माओवादीको बैठकमा गंगा दाहालको चर्चा | Khabarhub Khabarhub

माओवादीको बैठकमा गंगा दाहालको चर्चा



काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार सकिएको छ । बैठक मंगलबार पनि बसेको थियो । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नभ्याउने भएपछि बिहीबार बिहानका लागि बैठक सरिएको थियो । बैठकको महत्वपूर्ण समय प्रचण्डकी छोरी गंगा दाहालका लागि खर्च भयो ।

माओवादीमा हाल २१ जना पदाधिकारी छन् । उपमहासचिव मात्रिका यादव बिरामी भएर बैठकमा उपस्थित थिएनन् । सचिव हितराज पाण्डे चीन भ्रमणमा रहेकाले उनी पनि बैठक थिएनन् । बाँकी १९ जना पदाधिकारीहरु बैठकमा सहभागी थिए ।

सत्तारुढ दलको पदाधिकारी बैठकमा राष्ट्रका महत्वपूर्ण समस्याहरुले प्रवेश पाउनुपर्ने हो । तर, प्रधानमन्त्री प्रचण्डको परिवारिक विषय बैठकको एजेण्डा बन्न पुग्यो ।

‘बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको विषयमा नेताहरुले केही प्रश्न उठाए । अध्यक्ष प्रचण्डले जवाफ दिने क्रममा आफ्नी छोरीमाथिको आलोचना व्यवस्थाकै विरोध भएको बताए ।

बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामाका सन्दर्भमा पनि छलफल भएको एक पदाधिकारीले खबरहबलाई बताए ।

यसबाहेक बैठकमा राष्ट्रियसभा निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको थियो ।

गंगा दाहालको प्रसंग

प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा दाहाल पछिल्लो समय विवादमा तानिएकी छिन् । कारण, उनी प्रचण्डले गर्ने हरेक गतिविधिमा सँगै हुन्छिन् । चाहे त्यो गोप्य मिटिङ नै किन नहोस् ।

पदाधिकारी बैठकमा प्रचण्डले छोरीको बचाऊमा बोले । बैठकमा सहभागी माओवादीका एक नेताले खबरहबसँग भने, ‘हामीले गंगाजीका बारेमा कुरा उठाउनै परेन, अध्यक्षले आफैं भन्न थाल्नुभयो कि संसदको राज्य व्यवस्था समितिमा गंगा दाहालको कुरा आएको थियो, तपाईँहरूले थाहा पाइसक्नुभयो, मैले त्यहाँ स्पष्ट पारेको छु । ममाथि चौतर्फी हमला भइरहेको छ । यो कुरा यहाँहरूले बुझ्नुभएको छ ।’

बैठकमा प्रचण्डले थपे, ‘कति इरिटेड गर्छन् साथीहरूले म र मेरो परिवारलाई ? प्रचण्डको परिवारलाई गरिखान नदिउ भन्ने दाउमा रहेछन् यिनीहरू ।’

भएको के थियो ?

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहाललाई एनसेल खरिद बिक्री प्रकरणमा मिलेमतो भएको सांसद अमरेशकुमार सिंहले सार्वजनिक रुपमा आरोप लगाएका थिए । प्रधानमन्त्रीको सचिवालयले यो विषय पुष्टि गरेर देखाउन चुनौती दिएको थियो ।

यही विषयमा एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई लिएर संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले पुस ३ गते मंगलबार प्रधानमन्त्री दाहालसँग स्पष्ट पार्न आग्रह गरेका थिए ।

बैठकमा सहभागीहरूको जिज्ञासा मेट्ने क्रममा प्रधानमन्त्रीले आफ्नी छोरी गंगा दाहाल बिचरा भएको र उसलाई जोडेर अनेक कुराहरू गर्नु लोकतन्त्र र संविधानविरुद्धको हमला भएको बताएका थिए ।

उनले भनेका थिए, ‘हाम्रो परिवारमा अब तीन जना बाँकी छौँ । एउटी उतै भरतपुरतिर मेयर बनेर सक्रिय रहेको कुरा तपाईंहरुलाई थाहै छ । मसँग एक जना गंगा दाहाल छ तर ऊ कस्ती छ भन्ने तपाईँहरू जानकार हुनुहुन्छ । बिचरा गंगालाई जोडेर नभएको कुरा उचालियो । यो लोकतन्त्र र संविधानविरुद्धको हमला हो ।’

बैठकमा दाहालले आफ्नो परिवारमा अब दुई जना मात्रै छोरी बाँकी रहेको बताउँदै अनावश्यक आरोप नलगाउन सांसदहरूलाई समेत भनेका थिए । उनले आफूलाई हमला नगरी अहिलेको व्यवस्था नउल्टिने बुझेकाले आक्रमण गरिरहेको समेत दुखेसो पोखेका थिए ।

बैठकमा प्रचण्डले आफूलाई सांसद सिंहले अनेक आरोप लगाएर कमजोर बनाउन खोजेको तर आफू जनयुद्ध लडेर आएको मान्छे भएकाले त्यति साह्रै भावनामा नबहकिने बताएका थिए ।

माओवादीको बैठकमा अध्यक्ष प्रचण्डले भनेको उधृत गर्दै एक पदाधिकारीले भने, ‘छोरीको कुरा गर्दा उहाँ बढी आक्रोश र आवेगमा हुनुहुन्थ्यो । ‘अमरेश जस्ताको जवाफ दिँदै हिँड्नु उचित नहुने भन्दै प्रचण्डलाई असफल बनाउने खेल भएको कुरा गर्नुभयो ।’

पदाधिकारी बैठकको ब्रिफिङ गर्दै अर्का नेताले खबरहबसँग भने, ‘कुरा उठाएपछि अध्यक्षज्यूलाई दुई–चारजना नेताले थप कुरा सोध्नुभयो ।’

गंगाको विषयमा पदाधिकारी बैठकमा विभिन्न प्रकारका सुझावहरू आएको ती नेताले बताए । उनका अनुसार प्रचण्डको सचिवालयमा छोरीको विकल्पका विषयमा पनि छलफल भएको थियो । तर, प्रचण्ड विकल्प खोज्ने पक्षमा देखिएनन् ।

स्रोतका अनुसार सचिवालय र अन्य कर्मचारी पनि छोरी गंगाको व्यवहारबाट दिक्क छन् । उनी प्रचण्डसँग गर्ने उच्च तहको भेटघाटदेखि सामान्य भेटघाट र फोटो सेसनमा कहीँ पनि छुट्दिनन् । प्रचण्डले पनि देश विदेशमा हुने प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा प्राथमिकताका साथ छोरीलाई सहभागी गराउँदै आएका छन्, यो जनस्तरबाट आलोचना हुँदै आएको विषय हो ।

जब गजुरेलको राजीनामा सन्दर्भ उठ्यो…

बैठक सुरु भएको पहिलो दिन मंगलबार जब महासचिव देव गुरुङले कार्यक्रम सुरु गरे, उपमहासचिव हरिबोल गजुरेल पनि बैठकमै थिए ।

बैठक सुरु भएपछि अन्य एजेन्डामा कुरा भयो । सुरु दिनको बैठकका प्रदेश इञ्जार्चहरुले ब्रिफिङ गरे । त्यसपछि बैठकमा हरिबोल गजुरेलको राजीनामाको सन्दर्भ उठ्यो । गजुरेलको राजीनामा स्वीकृत गर्नु नहुने धेरै नेताहरुले बताए ।

हरिबोललाई पदाधिकारीहरुले राजीनामा फिर्ता लिन सम्झाएका थिए । तर, गजुरेलले प्रधानमन्त्रीको सचिवालय र छोरी गंगाको बारेमा असन्तुष्टि रहेको कुरा बैठकभन्दा बाहिर बोलेको त्यहाँ चर्चा भयो ।

माओवादीका एक पदाधिकारी भन्छन्, ‘उहाँको राजीनामा स्वीकृत भएको छैन, सायद फिर्ता हुन्छ होला । अध्यक्ष र गजुरेलजी भेटेर हेटक्वार्टरमा पुनः एकपटक छलफल गर्ने भन्ने भएको छ ।’

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा पार्टी रूपान्तरण अभियानका बारेमा छलफल भएको छ । पार्टी गतिशील र चलायमान भएको, जनताको इच्छा अनुसार पार्टी चलेको र संविधानको सफल कार्यान्वयन भएको बैठकको निष्कर्ष छ ।

रूपान्तरण अभियानको समापन पुस १६ गते पालिकास्तरमा हुने सापकोटाले बताए । यसका लागि बृहत्तर जनपरिचालन गरिनेसमेत उनले बताए ।

बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने निर्णयसमेत गरेको छ । यसका लागि विधान मस्यौदा समिति पनि गठन भएको छ ।

विधान मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र सचिवहरू गणेश शाह र राम कार्की छन् ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार राष्ट्रियसभा निर्वाचनका बारेमा पनि सामान्य छलफल भएको छ । गठबन्धनको निर्णय अनुसार राष्ट्रियसभामा भाग लिने निर्णय भएको उनले बताए ।

पात्र र सीटको विषयमा केही छलफल भएन भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धनको निर्णय आएपछि मात्र हुन्छ ।’

राष्ट्रियसभा निर्वाचनका लागि विभिन्न स्थान र प्रदेशबाट उम्मेदवारको नाम केन्द्रमा पठाउन बैठकले निर्देशन दिएको स्रोतले बतायो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ४ : ५१ बजे

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ

काठमाडौं – खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न यातायात व्यवसायीको माग

काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को

प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा