अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 21, 2023

आज आश्विन ४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २१ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लिबिया बाढी : त्रिचालीस हजार विस्थापित

लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ ।

‘उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,’ आईओएमले सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ, ‘पानीलगायत दैनिक उपभोग्य सामग्रीको अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन्’ ।

अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको सहायताकर्मीहरूले बताएका थिएभने डेर्ना नगरका प्रमुख अब्दुलमेनम अल–गैथीधचले नगरको जनसङ्ख्याका आधारमा १८ देखि २० हजार मानिसको मृत्यु भएको बताएका थिए ।

ड्यानियल आँधीसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।

नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो देशलाई पहिले नै नागोर्नो–काराबाख क्षेत्रमा जातीय सफायाको चेतावनी दिइएको बताउँदै उक्त क्षेत्रमा सामान्य द्वन्द्वमात्र नभएर मानवताविरुद्ध अपराध भएकाले त्यसैअनुरूप व्यवहार हुनुपर्ने माग गरेका छन् ।

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा ९भिसा० सेवा बन्द गरेको छ ।

अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।

विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ ।

उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो ।

क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताएका थिए ।

क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।

भारतको विदेश मन्त्रालयले बुधबार भारतीय नागरिक, क्यानडामा रहेका विद्यार्थी र भारत फर्कने योजनामा रहेकाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । भारत विरोधी गतिविधि भएका क्षेत्र र हुनसक्ने सम्भावित स्थानमा नजान भारतीय नागरिक र भारतीय विद्यार्थीहरूलाई आग्रह गर्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

सिरियाली राष्ट्रपति चीन भ्रमणमा सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका छन् ।

राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो दुई दशकपछिको पहिलो औपचारिक चीन भ्रमण हो । राष्ट्रपति सी चिनफिङसँग शनिबार एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सिरियाली राष्ट्रपतिले भाग लिनेछन् ।

यही असोज ५ गतेदेखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भुटान, ब्रुनाई, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मा, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।

अठचालिस देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी०ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छ भने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो ।

धेरै अरब मुलुक उक्त प्रतियोगितामा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।

एलन मस्कलाई मानव मष्तिष्कमा ‘कम्प्युटर चिप’ राख्ने अनुमति स्पेसएक्स, टेस्ला र ट्विटरजस्ता कम्पनीका मालिक एलन मस्कले मानव मस्तिष्कमा ‘कम्प्युटर चिप’ प्रत्यारोपण गर्न स्वीकृत पाएका छन् । यसलाई पक्षघात भएका बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । मस्कको स्टार्टअप न्यूरोलिङ्कले यो जानकारी दिएको हो ।

मस्कको कम्पनीले भर्ना प्रक्रियामार्फत भर्ना हुने पहिलो व्यक्तिको खोजी सुरु गरेको छ । यस परीक्षणको क्रममा पक्षघातका बिरामीमा चिप सेटको परीक्षण सुरु गरिनेछ।

यसका लागि ‘सर्भिकल स्पाइनल कर्ड पक्षघात’ वा ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसिस’ एएलएस’ जस्ता रोगबाट पीडित भएका व्यक्तिहरूको खोजी भइरहेको छ। यो अनुसन्धान पूरा गर्न करिब ६ वर्ष लाग्नेछ।

अनुसन्धानले मानव मस्तिष्कमा ब्रेन कम्प्युटर इन्टरफेस (बीसीआई) प्रत्यारोपण गर्नका लागि शल्यक्रिया गर्ने रोबोटलाई समावेश गर्नेछ।

यसको मद्दतले उसले मष्तिष्कको चाल र मनसाय प्राप्त गर्नेछ। यसपछि उसले थप आदेश दिनेछ । यस पछि त्यो चिप सेटसँग मिल्दो यन्त्रहरूले ती आदेशहरू प्राप्त गर्नेछन् र थप काम गर्नेछन्।

न्यूरोलिङ्कले प्रारम्भिक चरणमा आफ्नो लक्ष्य कम्प्युटर कर्सर र किबोर्डलाई नियन्त्रण गर्ने भएको बताएको छ । यो नियन्त्रण कमाण्ड सिधै मस्तिष्कमा जडान गरिएको चिप सेटबाट प्राप्त हुनेछ।

यसपछि कर्सर चल्न थाल्छ र किबोर्डबाट टाइप हुनेछ। उदाहरणका लागि पक्षघात भएका व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि उसले सोचेर मात्र माउसको कर्सर सार्न सक्षम हुनेछ।

न्यूरोलिंकले बनाएको यन्त्रको आकार सिक्का जस्तै हुनेछ। यो चिपको नाम लिंक दिइएको छ। यो यन्त्रले (न्यूरल इम्पल्स) कम्प्युटर, मोबाइल फोन वा अन्य कुनै पनि उपकरणहरू मार्फत प्रत्यक्ष रूपमा मस्तिष्क गतिविधि नियन्त्रण गर्न सक्षम हुनेछ।

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको बिहीबार जनाएको छ ।

सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो । सत्तरी वर्षसम्म सेयर बजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत तारो सिमादाले बताएका छन् । “तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,” बिहीबार एक विज्ञप्ति निकालेर उनले भनेका छन् ।

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो ।