सत्य हरिश्चन्द्र र बेचैन बलिसरा | Khabarhub Khabarhub

सत्य हरिश्चन्द्र र बेचैन बलिसरा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 9 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

“राजा हरिश्चन्द्रको दरबारमा भइरहेको विशाल महायज्ञमा त्यस बालकलाई मारेर बली दिन कोही ननिस्केपछि बालकको पिता अजिगर्थ स्वयं आफैं खड्ग लिएर मार्न तम्तयार भयो र धनको लोभले अन्धो भएको त्यो पापिष्ट छोरातर्फअघि बढ्दै गयो। बिचरो बालक आफ्नै बाबुले आफूलाई त्यसरी मार्न आएको देखेपछि भयले त्रस्त भएर रूवाबासी गर्न थाल्यो। यो सबै देखेर दरबारको त्यस प्राङ्गणमा उपस्थित सम्पूर्ण भक्तजनहरूमा रूवाबासी चल्यो। तर अजिगर्थ हलचल भएन। निरन्तर अघि बढिरह्यो …..”

पण्डितजी सजिसजाउ मञ्चमा बसेर बहुचर्चित सत्य हरिश्चन्द्रको कथा वाचन गर्दै छन्। मञ्च निकै आकर्षक बनाइएको छ। बुढीगंगा नदीको किनारमा बनाइएको मण्डपसँगै रहेको दर्शकदीर्घामा हजारौँ भक्तजनहरू मन्त्रमुग्ध भएर कथा सुन्दैछन्। यो भीड देख्दा लाग्छ, आज अछाम जिल्लाबाट विदेश गएर बाँकी रहेका सबैजना यहीं जम्मा भएका छन्। ठूलाठूला स्पीकर बीचबीचमा राखेर कथा सबैले सुन्न सक्ने प्रबन्ध गरिएको छ।

महायज्ञको आज पाचौँ दिन। सकिन अब दुई दिन मात्रै बाँकी छ। त्यसैले होला भीड हिजो-अस्ती भन्दा बढी छ। पण्डितले फरक दिनमा फरक-फरक कथा वाचन गर्ने क्रममा आज सत्यका प्रतिक राजा हरिश्चन्द्रको कथा वाचन गर्दै छन्। जुन इमान, त्याग र समर्पणको नमूनाको रूपमा सम्पूर्ण भारतवर्षमा प्रसिद्ध छ। त्यसै क्रममा आएको प्रसङ्ग थियो यो।

“राजाका सन्तान नभएपछि उनले बरूण ऋषिको तपस्या गरे। ऋषिले खुसी भएर बरदान दिने क्रममा ‘छोरा जन्मने तर एक महायज्ञ गरेर त्यसमा त्यही छोरा बली दिनुपर्ने’ शर्त थियो। पछि छोराको बली दिन माया लागेर अनेक आग्रह गरेपछि ‘अरु कुनै भए पनि बालक बलि दिनू’भनेपछि त्यो बालक ल्याइएको थियो। ऋषिको सल्लाह बमोजिम अर्को बालकको बली दिन देशभरी खोज्दा पनि कसैले दिन नमानेपछि खोज्न जानेहरूले हार खाएर फर्कने क्रममा अजिगर्थलाई भेटेका थिए। त्यस दरिद्र ब्राह्मणले धनको लोभमा आफ्नो माइलो छोरो सुनसेफलाई बली दिन तयार भएको थियो।…..”

कथा अझै बाँकी छ। पण्डितजी भाका मिलाई मिलाई, उदाहरण दिँदै दिँदै, बीच बीचमा छन्द हाल्दै कथा भन्दैछन्। यता दर्शकदीर्घाका भक्तजनहरू क्रमशः भावना र दयाको पोखरीमा डुब्दै गएका छन्। कतिपयका आँखामा आँसु स्पष्ट देखिन्छ। रूनेहरूमा धेरैजसोपरापूर्व कालदेखि नै दया र करूणाका प्रतिक महिलाहरू छन्।

तिनैको बीचमा छिन् हाम्रो कथाकी मुख्य र प्रतिनिधि पात्र- बलिसरा। उमेर जम्मा ५० भए पनि चिन्ता र कुपोषणले सत्तरी जस्ती देखिने बलिसरा, जो दुःख, धैर्य र सहनशीलताकी प्रतिमूर्ति हुन्। जम्मा तेह्र वर्षको उमेरमा बिहे भएर श्रीमानको घर आएकी उनले बिहे लगत्तैका २–३ वर्षपछि कुनै पनि दिन चैनको श्वास फेर्न पाएकी छैनन्। समय र परिबन्धले यसरी घेरिइन उनी, उम्कने कुनै द्वार छैन। श्रीमान एचआइभी संक्रमित भएर एड्स लागेपछि बितेको बाह्र वर्ष भयो। निर्दोष र निष्कपट बलिसरा स्वयं एचआइभी संक्रमित छिन्। जन्मेका पाँच सन्तानमध्ये चारजना बितेर गए। उनीहरू एचआइभी संक्रमित थिए वा थिएनन् जाँच हुनै पाएन। बाँकी रहेको एक मात्र कान्छो छोरो स्वयं पनि जन्मँदै संक्रमित थियो। तर पनि आजसम्म बाँचेकै छ। सत्र वर्षको भयो ऊ। काठमाडौँको कुनै संस्थाले लगेर बचाएको छ। अछाममै भएको भए सायद संसार छोडिसक्थ्यो, ठाउँमा पुगेर बाँचेको छ। समाज र आफन्तबाट तिरस्कृत र अपहेलित बलिसरा अछाम नौखण्डेको सानो झुप्रोमा एक्लै काल कुर्दै छिन्।

उता राजा हरिश्चन्द्रको दरबारमा भइरहेको महायज्ञमा अजिगर्थ ब्राह्मणले धनको लोभमा आफ्नै छोरो सुनसेफलाई आफैंले काटेर बली दिन खोजेको दृश्य आउँदा यता बलिसराको आँखामा आफ्नो बाँकी रहेको एकमात्र छोरो विश्वासको तस्वीर झल्झली आउन थाल्छ। सुनसेफको रूवाई र पीडामा आफ्नै विश्वासको छाया देख्छिन्। जसमा अजिगर्थको रौद्र रूपमा आफ्नै श्रीमानको तस्वीर आउँछ। जसले बिहे गर्ने बित्तिकै उनलाई छोडेर कामको लागि भारत गएको थियो र उतैबाट बम्बैया रोग अर्थात् एचआइभी बोकेर आएको थियो।

फलस्वरूप बलिसरा पनि संक्रमित बन्नु परेको थियो। छोरो पनि जन्मँदै संक्रमित भएर जन्मनु परेको थियो। बलिसराको अजिगर्थ त बाह्र वर्ष अघि नै संसार छोडेर गइसक्यो। अब पालो बलिसराको। थाहा छैन, कुन दिन झ्याप्पै निभ्नेछ यो जीवनज्योति र विश्वास बन्नेछ नितान्त टुहुरो। छोरालाई काठमाडौँ लैजाने संस्थाले नै पठाएको औषधिले सास अडेको छ उनको र अभागी विश्वासले भन्न पाएको छ- आमा। थाहा छैन, कुन दिन उसले गुमाउनेछ त्यो रूमानी अवसर।

मञ्चमा कथा जोडतोडले अघि बढ्दै छ। पण्डित आफ्नो वाचनकलाको भरपूर प्रयोग मार्फत कथालाई थप प्रभावकारी बनाउन तल्लिन छन्। प्रारम्भमा राजा हरिश्चन्द्रको सत्य र सांस्कारिक शासन प्रणालीको प्रशंसाबाट सुरू भएको वाचन क्रिया निरन्तर अघि बढ्ने क्रममा सन्तान नभएको, बरूणको तपस्या गरेको, सन्तान भएको, उसैलाई बली दिन दया लागेर नदिएको, अरू खोज्ने क्रममा सुनसेकलाई पाएको, उसलाई पनि बली दिने मान्छे नपाएपछि स्वयं उसकै बाबु अजिगर्थ अघि सरेको, बालक र उपस्थित भक्तजनको पुकारपछि बली दिनु नपरेको, हरिश्चन्द्रको यश र कीर्ति संसारमा फैलेको कारण विश्वामित्र ऋषिले परीक्षा लिन सम्पूर्ण राज्य र सम्पत्ति मागेको, उनले दिएर काशी गएको, विश्वामित्रले अझै माग्दै गरेको प्रसङ्ग आइसकेका छन्।

मौन बलिसरा छोरा सुनसेफको ठाउँमा आफ्नो छोरालाई राखेर भावुक भन्दैछिन्। कहिलेधनको लोभमा छोरा मार्न तयार हुने अजिगर्धको ठाउँमा श्रीमानलाई त कहिले राजाकी पीडित पत्नी साहिवाको ठाउँमा आफूलाई राख्दै पीडाको सागरमा क्रमशः डुब्दै छिन्। कथा वाचकहरूको खुबी नै त्यही हो कि उनीहरू कथा अरूको भन्छन् तर बनाइदिन्छन् आफ्नै जस्तो। त्यसमाथि पनि उस्तै उस्तै दुःख भोग्ने मान्छे त हरेक पात्र र घटनासँग आफैंलाई राख्छन् र गहिराइमा डुब्छन्।

“त्यसरी पूरै राज्य दिएर, भएको सम्पूर्ण धन दौलत दिएर पनि विश्वामित्रले थप दान मागेपछि राजा रानी चिन्तामा परे। जो छोरो रोहितलाई लिएर काशी पुगेर पाटीमा बसेका थिए। पतिको त्यो हाल देखेर विह्वल भएकी रानी साहिवाले एउटा प्रस्ताव राखिन्। जस अनुसार स्वयम उनलाई नै बेचेर दान गर्नु भन्ने आग्रह थियो।

सुरुमा राजाले मानेनन् तर रानीको धेरै आग्रह पछि नारी हठ टार्न नसकेर उनले रानीलाई एक जना निर्दयी व्यक्ति समक्ष बेचिदिए। वास्तबमा विश्वामित्र ऋषि नै त्यो व्यक्ति बनेर आएका थिए। छोराले सँगै जान जिद्दीसहित रोइकराई गरेपछि रानीकै प्रस्तावमा छोराको पनि थोरै मूल्य हरिश्चन्द्रलाई दिएर ऊ पनि रानीसँगै बेचियो। अनि दुवै जनालाई त्यो व्यक्तिले लछारपछार पार्दै लग्यो। यो पीडा सहन नसकेर मूर्छा परे। पछि ब्यूँझेपछि विह्वल भए। यता विश्वामित्र यति कठोर निस्किए कि उनी अझैथप दान माग्न थाले। पछि बाध्य भएर राजाआफू पनि चण्डाल समक्ष बेचिए। उनको काम रातदिन मसानमा कपडा बटुल्ने र ल्याउने थियो। एकातिर श्रीमती र छोरासँगको विछोड, अर्कातिर मध्यरातमा मुर्दाको कपडा खोलेर बेच्ने वाध्यता। सँगै चण्डालको दुर्व्यवहार निरन्तर थियो। केही समय अघिसम्मको उनको त्यो सुख, खुसी, यश, कीर्ति, वैभव सबै खरानी भयो। आखिर सांसारिक अर्थात् भौतिक सुख क्षणिक न रहेछ।”

पण्डितको वाचनसँगै बलिसराका आँखाहरू निरन्तर बगिरहेछन् साउनको भेल बनेर। धन सम्पत्ति त उनको श्रीमानले पनि बेचेको थियो। तर हरिश्चन्द्रको जस्तो इमानमा रहेर दान दिन हैन। पहिला केही मस्ती गर्न र पछि केही उपचार गर्न। सबै सकिएपछि गाउँलेले दया गरेर दिएको थोरै सार्वजनिक जग्गामा घामपानी छेक्ने झाप्रो हालेर बसेकी छिन् बलिसरा। अब उनी आफूलाई पूर्ण रूपमा रानी साहिवाको ठाउँमा राख्न थाल्छिन्।

बिहे हुनुभन्दा अघि उनी पनि घरकी राजकुमारी थिइन्। बुबाको प्रशस्तै सम्पत्ति थियो। विवाहपछि श्रीमानको घरमा सम्पत्ति भएर पनि सकिँदै गएको थियो। उनका श्रीमानले हरिश्चन्द्रले जस्तो कुनै ऋषिलाई दान दिएर होइन बम्बैका कोठी र भट्टीमा गएर सिध्याएका थिए सम्पत्ति र ज्यान दुवैथोक। जो हरेक वर्ष दशैंमा घर आउँथे। मंसीरसम्म बसेर धान थन्क्याएर फर्कन्थे। उनले भने अनुसार उनी बम्बैको धनाढ्य परिवारको घरमा काम गर्थे। तर सबै झुठ रै’छ।

उनी रेलवे स्टेशनमा घुम्ती पसल चलाउँथे। पछिपछि देख्नेहरूले बलिसरालाई बताएका थिए। बलिसराले सोध्दा उनले खाली समयमा ‘पार्ट टाइम’गरेको बताएका थिए। यो सुनेर बलिसरा झन खुसी भएकी थिइन्– मेहनती श्रीमान पाएको भ्रममा। तर उता श्रीमानको लत बिग्रेको पत्तै भएन। दिनभरी थोरै पैसा जम्मा गर्यो अनि राति कोठीहरूमा बुझायो। कतिखेर एचआइभी भयो पत्तै भएन। घर आउँदा श्रीमान श्रीमती बीच शारीरिक सम्पर्क त हुने नै भयो। त्यसै क्रममा बलिसरा पनि पीडत बनिन,थाहै नपाई।

कथाका राजा हरिश्चन्द्र र साहिवाको परीक्षा त विश्वामित्र ऋषिले लिएका थिए। तर थाहा छैन बलिसराको परीक्षा कसले लिइरहेको छ। साहिवाको त छोरो रोहितसँगै छ, दुःख बिर्सने ठाउँ छ। तर उनको न त छोरा सँगै छ, न श्रीमान ज्यूँदै। घर आएको बेला उनको पनि श्रीमानले माया त गर्थे तर त्यो न विश्वासिलो माया रै’छ, न निष्ठापूर्ण। घरपरिवार बिर्सेर कोठी र भट्टीमा रमाउनु एउटा गल्ती त भैगो, एचआइभी संक्रमित हुँदा समेत जाँच नगरी श्रीमतीलाई सारेर सन्तान नै संक्रमित जन्माउनु कुन हदसम्मको धोका होन बलिसरालाई थाहा छ, न छोरालाई। त्यो मार्मिक कथा, त्यो रङ्गिन माहौल अनि त्यो हजारौँको भीडका बीच पनि बलिसरा एक कुनाबाट विस्तारै तन्द्रामा पुग्छिन्।

बलिसरा हरिश्चन्द्रले कपडा बटुल्ने मसानघाटमा एक्लै हिँडिरहेकी छिन् मध्यरातमा। एउटा लाश चितामा जलिरहेछ। जलाउने २/४ जना आफन्त बाहेक कोही छैनन्। नजिकै नदी आफ्नै सुरमा बगिरहेछ। मूर्दाशान्ति छ। अलिक पर लाश जलाउँदाको उज्यालोमा देखिन्छ– पानी घुडाघुडासम्म चोपलिएर राजा हरिश्चन्द्र मूर्दाका कपडा सम्हाल्दै छन्। तिनलाई मिलाएर पट्याएर राख्नुछ। अलिकति तलमाथि पर्यो भने चण्डालले कोर्रा लगाउँछ। त्यति निर्दयी र पापिष्ट मान्छे आजसम्म देख्न त के सुनेको पनि छैन। बलिसरा दयालुभावले एकोहोरो हरिश्चन्द्रलाई हेरिरहन्छिन्। त्यसै बखत पछाडिबाट कोही आउँछ र उनको काँधमा विस्तारै हात राखेर बोलाउँछ- ‘बलिसरा….’

उनी झस्किन्नन् किनकि त्यो हात सुस्तरी राखिएको छ। त्यस हात र आवाज दुवैमा मीठो प्रेम छ। बलिसरा सुस्तरी पछाडि फर्किन्छिन्। देख्छिन् मलिन अनुहार लगाएर उनको श्रीमान उभिएका छन्। केहीबेर दुवै निःशब्द बन्छन्। श्रीमानद्वारा वर्षौपछि अभिव्यक्त आफ्नो नाम, उनको मलिन अनुहार देखेर उनलाई एक्कासी दया लागेर आउँछ। सुस्तरी गएर अँगालोमा बेरछिन्। श्रीमानले पनि अँगालो कस्दै भन्छन्- “तिमीलाई सधैँ दुःख मात्रै दिएँ, मलाई माफ गर प्रिया।”

बलिसरा प्रेम, करूणा र आनन्दको त्रिवेणी पानी पानी बन्छिन्। अनि सुस्तरी भन्छिन्- “त्यो पुराना कुरा बिर्सनुस् प्यारा। मैले पनि बिर्सिसकेँ।”
अब त्यहाँ अलौकिक प्रेमालाप शुरू हुन्छ।
“दुब्लाउनु भएछ।”
“तिमी पनि त दुब्लाइछौ।”
“माया त लाग्दो रै छ त। किन छोडेर जानुभएको त्यति छिट्टै ?”
“त्यो मेरो रहर थिएन प्रिय। वाध्यता थियो। कहाँ, कसरी बसेकी छ्यौ ?”
“कहाँ हुनु ? गाउँलेले दया गरेर दिएको सानो जमिनमा स्याउलाको छाप्रो हालेर बसेकी छु ।”
“मैले ठूलो पाप गरें बलिसरा। मलाई माफ गर।”
“भैगो अब ती कुरा नगर्नुस्। तपाईं कहाँ बस्नुहुन्छ ? कस्तो छ त्यो ठाउँ ?”
“मरेपछि बस्ने ठाउँ कस्तो हुन्छ ? त्यसको न ठेगाना छ, न रंग छ, न आकार। यस्तै यस्तै ठाउँतिर पश्चाताप गर्दै डुलिरहन्छु। स्वर्ग त छ भन्छन् तर त्यहाँ जाने मलाई अनुमति छैन। किनकि चित्रगुप्तले मलाई पापी र अधर्मी भनेर फैसला गरिदिएका छन्।”
““चित्रगुप्तलाई मैले आग्रह गरेर तपाईंलाई स्वर्ग पठाउन सक्छु की !”

श्रीमान फिस्स हाँस्छन्। बलिसराको महानता र सहनशीलता देखेर सायद नतमस्तक हुन्छन्। केहीबेर बोल्नै सक्दैनन्। अनि धेरै बेरपछि फुत्त भन्छन्- “त्यहाँ पावर लाग्दैन प्यारी ! त्यो नेपाल हैन नी।” मध्यरातमा कान्तिपुरको मसानघाटमा भइरहेको त्यो अमूर्त प्रेमालापले त्यतिखेर भयङ्कर रूप लिन्छ जतिखेर उनीहरूका चारैजना मृतक छोराहरु एकैसाथ आउँछन् र उनका गोडामा ढोग्छन्। बलिसरा खुसी र आवेगले पागलसरी बन्छिन्। चारैजनालाई एकैसाथ अँगालोमा बेरेर निकैबेर रोइरहन्छिन्।

त्यो चण्डालको राज्यमा प्रेमको मधुर ध्वनि गुञ्जन्छ। बलिसरा आँसु पुछ्दै भावनामा बग्न थाल्छिन्– “भो मलाई पृथ्वीको त्यो जीवन चाहिएन। म यहीँ आउँछु। उता बाँकी रहेको छोरो विश्वासलाई पनि यतै ल्याउँछु र म पनि आउँछु। म अब सक्दिन छोड्न यो खुसी। हे भगवान ! पृथ्वीबाट मारिदेऊ मलाई र ल्याइदेऊ यहीँ। त्यो एक्लो घृणित जीवनभन्दा यही मसानघाटमा म मेरा यी प्रियहरूसँग खुसी हुन्छु।”

धेरै बेरसम्म छजनै मौन रहन्छन्। परबाट अघिदेखि यो सबै हेरिरहेका हरिश्चन्द्र संसारभरिका दुःख र पीडा भुलेर मुसुक्क मुस्कुराउँछन्। चण्डालको त्यो डरलाग्दो अघोर मसानघाट एक्कासी झलमल्ल बन्छ।

बलिसरा तन्द्राबाट झल्यास्स ब्युँझिन्छिन्। उता कथा वाचन चलिरहेकै रहेछ। बाह्र ठाउँ जतिमा टालेको उनको चोली आँसुले निध्रुक्क भिजेछ। भर्खरको कल्पनाले बलिसरा छक्क पर्छिन्। धेरै वर्षपछि श्रीमान र दिवंगत छोराहरुसँग भेट भएको त्यो अनौठो कल्पनाले उनलाई फेरि रूवाउँछ। भाग्यमा जन्मँदै आँसु लिएर आएकी मान्छे न हुन्, खुसीमा पनि आँसु, दुःखमा पनि आँसु। सपनामा पनि आँसु, विपनामा पनि आँसु।

पण्डितको सङ्केत अनुसार कथाको अब क्लाइमेक्स सुरु हुन्छ। दृश्य आउँछ साहिवा तर्फको। उनले पाएको दुःखको कुनै सीमा नै छैन। पण्डित आफ्नो उही शब्दजाल र हाउभाउमा कथा अगाडि बढाउँछन्।

“रानी साहिवालाई चण्डालले निकै दुःख दिने गरेको थियो। बिहान झिसमिसे भन्दा अगाडि नै उठ्नु पथ्र्यो। त्यसपछि मध्यरातसम्म कुनै समय नबसी घर र बाहिरका सम्पूर्ण कार्य गर्नु पर्थ्यो। खाने, बस्ने व्यवस्था ठीक पशुको जस्तै थियो। सानो गल्ती भयो या तलमाथि भयो भने बेस्सरी पिट्ने गर्थ्यो। एक दिनको कुरा हो, उनले खबर सुनिन् कि छोरा रोहित साथीहरूसँग खेल्न गएको बेलामा जङ्गलमा तक्षक नाम गरेको नागले टोकेर उनको मृत्यु भयो। खबर सुनेपछि रानी छाती पिटेर बिलौना गर्न थालिन् र छोरासँग जाने अनुमति मागिन्। तर निर्दयी चण्डालले घरका सबै काम सकेर जाने अनुमति दियो। अनी सबै काम सकेर मध्यरातमा उनी छोरा सामू पुगिन्। मृत छोरा देखेर छाती पिटेर रून थालिन्। रुवाइ सुनेर विस्तारै गाउँलेहरू जम्मा भए अनी राति यसरी जङ्गलमा रूने पक्कै डंकिनी हो, यसलाई मार्नुपर्छ भनेर मसानघाटमा लिएर गए। अनि उनलाई मार्न चण्डाल दानवले उनैलाई अह्रायो जो उसको घाटमा मूर्दाको कपडा बटुल्ने काम गर्थ्यो। अर्थात राजा हरिश्चन्द्र। राति हुनाले राजा र रानी दुवैले एकअर्कालाई चिनेका थिएनन्। राजाले हत्या गर्न नसक्ने बताए तर चण्डालले मानेन र नगरे उनलाई पनि मारिदिने धम्की दियो। त्यहाँ न कसैले राजाको पुकार सुने, न रानीको।

हरिश्चन्द्रले घोषणा गरेकी, त्यो हत्या गर्नै पर्छ भने त्यसपछि आफूले पनि आत्महत्या गर्ने। मार्न भनी खड्ग उचालेर हान्न खोज्दा श्रीमतीलाई चिनेर उनी बेहोस भए। ठीक त्यहीबेला चण्डालको रूप धारण गरेका विश्वामित्र लगायत सम्पूर्ण देवीदेवतार ऋषि जम्मा भए। छोरा रोहितलाई पनि अमृत छर्केर ब्यूँझाए। अनि यी सम्पूर्ण यातनाका लागि क्षमा माग्दै यो सबै परीक्षा लिएको बताए। त्यससँगै तुरून्तै स्वर्गबाट इन्द्र स्वयं सुनको वायुयान लिएर आइपुगे र तीनैजना साथै राजाको आग्रहमा उनको राज्यका सम्पूर्ण प्रजालाई स्वर्ग लिएर गए। त्यसैले मान्छेले दुःख पर्दैमा आत्तिनु हुँदैन। यो सबै भगवानले लिएको परीक्षा हो। एकदिन उहाँले अवश्य हेर्नुहुन्छ।”

बलिसरा पण्डितका हरेक वाक्यमा डुब्दै जान्छिन्। घरि रूँदै घरि मन बुझाउँदै जाने क्रममा अन्तिम सन्देशले उनलाई अलिकति पनि छुन सक्दैन। उनलाई लाग्छ- हरेक दुःख भगवानको परीक्षा हो, तर कहिलेसम्ममा सकिन्छ यो परीक्षा ? खै त उनका श्रीमान र चार–चारजना सन्तान ? को आउँछ उनलाई लिन सुनको विमान लिएर ? कहाँ लैजान्छन् उनलाई चढाएर ? स्वर्ग, देवता, नर्क, राक्षस जस्ता भ्रामक शब्दहरूले कसरी मान्छेलाई मूर्ख बनाइन्छ भन्ने कुरा विस्तारै बुझ्दैछिन् उनी। यदि त्यस्तो थियो भने उनीमाथि परीक्षा लिनुपर्ने के थियो र कारण ? न उनले कसैलाई दुःख दिएकी थिइन्, न कुनै पाप गरेकी छिन्।

जसरी रानी साहिवाले छोरो मरेको खबर आउँदा पनि कामधन्दा नसकी जान पाइनन् त्यसैगरी उनले पनि त चारजना सन्तान मर्दा पनि कामधन्दा नगरी सुख पाइनन्। जङ्गलमा रातको समयमा मृत छोरो च्यापेर जसरी साहिवा रोइन् त्यसैगरी आफ्ना सन्तान र श्रीमान मर्दा उनी पनि त एक्लै रोइन्। यी सबै घटना सुनेर आफूसाहिवा बन्दै गरेको कल्पना गर्ने क्रममा बलिसराको स्मृतिमा एउटा डरलाग्दो रात एक्कासी आउँछ, जुन उनको जीवनकै सर्वाधिक भयङ्कर समय हो।

साँझको करिब ६ बजेतिर उनको श्रीमानको प्राणान्त्य भयो। मंसिर महिना, ६ बजे, करिब रात आर्लिसकेको थियो। एड्स भएर विक्षिप्त अवस्थामा पुगेका श्रीमानको जति उपचार गर्दा पनि निको नहुने पक्का भएपछि घरै ल्याइएको थियो। दिन गन्दै मृत्यु कुर्ने सिवाय कुनै उपाय थिएन। त्यतिबेलासम्म बलिसरा र छोरो विश्वास पनि संक्रमित भइसकेको कुरा थाहा भइसकेको थियो। परिवारका तीनैजना संक्रमित भएको र श्रीमान त एड्स भएर दुर्गतीका साथ मर्न लागेको थाहा पाएपछि कुर्ने मान्छे पनि को नै हुन्थ्यो र ! अन्तिम अवस्था भएको थाहा पाएपछि उनले डाकेका नजिकका करै लाग्ने आफन्तहरू २/४ जना थिए।

देहान्तपछि मलामी जाने कुरामा निकै समस्या भयो। एड्स सर्ने डरले कोही अगाडि सरेनन्। बलिसरा आफैंले मन दह्रो बनाउन बाध्य भइन्। परिस्थितिले मान्छेलाई कसरी वाध्यतामा धकेल्छ। शवलाई बाँसमा आफैंले बाँधिन्। पुरानो तन्ना निकालेर बेरिन्। त्यसपछि नैतिक दबाबको कारण बल्ल छिमेकीहरू बोक्न तयार भए। घाट तल बुढिगंगामा छ। मनले मानेन र कठोर बनेकी बलिसरा मलामीसँगै पछि लागिन्। बालक विश्वास रोएर घरमा एक्लै बस्यो। दागबत्ती उनैले दिइन्।

आगो बल्न थालेपछि छिमेकीहरू सबै फर्के। बाँकी रहिन एक्ली बलिसरा। जाडो मौसम, अँध्यारो रात, बुढिगंगाको किनारमा मसानघाट, शव जलाउँदै गरेकी एक्ली महिला। संसारकै सर्वाधिक डरलाग्दो क्षण सामना गर्दाको स्मरणले बलिसरा फेरि तर्सिन थाल्छिन्। अब उनी रानी साहिवा नभएर राजा हरिश्चन्द्रको ठाउँमा आफूलाई राख्छिन्। हरिश्चन्द्रले मसानघाटमा मुर्दाका कपडा बटुल्दा एक्लै त थिएनन् तर बलिसरा त एक्लै थिइन्। त्यहाँ हरिश्चन्द्रकी श्रीमतीको शव जलाइदै त थिएन, तर यहाँ त उनको आफ्नै श्रीमानको शव जल्दै थियो। उता एक न एक दिन जीवनसाथी भेटिने आशा त थियो, तर यहाँ त त्यो आशाको द्वार पूर्णरूपमा बन्द थियो।

कल्पनै कल्पनाको बीच बलिसरा थप दुःखी यस अर्थमा हुन्छिन्- पछि राजा, रानी र उनीहरूको छोरालाई लिन स्वर्गबाट सुनको वायुयान लिएर स्वयं इन्द्र भगवान आए, तर उनलाई त त्यसपछि न कोही लिन आयो, न सहानुभूति दिन। मन बुझाउने ठाउँ कतै भेटिनन्। जीवन कथाजस्तो पनि रहेनछ र कथा जीवनजस्तो पनि रहेनछ।

पण्डितले कथा सकेर विश्राम लिँदासम्म धेरैजसो भक्तजनको रूवाइले पनि विश्राम लिँदैछ। कोही कोही उठ्न थालेका छन्। तर निरीह र बेचैन बलिसराले न रून छोडेकी छन् न उठ्ने जाँगर चलाएकी छन्। न उनलाई जाने हतार थियो, न बस्ने रहर। बाल्यकाल, विवाह, सन्तानको जन्म, घरका दुःख, श्रीमानको मृत्यु, त्यसपछिका दिनहरू सबै उनको मस्तिष्कमा चलचित्रको रिलझैंघुम्न थाल्छन्। समाज र आफन्तले गरेको तिरस्कार जीवनको सबैभन्दा ठूलो अभिषाप लाग्छ।

तीन चार दिनपछि रेडियो रामारोशनले बिहान सबेरै समाचार भन्छ– “साफेबाट करिब चार/पाँच किलोमिटर तल बुढिगंगाको किनारमा एक अधवैंशे महिलाको बेवारिसे शव फेला परेको छ, सनाखत हुन सकेको छैन।” र त्यहाँ, कुनै सुनको विमान छैन। न भगवान इन्द्र छन, न ऋषिहरू, न कसैका कोही आफन्त। त्यो केवल लडिरहेको छ निर्जिव भएर।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : २७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड