आन्तरिक पर्यटकको गन्तव्य बन्दै मकवानपुरगढी « Khabarhub

आन्तरिक पर्यटकको गन्तव्य बन्दै मकवानपुरगढी


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बागमती– वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको सङ्ख्या मध्यबर्खामा पनि दैनिक पाँच सयदेखि हजारकै हाराहारीमा रहेको छ । 

गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरुका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहेकी मकवानपुरगढी–२ की सीता तिमल्सिना बताउँछिन् । आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न सङ्घसस्था, वित्तीय संस्थाहरु, सहकारी, विभिन्न स्थानीय तहलगायत सङ्घसंस्थाहरुबाट सामूहिक भ्रमणमा आउने आगन्तुकहरुको सङ्ख्या उल्लेख्य पाइएको बताएको छ । 

विसं १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशी राजाले निर्माण गरेको मानिने मकवानपुर गढी  ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरु मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे । 

पृथ्वीनारायण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरु बताउँछन् । लोहाङ्ग सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरू, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्त्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ । 

विशाल मकवानपुर राज्यको दुई सय नौ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै नै हुने गरेको छ । विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरू आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् । 

गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन्। उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरू आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरूको सङ्ख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरे बताउँछन् । 

हेटौंडा बजारबाट १७ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराज पथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरूले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिङ्गग कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरू पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुराँसले ढपक्कै हुने ढुङ्गे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुङ्गेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिनले बताए । 

मुसलमानी आक्रमणबाट बाँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरूको उद्गमस्थल मकवानपुर नै हो । 

पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन् । 

मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : ३७ बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर