सभामुखद्वारा सदनलाई पहिलो सम्बोधन (पूर्णपाठ) | Khabarhub Khabarhub

सभामुखद्वारा सदनलाई पहिलो सम्बोधन (पूर्णपाठ)


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक निष्पक्ष ढंगले चलाउने प्रतिवद्धता जनाएका छन । शनिबार सेको प्रतिनिधिसभाको बैठकमा लिखित मन्तव्य दिँदै सभामुख घिमिरेले प्रतिपक्षलाई पनि महत्वका साथ स्थान दिएर सभा सञ्चालन गर्ने जनाएका छन् । जेष्ठ सदस्यताको नाताले यसअघि सभा सञ्चालन गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणालाई पनि धन्यवाद दिएका छन ।

उनले संसदलाई सम्बोधन गर्दै भनेका छन्, ‘स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्बन्धमा माननीय सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु ।’ उनी अगाडि भन्छन्, ‘सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु ।’  उनका अनुसार संसद्मा राजनीतिक दलहरूको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो, त्यसैले संसद् प्रतिस्पर्धाको थलो पनि हो । 

‘संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्बन्धमा माननीय सदस्यहरूलाई विश्वास दिलाउन चाहन्छु’ सभामुख घिमिरेले भने ।

सम्बोधनको पूर्णपाठ

माननीय सदस्यहरू
आजको कार्यसूचीमा रहेका विषयहरूलाई अघि बढाउनु भन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु ।

प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनु भएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
लोकतन्त्र प्राप्ती, सामाजिक परिवर्तन, कानूनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुती दिने सम्पूर्ण सहिदहरुको उच्च सम्मानका साथ स्मरण गर्दै उहाँहरुले देखाउनु भएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु । 

नेपालको संविधानले अंगीकार गरेका मूलभूत मान्यताहरुको संरक्षण, सम्बद्र्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगीकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्य प्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन । नेपालको संविधानले अंगीकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ । त्यसैले संसद्मा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु । सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु । संसद्मा राजनीतिक दलहरूको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो । त्यसैले संसद् प्रतिस्पर्धाको थलो पनि हो । संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्बन्धमा माननीय सदस्यहरूलाई विश्वास दिलाउन चाहन्छु ।
संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दलहरू सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् । प्रतिपक्षको आवाजको उचित सम्बोधन गर्नका लागि उसले संसद्मा तदनुकूलको अवसर प्राप्त गर्नु पर्ने भएकोले बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्ष’को भन्ने मान्यतालाई संसद्मा मुखरित हुन दिनु पर्दछ भन्ने कुरामा म सचेत छु । 

प्रतिनिधि सभा सञ्चालनका लागि संविधान र प्रचलित कानून एवम् प्रतिनिधि सभा नियमावलीले गरेका मार्ग दर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहनेछन् । यसका अतिरिक्त सभा सञ्चालनका लागि हामी आफैंले विकसित गरेका असल अभ्यास र लोकतान्त्रिक मुलुकका संसदमा विकसित भएका असल अभ्यासहरु समेत हाम्रा लागि प्रेरणादायी हुन सक्छन् । त्यस भन्दा पनि संविधान र कानूनका अधिनमा रही राजनीतिक दलहरुको आपसी सहमति र सहकार्य नै सभा सञ्चालनका मजबुत आधारहरु हुन् । नेपाली जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो यही प्रतिनिधि सभा भएकोले जनताको त्यो अधिकारको प्रयोग गर्ने राजनीतिक दलहरुले सभा सञ्चालनका लागि निरन्तर सहयोग गर्नेछन् भन्ने पूर्ण अपेक्षाका साथ माननीय सदस्यहरु मार्फत सम्पूर्ण राजनीतिक दलहरुलाई आवश्यक सहयोगका लागि सादर अनुरोध गर्न चाहन्छु ।

यो प्रतिनिधि सभा राष्ट्रियता, जनजिविका, राष्ट्रिय हित र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहँदै कानून बनाउने आफ्नो मूलभूत कार्य प्रति सदैव क्रियाशील रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । राजनीतिक दलहरुका बीचमा यदाकदा संसदमा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक  प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मवाट समाधान गर्न म सदैव क्रियाशील रहनेछु । प्रतिनिधि सभामा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुलाई त्यस प्रयोजनका लागि सभामुखको कार्यकक्ष सदैव खुल्ला रहनेछ छ ।

लामो समयको आन्दोलन र बलिदानको प्रतिफल स्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र यो संविधानलाई क्रियाशील, सबल र जिवन्त बनाउँदै नेपाली जनताको विकास र समृद्धिको व्यग्रतापूर्वकको चाहनालाई सफलिभूत बनाउने कार्यमा यो प्रतिनिधि सभा निरन्तर क्रियाशील रहनेछ भन्ने दृढ विश्वास समेत व्यक्त गर्न चाहन्छु । सभा सञ्चालनका लागि सभामा उपस्थित सबै माननीय सदस्यहरुको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि अनुरोध गर्न चाहन्छु ।

करिब पाँच दशकको राजनीतिक जीवनको क्रममा मैले जे जस्तो अनुभव र शिक्षा प्राप्त गरेको छु, त्यसैको आधारमा मलाई यो प्रतिनिधि सभाले सभामुखको पदमा निर्वाचित गरेको हो भन्ने मेरो विश्वास छ । सभामुखमा निर्वाचित भइसकेपछि मैले आफ्नो विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु मेरो कर्तव्य हुनेछ । त्यही प्रयोजनका लागि सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा (एमाले) सँगको सबै प्रकारको आवद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरि सकेको जानकारी गराउँछु । 

अन्त्यमा, प्रतिनिधि सभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यो प्रतिनिधि सभाको हालसम्म अध्यक्षता गर्नु हुने जेष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ३४ बजे

ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य

एजेन्सी – ईरानले इजरायलमाथि मिसाइल प्रहार गर्ने चेतावनी दिएलगत्तै विश्वबजारमा

हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल

एजेन्सी – लेबनानको सशस्त्र कट्टरपन्थी लडाकु समूह हिज़्बुल्लाहले इजरायली एयरबेसमा

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी

दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड आर्थिक सहयोग

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन

भारतमा चिकित्सक हत्याविरुद्ध पुनः हड्ताल सुरु

एजेन्सी – अस्पतालको सुरक्षा सुधारका लागि आफ्नो मागहरू पूरा नगरिएको