राजनीति

अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद शर्मा

By खबरहब

July 21, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुई मन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिदै उनले प्रधानमन्त्रीले चाल्नुभएको कदमलाई सहयोग गर्नुपर्ने उनले बताए ।

त्यस्तै बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए । उनले नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानविन गर्नुपर्ने उल्लेख गरे ।

खतिवडाले सुन प्रकरणको सत्यतथ्य छानविन गरि छिटो भन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।