विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज  चैत ७ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २१, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन्:

चीन र रुसका राष्ट्रपतिबीच भेटवार्ता

रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिन्पिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

भेटवार्ताका क्रममा दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेका बताए ।

राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकामा धन्यवाद व्यक्त गरे । साथै उनले आफू केही दिनअघि मात्र चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाई ज्ञापन गरेकोमा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गरेका थिए ।

चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए । चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन– रुस सम्बन्धलाई अझ सुदृढ बनाउन बेइजिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनौट गरेको उनले स्पष्ट पारे ।

चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवम् रणनीतिक साझेदार भएका दोहो¥याए । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गरे ।

चीन रुससँगको रणनीतिक सम्बन्ध सुदृढ गर्न दृढ रहेको बताउँदै राष्ट्रपति सीले चीन र रुस दुवै राष्ट्र राष्ट्रिय विकास, विश्व बहुध्रुवतालाई समर्थन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका लागि काम गर्न प्रतिबद्ध रहेका उल्लेख गरे ।

चिनियाँ राष्ट्रपतिले दुवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनका साथै संयुक्त राष्ट्रसङ्घजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्व शान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिए ।

रुसको राजकीय भ्रमण गरेकोमा राष्ट्रपति पुटिनले सीप्रति आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवम् उत्कृष्ट उपलब्धिको सराहना गरे । राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो सम्भव भएको भन्दै त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामथ्र्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताए ।

राष्ट्रपति सीको नेतृत्वमा चीनले निर्धारण गरेका विकास र समृद्धिका लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै राष्ट्रपति पुटिनले दुवै पक्षको ठोस प्रयासले हालैका वर्षमा रुस–चीन सम्बन्धले विभिन्न क्षेत्रमा फलदायी नतिजा दिएको उल्लेख गरे । उनले द्विपक्षीय व्यावहारिक सहयोगलाई अझ सबल बनाउन, अन्तर्राष्ट्रिय मामिलामा सञ्चार र सहकार्य गर्न मस्को सधै प्रतिबद्ध रहेको बताए ।

वार्ताका क्रममा युक्रेन मुद्दामा पनि दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको थियो । राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, अमेरिकाले युक्रेनमा युद्ध अपराध रोक्न चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई दबाब दिनुपर्नेमा जोड दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले राष्ट्रपति सीलाई आफ्ना रुसी समकक्षीलाई युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रवक्ता जोन किर्बीले युद्धविरामको खोजी पर्याप्त नहुने पनि बताएका छन् ।

प्रवक्ता किर्बीले भनेका छन्– “राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहर, अस्पताल र विद्यालयमा बमबारी बन्द गर्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ भन्नेमा अमेरिका विश्वस्त छ ।”

जापानका प्रधानमन्त्री फुमियो किशिदा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको अप्रत्यासित भ्रमण गर्दै छन् । उनले रुसको युक्रेनप्रति ऐक्यबद्धता र समर्थन जनाउने अपेक्षा गरिएको छ । जापान र चीनले एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेरेपनि युक्रेनमा रुसी आक्रमण भएदेखि टोकियोले किभलाई मानवीय, आर्थिक र गैर–घातक सैन्य सहायताको प्रदान गर्दै आएको छ ।

सोमबार दुवै राष्ट्रपतिबीच चार घण्टाभन्दा बढी समय वार्ता भएको थियो भने आज पनि औपचारिक छलफल हुँदैछ ।

कङ्गोमा विद्रोहीको आक्रमणका कारण २१ जनाको मृत्यु

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा २१ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।

इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसधारणको ज्यान गएको हो ।

त्यस्तै, उत्तरी किभुमा पनि उनीहरुले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् । उनले पछिल्ला केही हप्तामा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ । यहाँ संयुक्त राष्ट्रसङ्घीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन ।

अमेजनले ९ हजार कर्मचारी कटौती गर्ने

अमेरिकी कम्पनी अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजनाको घोषणा गरेका हुन् ।

एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन् । यसअघि अमेजनले १८ हजार कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको थियो ।

कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो । विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन् ।

भारतीय साझेदारसँग मिलेर काम गर्ने फक्सकनको इच्छा

ताइवानको प्रविधि कम्पनी फक्सकनले चिप्स र विद्युतीय गाडी उत्पादन गर्नका लागि भारतीय साझेदारसँग मिलेर काम गर्ने इच्छा प्रकट गरेको छ ।

अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएअनुसार फक्सकनको होन हाई प्रविधि समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी योङ लिउले भारतको भ्रमण गरेपछि यस्तो इच्छा जाहेर गरेका हुन् ।

गत वर्ष चीनमा आपूर्ति क्षेत्रमा समस्या आएपछि फक्सकनले चीनको विकल्पका रुपमा भारतमा आफ्ना गतिविधिलाई विस्तार गर्न चाहेको बताइएको छ ।

भारतमा ठूलो जनसङ्ख्या रहेको र आफ्नो भारत भ्रमणबाट सेमिकन्डक्टर र विद्युतीय सवारीका क्षेत्रमा साझेदारी गर्ने प्रयास थप सुढृढ भएको योङ लिउको भनाइ छ ।

उनले यसका लागि भारत सरकारसँग नियमित सम्पर्कमा रहने समेत जानकारी दिएका छन् । भारतमा यस कम्पनीले तामिल नाडु र आन्ध्र प्रदेशमा कारखाना स्थापना गरेको छ भने कर्णाटकमा पनि आफ्नो कारखाना विस्तार गर्ने लक्ष्य राखेको छ ।

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका जोखिममा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै त्यस मुलुकमा कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको हो ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा नाइजेरियामा पानीजन्य सङ्क्रमणको खतरा बढी देखिएको र ठूलो सङ्ख्याका नागरिक यसबाट सङ्क्रमित हुने खतरा रहेको पाइएको उल्लेख छ ।

बालकोषले शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने नाइजेरिया सरकारलाई सुझाव दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।

देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण नाइजेरियाका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : ५६ बजे

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय