सुन्तलाको न्यूनतम मूल्य निर्धारण « Khabarhub

सुन्तलाको न्यूनतम मूल्य निर्धारण


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरूपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । 

बेनी-४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ । यसअघि यहाँ गत मङ्सिरमा सुन्तला नपाक्दै बिक्री गर्न थालिएको थियो । ‘किसानले व्यापारीले जति भन्यो त्यति मूल्यमै सुन्तला बेच्ने गरेका थिए,’ उनले भने । 

म्याग्दीका अन्य ठाउँका किसानले भने व्यापारीले भनेको मूल्यमै सुन्तला बिक्री गर्ने गरेका छन् । बास्कुनामा जिल्लामै पहिलो पटक सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको हो । गत वर्ष यहाँ सुन्तला प्रतिकिलो रु ६५ देखि रु ७५ मा बिक्री भएको थियो । व्यापारीले सुन्तला नटिप्दै अगाडि नै पैसा दिएर खरिद गरिसकेका किसान भीम थापाले बताएका छन् । यहाँको सुन्तला पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लग्ने गरिएको उनले बताए ।

आगामी सातादेखि सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ । बास्कुना, सुर्केमेला र थामडाँडाका चालीस परिवारले आठ हेक्टर जग्गामा सुन्तलाखेती गरेका छन् । पछिल्लो एक वर्षमा एक हजार नयाँ बिरुवा थपिएका छन् । गत वर्ष तीन वटा गाउँबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री  भएको खत्रीले बताएका छन् ।  

परम्परागत खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेतीबाट जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका बासिन्दाले धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला रोप्न थालेका छन् । वार्षिक दश मुरी धान फल्ने खेतमा चार सय सुन्तलाका बिरुवा रोपेको बास्कुनाकी तिलकुमारी हुमेनले बताए । गत वर्ष रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । 

‘छोरा विदेशिए, छोरीको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाँडेर सुन बेचेर सुन्तलाका बिरुवा रोपेँ’, उनले भने । बास्कुना गाउँभरि सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । 

सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्‍याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलीलगायतका सामग्री सहयोग गरेको केन्द्रले जनाएको छ । प्रदेश सरकारमार्फत दुई वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण गरिएको छ । बेनी–थामडाँडा–बरंजा सडक स्तरोन्नति नहुँदा भने सुन्तला बिक्री गर्न बजार लैजान समस्या भएको स्थानीय भीम गुरुङले गुनासो गरे । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ५४ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको