थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन | Khabarhub Khabarhub

थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ ।

पुस्तौँदेखि बनाइँदै आएका सामग्रीलाई परिमार्जन गरी बजारमा बिक्री गर्न सकिए सहजरूपमा थारू समुदायले आयआर्जन गर्न सक्ने थारू अगुवा शुक्लाफाँटा नगरपालिका–१० का हवल्दार चौधरीले बताए ।

डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, भौका, गोन्द्री, गाग्री, करुवा, डोरी, सिकहर, व्याना, मच्या, खटौलीलगायतका स्थानीय साधन स्रोतको प्रयोग गरी थोरै लागतमा निर्माण गरिने घरायसी काममा प्रयोग हुने सामग्रीको व्यावसायिक उत्पादन गरी थारू समुदायले गतिलो आम्दानी लिन सक्ने उनले बताए।

“सीप भएर पनि थारू समुदायले पुर्खाँदेखि पुस्तान्तरण हुँदै आएको सीपको प्रयोग गरी बनाइँदै आएका सामग्री घरभित्रै सीमित राखिएका छन्”, उनले भने, “केही सामग्री बूढापाकाको ढल्किँदो उमेरसँगै ओझेलमा पर्न थालेका छन्, युवा पिँढीको सिक्ने उत्सुकता नहुनु र बूढापाकाको सिकाउने चाहना नहँुदा पुराना हातैले निर्माण गरिने सामग्री लोप हुने अवस्थामा पुग्न थालेका छन् ।”

हाल घर सजावट गर्ने चलन चलेको छ । घर सजावटका सामग्री विदेशबाट आयात हुने गरेका छन् । घर सजावटका लागि थारू समुदायले धेरै पहिलेदेखि बनाउँदै आएका सामग्री विकल्प हुनसक्ने थारू अगुवाहरूको भनाइ छ ।

“हस्तकलाका सामग्री बनाउने सीप भए पनि थारू समुदायका अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर हुँदा व्यावसायिक उत्पादन गर्न सक्ने अवस्थामा छैनन्”, थारू बुद्धिजिवी वीरबहादुर राजवंशीले भने, “थारू समुदायलाई घरायसी प्रयोगमा आउने गरेका वस्तु बजारमा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने व्यासायिक सोचको विकास गर्न जरुरी छ, यसका लागि स्थानीय तहले उत्प्रेरित गर्नुपर्छ ।”

घरमा वर्षौँदेखि बनाइँदै आएका सामग्री बनाएर बजारमा बिक्री गरेर आम्दानी हुन्छ भन्ने कुराको ज्ञान नभएर पनि व्यावसायिकरूपमा थारू समुदाय अगाडि सर्न नसकेको उनले उल्लेख गरे ।

परम्पारगत सीपलाई परिमार्जन गरी आधुनिक तरिकाका बुट्टा भर्ने, चित्र बनाउने, डिजाइन गर्नेलगायतका सीप सिकाएर थारू समुदायका महिला–पुरुष दुवै जनालाई व्यावसायिक बनाउन सकिने थारू अगुवा दानसिंह दहितले बताए ।

घरायसी सामानसँगै थारू समुदायका महिलाले लगाउने गहना, पहिरनले विस्तारै बजार लिन थालेको छ । केही व्यक्तिले थारू समुदायका महिलाले लगाउने पहिरनको व्यावसायिक उत्पादन गरी बजारमा ल्याउन लागे पनि त्यो सङ्ख्या थोरैमात्रै रहेको दहितले बताए । कारिगर नहुँदा परम्परागत गहना लोप हुने सङ्घारमा पुगेको उनी बताउँछन्।

थारू समुदायका थोरै लागतमा आकर्षक ढङ्गबाट कलात्मक बुट्टा भरेर बनाइने गहना बनाउने कारिगरलाई व्यावसायिक बनाएमात्रै गहना जोगाउन सकिने उनले सुनाए । स्थानीय तहले परम्परागत सीपलाई आधुनिक बनाउन तालिम, बजार प्रवद्र्धनसँगै लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने धनबहादुर कुश्मी बताउँछन् ।

“स्थानीय तहले थारू समुदायका महिलाले लगाउने लेहङ्गा, चोली बनाउने तालिम दिने गरेका भए पनि त्यो तालिम सकिएपछि सबैले बिर्सने गरेका छन्”, उनले भने, “व्यावसायिक योजना बनाई लगानीको वातावरण कायम गरिनुपर्छ, नजिकको सरकार भनेकै स्थानीय तह भएकाले त्यसको महत्वपूर्ण भूमिका रहन्छ, तालिम लिएकालाई व्यावसायिक कार्यमा संलग्न गराउनका लागि आवश्यक पूँजीको व्यवस्थाका लागि बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिने, बजारको खोजी गरिदिए परम्परागत सीपमा आधारित व्यवसायलाई जीवन्त राख्न सकिन्छ ।”

थारू समुदायका गहना, पहिरन घरायसी प्रयोगमा ल्याउने हस्तकलाका सामग्रीलाई आधुनिक बनाउन, संरक्षण गर्न र व्यावसायिक बनाउन स्थानीय तहले हालसम्म कुनै पनि कार्यक्रम ल्याउन नसकेकामा रतनबहादुर राना चिन्ता व्यक्त गर्छन् ।

“तराईका भूमिपुत्रका रूपमा रहेका थारू समुदायको कला, संस्कृति र त्यससँग जोडिएका वस्तुको संरक्षण गर्ने कर्तव्य स्थानीय तहको हो”, उनले भने, “त्यसका लागि चासो दिने गरिएको छैन, थारू समुदायको नयाँ पिँढीलाई परम्पारगत वस्तुको महत्वका बारेमा बुझाउन थारू अगुवाहरू अगाडि सर्नुपर्ने हुन्छ ।”

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ११ : ४५ बजे

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज