ब्रेकिङ स्टोरी

१७ वर्षसम्म किन फुटिरहेको छ माओवादी ?

By खबरहब

November 21, 2023

काठमाडौं- शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो । १० वर्षे जनयुद्ध लडेको माओवादी र सरकारबीच भएको शान्ति सम्झौताले देशमा ब्याप्त हिंसाको अन्त्यसँगै २ सय ४० वर्षे राजतन्त्रको पनि अन्त्य गर्यो । यो उपलब्धिको एक हिस्सा थियो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ।

माओवादीले जनयुद्धको बलमा नेपालमा अहिलेका उपलब्धीहरु प्राप्त भएको दाबी गर्दै आएको छ । तर, समयक्रमसँगै माओवादीमा विभाजन आयो र शान्ति सम्झौताका बाँकी काम पनि पूरा हुन सकेनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेकजसो कार्यक्रममा पूर्व-माओवादीको एकीकरणलाई जोडतोडका साथ उठाउँदै आएका छन् । लामो समयदेखि एकीकरणको मुद्दा उठाए पनि उनले हालसम्म छिन्नभिन्न बनेका माओवादी घटकलाई एक ठाउँमा ल्याउन सकेका छैनन् ।

एकीकरण बार्गेनिङको तुरुप मात्रै हो : केसी

प्रचण्डको ‘एकीकरण’ शब्द बार्गेनिङको हतियार रहेको बताउँछन्, विश्लेषक डा. सुरेन्द्र केसी । माओवादीको जनयुद्ध नै ठूलो पार्टी हुने र सत्ता हत्याउने उद्देश्यले गरिएको र त्यसमा माओवादी सफल भएको केसीको तर्क छ ।

कम्युनिष्टका नामबाट गरिएको युद्धबाट माओवादीका शीर्ष नेताले चरम फाइदा लिएको र त्यसमा लाग्ने इमान्दार कार्यकर्ताहरु विचल्लीमा परेको केसी बताउँछन् ।

माओवादीले गरेको सम्झौता सत्ता र शक्तिका लागि मात्र भएको भन्दै डा.केसीले प्रचण्डको वरिपरि लाग्नेहरु मात्रै बन्ने र अरु सडकमा पुग्ने स्थिति हुँदा माओवादीमा टुटफुट आएको तर्क गरे ।

माओवादी घटकको टुटफुटलाई विश्लेषक केसी ‘स्वार्थको ‘एकता’को संज्ञा दिन्छन् । माओवादीको सिद्धान्त नै ठूलो शक्तिको भ्रम सृजना गरेर सत्तामा पुग्ने रहेको भन्दै उनले स्वार्थ मिले एक हुने र नमिल्दा फूटने गरेको तर्क गर्छन् ।

फूट र एकीकरणको बहस

केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले भनेका थिए ‘एकता र विभाजनको श्रृंखला पार गरेर हामी यहाँ आइपुगेका हौँ,’ ‘अबचाहिँ करिब-करिब सबै पूर्व–माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ । विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ ।’

प्रचण्डको यो भनाइ पहिलो होइन । पूर्व-माओवादी एकताबारे बेलाबेलामा उनले यस्ता अभिव्यक्ति दिँदै आएका छन् । झण्डै दर्जन हाराहारी समूहमा विभाजित माओवादी एकीकरणको आवश्यकता नेताहरूले पटक-पटक महसुस गरे पनि प्रगति भने शून्य छ ।

२०६३ मंसिर ५ गतेको शान्ति सम्झौता पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी अहिले चिरा चिरामा विभाजित छ । मूलधारका रूपमा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र रहे पनि तत्कालीन प्रभावशाली नेताहरू विभिन्न समूहमा विभाजित छन् ।

प्रचण्डबाहेक डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, गोपाल किराती, आहुतीलगायत नेताहरू छुट्टाछुट्टै समूहमा विभाजित छन् । विभाजनको श्रृंखला अहिले पनि जारी छ । विप्लव नेतृत्वको नेकपा पनि विभाजित भइसकेको छ । ११ जना केन्द्रीय सदस्य लिएर विप्लवबाट विद्रोह गरेका धर्मेन्द्र बास्तोलाले बेग्लै समूह खोलेका छन् ।

माओवादी केन्द्र र बावुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीबीच एकताको तयारी भइरहेको नेताहरु बताउँछन् । तर, दोस्रो तहका नेताहरु एकताका लागि तयार भए पनि चुनावपछि चिसिएको प्रचण्ड र बाबुरामको सम्बन्ध अझै सुध्रिएको छैन ।

तर, नेसपालाई विभाजन गरेरै भए पनि एकता गर्ने प्रचण्डको तयारी छ । नेसपाका दोस्रो अध्यक्ष महेन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठहरु एकताको पक्षमा देखिए पनि भट्टराई प्रचण्डसँग मिल्न तयार देखिँदैनन् ।

बाबुरामसहितको एकताले माओवादीमा नारायाणकाजी श्रेष्ठ पक्ष चिढिने भएका कारण प्रचण्ड तत्काल बाबुराम बाहेकका नेताहरुसँग एकता गर्ने योजनामा रहेको नेसपा स्रोत बताउँछ ।

माओवादी केन्द्रले बिप्लव नेतृत्वको पार्टीसँग पनि एकीकरणको तयारी गरे पनि सो पार्टीमा पनि प्रचण्डसँगको एकतालाई लिएर बैचारिक विमति रहेका कारण तत्काल एकीकरण नहुने एक नेताले बताए ।

प्रचण्डको स्वार्थका लागि पार्टीलाई एकीकरण गरेर सिध्याउन नहुने मत विप्लप नेतृत्वको माओवादीमा छ । एकीकरणका लागि माओवादीभित्र भइरहेको छलफलले तत्काल कुनै पनि घटकलाई एक ठाउँमा ल्याउन नसक्ने सो पार्टीका नेताहरुको भनाइले संकेत गर्छ ।

माओवादी केन्द्रका महासचिव तथा एकीकरणका लागि वार्ता टोली सदस्य देब गुरुङलाई हामीले एकताको कुरा कहाँ पुग्यो भनेर सोध्यौं । उनले भने, ‘छलफल भइरहेको छ ।’ एकता कहिले हुन्छ त भन्ने प्रश्नमा गुरुङले भने, ‘सामाजिक विज्ञानमा डेडलाइन भन्ने हुँदैन।’

माओवादीको औचित्यमाथि नै प्रश्न

१७ वर्षको अवधिमा माओवादीभित्र देखा परेको फुटले उसको औचित्यमाथि स्वयं माओवादीभित्रैबाट प्रश्न उठ्न थालेको छ । माओवादीले समातेको शान्ति सम्झौताको बाटो नै गलत रहेको बताउँछिन् तत्कालीन माओवादीबाट फूट को नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) की केन्द्रीय सचिवालय सदस्य देवकला अधिकारी ।

माओवादीले कल्पना गरेको क्रान्ति र त्यसका लागि बलिदान दिएकालाई ‘प्रचण्ड’ले धोका दिएर १२ बुँदे सम्झौता गरेको उनको आरोप छ । तत्कालीन माओवादीको शीर्ष नेतृत्वले अवलम्बन गरेको बाटोमा पार्टीभित्र चरम असन्तुष्टि हुँदा पनि आम नेता तथा कार्यकर्तामा आश्वासन बाँडेर थामथुम पारिएको र त्यो पूरा नहुने स्थिति पछि पार्टी विभाजनको मुखमा पुगेको मोहन वैद्य निकट अधिकारीको भनाइ छ ।

प्रचण्डले वर्गघात गरेको हुनाले उनले नेतृत्व गरेको माओवादीसँगको एकता भविष्यमा पनि सम्भव नभएको उनले खबरहबलाई बताइन् ।