काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । उनको संगीत रहेको ‘रातो टीका जमरा’ बोलको गीत सार्वजनिक भएको छ ।
दसैँको उल्लास, रातो टीका, जमरा र परिवारसँगको आत्मीयतालाई समेटेर तयार पारिएको गीतमा कृष्ण विक र जुनु रिजालको स्वर रहेको छ । वेद जोशीको शब्द रहेको गीतमा अधिकारीले संगीत दिएका छन् । महाराज थापाले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।
‘चरीररि रै…’ र ‘हो दसैँ आयो’ जस्ता लोकप्रिय दसैँ गीतका सर्जक अधिकारी लामो समयपछि यस विधामा फर्किएका हुन् । नयाँ पुस्ताका गायक कृष्ण विकसँगको सहकार्यमा तयार भएको गीतले दसैँको सांस्कृतिक र पारिवारिक महत्त्वलाई प्रस्तुत गरेको छ ।
गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी सञ्जय विश्वकर्मा (खिम्जन) ले गरेका छन् । भिडियोमा दसैँको रौनक, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिसँग जोडिएका दृश्य समेटिएका छन् ।
दसैँका गीतले चाडपर्वको उल्लाससँगै बाल्यकाल, परिवार र पुराना सम्झनालाई जीवन्त बनाउने गर्छन् । यही भावनात्मक सम्बन्धलाई नयाँ सिर्जनामार्फत निरन्तरता दिने उद्देश्यले ‘रातो टीका जमरा’ तयार गरिएको हो ।
लक्षारा फिल्म्सको प्रस्तुतिमा तयार भएको गीत कृष्ण विकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।














प्रतिक्रिया