको ?
त्यो उनले भनेका छन्। उनी प्रधानमन्त्री पनि तीन पटक भए। उनीहरूले धन, सम्पत्ति पनि कमाए। तर फिल्डमा जनताले उनलाई ठुलो अविश्वास गरेका छन्। यो धोकेबाज रहेछ, बदमास रहेछ भनेर घृणा गरेको अवस्थामा उनको आफ्नै इमेजले पार्टी त चल्दैन। हामीले पहिलो संविधान सभाका निर्वाचनमा २४० प्रत्यक्ष निर्वाचन सिटमा १२० त एक्लैले जित्यौँ। अब त्यो खुम्चिँदै गएर सबै गरेर ३२ सिटमा पुगेको छ। अब त्यो पनि जोगिने वाला छैन। यस्तो अवस्थामा हामी सबै एक छौँ भन्यौँ भने जनताको विश्वास पाइन्छ भन्ने उनलाई लागेको छ। उनले हामीलाई पनि पार्टी एकता गरौँ भनेका हुन्। तर हामीले हुँदैन भनेर भनेका थियौँ।

अब युद्धकालीन मुद्दाका कुरामा त्यो बल्झाएर अप्ठ्यारो पार्ने अवस्था आयो भने त मिल्नु पनि पर्ला नि ?
उनीहरूको उद्देश्य त्यो हो। तर अब क्रान्तिकारीसँग उनीहरूको एकता सम्भव छैन। अझै पनि उनीहरूको एकता केपी ओली, माधव नेपाल, उपेन्द्र यादवसँगै सम्भव छ। चुनावमा जाने र त्यस्तै पृष्ठभूमि भएकासँग जाने हो। त्यो प्रयास पनि गरेका छन्।

हिजो ओली र देउवाहरू प्रचण्डलाई जेल हाल्छु भन्थे। अहिले ओली र देउवा नेपाललाई जेल हाल्छु भनेर सरकार चलाएको अवस्था छ। राम्रै त गरेका छन्। यत्ति धेरै शंका किन गर्ने ?
उनीहरूले जेल हाल्ने भन्ने कुरा नै भएन। अब गठबन्धनबाट पारित गरिसकेपछि प्रधानमन्त्रीको तहकोलाई मुद्दा लगाउनु हुँदैन र बयान नलिने भनेर बयान त नलिने भइसक्यो। बाबुराम र माधव नेपालको बयान लिँदै छौँ भनेर सिआइबीले भनेको थियो। अब त त्यो पनि रोकियो।

हिजोको दिनमा त नेपाली जनताले एउटा राजा मान्थे। अहिले पाँच वर्षमा तीन वा चार जना राजा मान्दिनु पर्ने। टापु टापुमा घर दरबार ठड्याइदिनुपर्ने कस्तो खालको गणतन्त्रको लागि तपाईं लड्नु भएछ ?
राजतन्त्र र अहिले अवस्थाको तुलना गर्दा कतिपय कुराहरू राजतन्त्र हुँदा भन्दा पनि खत्तम भएको छ। एउटा राजालाई खुशी पार्दा जनतालाई सजिलो हुन्थ्यो अहिले त धेरै राजा भएका छन्। कतिलाई रिझाउने हो ? नैतिकताको आधारमा हेर्दा त राजतन्त्र भन्दा गणतन्त्र राम्रो हो। तर अहिले देशै बेचेर खाने जस्ता कुरा आएको कारण यो व्यवस्था नै खत्तम रहेछ भन्ने भएको छ।

यिनीहरूले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता यही कार्यकालमा नै खान्छन् कि जस्तो छ ?
यो हामीले कुनै जनयुद्धको बेलामा मागेको माग पनि होइन। जनयुद्ध भन्दा अगाडि यस्ता कुरा आएका होइनन्। यी पछि ल्याएका कुरा हुन्। त्यसैले राजनीतिक किसिमले विश्लेषण गर्दा त अब एउटै धर्म मान्ने हिन्दु अधिराज्य भन्दा त स्वतन्त्र रूपमा मान्छेले आफ्नो धर्म मान्नुपर्छ। राज्यले कुनै धर्मलाई प्रयोग गर्नु हुँदैन भन्ने कुराको तुलनामा त्यो ठिकै हो। तर हामीले त्यसैको लागि लडेको होइन। हामीले त जनगणतन्त्रको लागि लडेको हो। त्यसमा यो सबै कुराहरू प्राप्त हुन्थ्यो।

अबको निकास के हो ?
लोकतान्त्रिक गणतन्त्र भनेको नै संसदीय व्यवस्था हो। अहिले जुन व्यवस्था आएको छ त्यो कसैले मागेर ल्याएको थियो भनेर कसैले पुष्टि गर्न सक्दैन। जनयुद्ध गर्ने पार्टीको माग त जनगणतन्त्र थियो। त्यो त आएकै छैन। त्यसलाई विस्तारित गरेर लोकतान्त्रिक गणतन्त्र भनिएको छ। लोकतान्त्रिक जनगणतन्त्रले राजतन्त्रको जति पनि गरेन भनेर जनताको अनुभवले भनेको छ। यो अभ्यास नै गलत भयो। यसमा निकास छैन।

अहिले देश कुन अवस्थामा देख्नुहुन्छ ?
अहिलेको अवस्था ठुलो आँधी तुफान आउनु भन्दा अगाडिको सन्नाटा जस्तो देखिन्छ। यति धेरै भ्रष्टाचार, अन्याय, अत्याचार, राष्ट्रघात भएका छन्। यसको विरुद्धमा जनता पनि नबोल्नु क्रान्तिकारी शक्ति पनि त्यसको लागि तयार नदेखिनु बिडम्बना छ। यो विष्फोट कहिले हुने हो हेर्दै जाऔँ।

प्रचण्ड यो संकटको समयमा सिद्धिन्छन् कि सुध्रिन्छन् होला ?
उनीहरू उत्रिने सम्भावना छैन। किनभने नेपाली कांग्रेससहितका दलसँग निकट छन्। त्यहाँ पुगेका प्रचण्ड क्रान्तिकारी बनेर आउने सम्भावना छैन।

कम्युनिस्ट पार्टी भन्ने शब्दसँग नै किन माओवादी बोझिलो भयो ?
उनीहरू त्यस्ता पार्टीसँग मिलेर संयुक्त मोर्चा बनाउने भनेर जुन योजना बनाएर आएका छन् त्यसले अब उनी यो कित्ता तिर फर्किने सम्भावना छैन।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : १७ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये