जानकार भन्छन् : समयमै बुद्धि पुर्‍याए संकटउन्मुख अर्थतन्त्र जोगाउन सकिन्छ | Khabarhub Khabarhub

जानकार भन्छन् : समयमै बुद्धि पुर्‍याए संकटउन्मुख अर्थतन्त्र जोगाउन सकिन्छ


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकको आर्थिक अवस्था संकटउन्मुख रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘नेपालका आर्थिक मुद्दाहरु’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले देशका अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै आफूले अर्थमन्त्री प्रकाशशरण महतलाई खर्च कटौती गर्ने हिसाबले बजेट ल्याउन सुझाव दिएको जानकारी दिए । उनले केही समयका लागि नयाँ कर्मचारीको भर्ती रोकेर भएपनि खर्च कटौती गर्नुपर्ने धारणा राखे । उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम अव्यवहारिक भएको टिप्पणी गरे । कर तिर्ने प्रणालीलाई सहज बनाएर राजस्व संकलनलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।

उनले कृषि क्षेत्रको विकास भएरमात्र देशको विकास नहुने भन्दै औद्योगिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले श्रमिकको ज्याला बढेमात्र युवाहरु विदेश पलायन हुन कम हुने बताए । उनले सरकारले पर्यटन दशक मनाउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि यसबारे कुरा उठाउनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आसन्न भारत भ्रमणका क्रममा नयाँ बनेका विमानस्थलका लागि हवाई रुटको विषयमा पनि छलफल गर्नुपर्ने बताए । पछिल्लो समय मुलुकमा विभिन्न शक्ति केन्द्रको भूराजनीतिक स्वार्थ बढेको भन्दै सीमा विवादलाई व्यापारसँग जोड्न नहुने उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा ज्ञानेन्द्रलाल प्रधानले नेपालले बंगलादेशको सिको गर्न सक्ने बताए । देशको घरजग्गा व्यवसाय धराशायी भइसकेको उल्लेख गर्दै प्रधानले ऊर्जा क्षेत्रबाट आशाका किरणको अपेक्षा गर्न सकिने बताए । उनले नेपालको कुल आयातको ठूलो हिस्सा ऊर्जाले ओगटेको भन्दै ऊर्जा क्षेत्रमा थप लगानीको वातावरण बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा अर्थशास्त्री तथा सिलाजु रिसर्च इन्स्टिच्युटका प्रमुख कार्यकारी सुदन ओलीले राज्यले आफ्नो भूमिका खेल्न नसकेका कारण अर्थतन्त्र समस्यामा परेको धारणा राखे । उनले मुलुकमा मानव संशाधनको अभाव रहेको भन्दै मानव स्रोतको परिचालन हुन नसकेको बताए । कार्यक्रममा उनले हरेक महिना हजारौँ नेपाली विदेशमा गइरहेको अवस्थामा मुलुकभित्र बुढो उमेरका मानिसहरुका कारण सामाजिक सुरक्षामा चाप बढेको यसका लागि गम्भीर बहस आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनका अध्यक्ष पवन गोल्यानले महङ्गीको दरभन्दा निक्षेपको दर बढी हुन नहुने धारणा राखे । ब्याजदर बढी हुँदा देशका उद्योगीहरु समस्यामा परेको उनको भनाइ छ । उनले नेपालले अमेरिकाको फडेरल रिजर्भले ल्याएका नीति हरेर भन्दा पनि छिमेकको अवस्था हेरेर आफ्नो नीति बनाउनुपर्ने बताए । कार्यक्रममा उनले अहिले दोहोरो ब्याजदर आवश्यक रहेकोसमेत बताए । उनले सरकारले यसअघि ल्याएको आयातमा कडाई गर्ने नीति सही भएपनि सोही अनुसारको वित्तीय नीति भने नआएको उल्लेख गरे ।
उनले अन्य देशभन्दा भारतमा धेरै नेपालीहरु वैदेशिक रोजगारीमा रहेको बताउँदै भारतबाट आउने रेमिट्यान्सलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसबारे कुरा उठ्नुपर्ने उनको भनाइ छ ।

कृषि क्षेत्रमा बिचौलियाको बिगबिगी रहेको भन्दै यसलाई नीतिगत रुपमा नै सम्बोधन गरिनुपर्ने उनले बताए । किसानलाई सहायता दिनका लागि स्थानीय तहसँग सहकार्य गरिनुपर्ने अन्यथा अहिले दिइएको अनुदान बालुवामा पानी बराबर भएको उनको तर्क छ । उनले वन क्षेत्रबाट प्राप्त हुने प्रतिफलबारे पनि ध्यान दिइनुपर्ने बताए । ठूला परियोजना स्वदेशी लगानीबाट मात्र सम्भव नरहेको भन्दै उनले ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारले निजी क्षेत्रलाई खुला गर्नुपर्ने बताए । यसका लागि विदेशी लगानीकर्ता पनि तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा अर्थविद् विन्दु लोहनीले प्रतिफल नआउने क्षेत्रमा लगानी र भ्रष्टाचारका कारण अर्थतन्त्रमा अपेक्षित परिणाम आउन नसकेको बताए । उनले १०–१५ वर्षको भिजन लिएर नीति तथा योजना बनाउनुपर्ने धारणा राखे । उनले फिलिपिन्सको उदाहरण दिँदै भ्रष्टाचार धेरै भए अर्थतन्त्रले गति लिन नसक्ने धारणा राखे । त्यसैगरी उनले नेपालमा पर्यटन क्षेत्रको विकासमा ध्यान दिन सके अर्थतन्त्रले गति लिने बताए । उनले सूचना प्रविधि तथा शिक्षा क्षेत्रलाई ध्यान दिइनुपर्ने बताए ।

कार्यक्रममा एनआरआए नेपाल विकास कोषका प्रमुख कार्यकारी अधिकारी अनलराज भट्टराईले औसत रुपमा हेर्दा हाम्रो ब्याजदर सामान्य रहेको जनाएका छन् । यद्यपि उत्पादकत्व भने बढाउन नसकिएको उनको भनाइ छ । त्यसैगरी, उनले पूर्वाधार पनि निर्माण गर्न नसकिएको उनले बताए । नेपालको आधाभन्दा धेरै जनसङ्ख्या देशबाहिर रहेको जनाउँदै उनले यसको प्रमुख कारण अवसरको कमी रहेको बताए ।

पूर्वाधारको विस्तार गरेको खण्डमा युवाहरुले स्वदेशमा नै राजगारीको अवसर पाउने उनको भनाइ छ । देशमा शासन परिवर्तन भएयता उपत्यकाबाहिरबाट काठमाडौँ छिर्ने बाटो बनाउन पनि नसकिएको उनको धारणा छ । पूर्वाधारलाई ध्यान नदिँदा यातायात र पारवहनको समस्या पनि समाधान हुन नसकेको उनको भनाइ छ । बनेका पूर्वाधा पनि विस्तृत योजनाबिना निर्माण भएको उनको धारणा छ । उनले हाल उपभोक्तासँग पैसाको अभाव रहेको पनि बताए । उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएको खण्डमा अर्थतन्त्र सुधार हुने बताए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकारी समाजप्रकाश श्रेष्ठले व्यापारीहरुले ब्याजदर महङ्गो भयो भन्नु स्वभाविक भएपनि पहिले नगदको गति तीव्र हुने भएपनि हाल आएर नगदको गति सुस्त हुन पुगेको धारणा राखे । पहिले एउटा सय रुपैयाँ धेरै जनाको हातमा घुम्ने गरेको भएपनि अहिले कोरोना महामारी र रुस युक्रेन युद्धजस्ता कारणले उक्त एक सय रुपैयाँ दुई पटकमात्र घुम्न पुगेको उनको तर्क छ । पैसाको गति सुस्त भएका कारण महङ्गीको अनुभव हुन थालेको उनले बताए ।

कार्यक्रममा आर्थिक विश्लेषक सौरभराज पन्तले संक्षिप्त धारणा राख्दै मुलुकको अर्थतन्त्रमा भूराजनीतिक समस्या रहेको बताए ।

कार्यक्रममा इन्टरनेशनल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, नेपाल सेन्टर फर कन्टेम्प्ररी रिसर्चका रिसर्च डाइरेक्टर विष्णु उप्रेती, शोधकर्ता जगदिश विष्ट, काठमाडौँ विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी रामनारायाण श्रेष्ठ, रमेश क्रप्सका कार्यकारी निर्देशक सञ्जय अग्रवालको उपस्थिती थियो । त्यसैगरी, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, नेपाल राष्ट्र बैंकका निर्देशक माधव दंगाल, नेपाल चेम्बर कमर्सका कृष्णमान श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी र आईएसएसआरका अर्थशास्त्री सुदनकुमार ओलीले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : ४४ बजे

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा

महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा