देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

October 21, 2023

 दिनभर आजमा टुँडिखेलमा फूलपाती बढाइँ, हामीलाई पछाडि फर्कने र रुमलिने छुट छैन :  प्रधानमन्त्री, अर्थतन्त्र सबल बनाउनुपर्नेमा एमाले महासचिव पोखरेलको जोड, सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता, विराटनगरमा फूलपाती भित्र्याइयो, पचली भैरवको लिङ्गो शनिबार ढालियो, ७ वर्षीय बालिका गुफामा मृत फेला, त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङ पराजितलगायतका समाचारले प्रमुख स्थान पाए ।

टुँडिखेलमा फूलपाती बढाइँ राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको सातौँ दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

हामीलाई पछाडि फर्कने र रुमलिने छुट छैन :  प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा पछाडि फर्कने र अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन्।

प्रधानमन्त्री दाहालले आज बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।

अर्थतन्त्र सबल बनाउनुपर्नेमा एमाले महासचिव पोखरेलको जोड नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए।

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे ।

विराटनगरमा फूलपाती भित्र्याइयो मोरङका विभिन्न ठाँउ लगायत विराटनगरमा बडा दशैँको सतौँ दिन शनिबार परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजा सहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

पचली भैरवको लिङ्गो शनिबार ढालियो पचली भैरवको लिङ्गो शनिबार ढालिएको छ ।

विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा अन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिङ्गो ठड्याइएको थियो भने जात्रा अन्तर्गत शनिबार उक्त लिङ्गो ढालिएको हो ।

जनकपुरको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइयो जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ । दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ ।

कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’ गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।

७ वर्षीय बालिका गुफामा मृत फेला भोजपुरमा शुक्रबारदेखि हराएकी ७ वर्षीय बालिका शनिबार गुफामा मृत फेला परेकी छन् । आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव शनिबार गुफामा फेला परेको हो।

त्रिकोणात्मक श्रृंखला : नेपालद्वारा हङकङ पराजित त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।