ब्रेकिङ स्टोरी

माइतीघरमा ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरको प्रदर्शन (तस्विरहरु)

By संगम ढकाल

November 20, 2023

काठमाडौं– ‘फ्यामेली कन्टेन क्रिएटर’ टिकटकरहरुले प्रतिबन्धको विरुद्धमा सोमबार माइतघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले टिकटक बन्द गर्न नहुने १२ बुँदे तर्क राख्दै माइतीघरमा जम्मा भएर सरकारलाई दबाब दिएका हुन् । 

साइबर क्राइममा टिकटक सात प्रतिशतमात्रै हिस्सेदार भएकोले नियमनको सट्टा प्रतिबन्धले कन्टेन्ट क्रिएटरको अधिकार खोसिएको टिकटकरहरुको तर्क छ । साइबर क्राइममा ८० प्रतिशत हिस्सेदार फेसबुक बन्द नगरी टिकटक बन्द गर्नु तर्कसंगत नभएको उनीहरुको भनाइ छ । 

प्रदर्शनमा सयौँको सङ्ख्यामा सामाजिक कन्टेन्ट क्रिएटर र टिकटकमार्फत व्यवसाय प्रवर्द्धन गर्दै आएका व्यवसायीहरू सहभागी थिए । कमेडी भिडियो बनाएर चर्चामा आएका टिकटकर मनोज खत्री भन्छन्, ‘हामीले कमेडी भिडियो बनाउँदै केही समयमा मानवीय रुचिका कन्टेन्ट बनाउँथ्यौं । तीनको प्रभाव राम्रो भएकाले सरकारले आफ्नो गल्ती ढाक छोप गर्न टिकटकमा प्रतिबन्ध लगायो । मेरो राष्ट्रपतिले दिएको आममाफीको विवादित विषयको कन्टेन्टको प्रभाव राम्रो थियो ।’

यस्तै विषयमा सरकारको कमजोरी र टिकटकको प्रभावलाई सरकारले थेग्न नसकेकाले प्रतिबन्ध लगाएको खत्रीको आरोप छ । प्रदर्शनमा उनीहरूले मेरो अधिकार खोइ, देशमै गरिखान देउ, टिकटक बन्द होइन सरकार भ्रष्टाचार बन्द गर, सर्वोच्च अदालत कहाँ छ?, टिकटक प्रतिबन्ध खारेज गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

टिकटक प्रतिबन्ध खारेज नभए अनिश्चितकालसम्म आफ्नो आन्दोलनलाई निरन्तरता दिने उनीहरूले चेतावनी दिएका छन् ।