आज विश्व ‘अल्जाइमर्स’ दिवस | Khabarhub Khabarhub

आज विश्व ‘अल्जाइमर्स’ दिवस


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ ।

रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ । 

उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । अल्जाइमर्स  जसलाई बिर्सिने रोगका रुपमा बुझ्ने गरिन्छ । नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन् ।

नेपाल पक्षघात सङ्घका अध्यक्ष एवं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले नेपालमा ६५ वर्ष माथि उमेरका ६ दशमलव ५ प्रतिशत व्यक्तिमा विर्सिने रोग लागेको बताए । ‘जति मानिसको उमेर बढ्दै जान्छ, त्यति नै बिर्सिने रोगसमेत बढ्छ’, उनले भने । विर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुने उनको भनाइ छ ।

विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ । डा. पौडेल विश्वभर हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको बताउँछन् । विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ ।

विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ । 

विश्वको तथ्याङ्कलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी देखिएको डा. पौडेलले बताए ।

बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । डा. पौडेलले अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा एक सयभन्दा बढी जाने गरेको बताए । 

सम्झना शक्तिमा विस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने/बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन् ।

विश्वभर अल्जाइमर्स रोगको पूर्णरुपमा उपचार नभए पनि यसबाट आउने सम्बन्धित समस्याजस्तै, बैचैनी, डिप्रेसन, शङ्का गर्ने प्रवृत्तिलाई उपचार गरेर बिरामीको जीवनलाई गुणस्तरीय बनाउन सकिने डा. पौडेलको भनाइ छ ।

त्यसैगरी प्रारम्भिक चरणमा यो रोग पहिचान भएमा स्मरणशक्ति सुधार गर्ने, विभिन्न औषधि प्रयोग गरेर बिरामीको स्मरणशक्ति सुधार्न सकिने चिकित्सकको भनाइ छ ।

बिरामीको हेरचाह गर्न परिवारको व्यक्तिलाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गरी सहयोग गर्न सकिन्छ । यो रोगबाट पीडितलाई परिवार, समाज तथा मुलुकले नै चासो दिएर ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप बाँच्ने अधिकारको प्रत्याभूति गराउन आवश्यक देखिन्छ । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १० : १२ बजे

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा

आगामी बजेटबारे अर्थमन्त्री – ‘खाल्डो पुर्न खोज्दैछु, साथ चाहियो’

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा