‘थन्थापमाई’ ओझेलमा « Khabarhub

‘थन्थापमाई’ ओझेलमा


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी, वडा नं ७ को जैदी र वडा नं ४ सर्कुवाको सीमा क्षेत्रमा अवस्थित रहेको थन्थापमाई मन्दिर बागलुङकै ऐतिहासिक धरोहरमध्येको एक भए पनि उचित संरक्षण र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ ।

जङ्गलको बीचमा रहेको मन्दिरमा रहेका महत्वपूर्ण घण्ट तथा कलात्मक बस्तुसमेत हराइसकेको स्थानीयवासीको भनाइ छ । जैमिनी–१० राङ्खानी पाहीका टीकाराम शर्मा आचार्यका अनुसार २०–२५ वर्षअघि यहाँको घण्ट, मन्दिर तथा विभिन्न आकृतिका धातु चोरी भएपछि स्थानीयवासीकै पहलमा काँडेतार लगाएर सुरक्षित गरिएको छ ।

“मन्दिरको गुठीको नाममा रहेको थुप्रै खेत छ, त्यसको कुनै खबर छैन, द्वन्द्वकालदेखि कसले कमाएको छ अत्तोपत्तो छैन, कति जग्गा मासिएको होला, मैले सुनेअनुसार यहाँको घण्टसमेत चोरी भएको थियो”, उनले भने, “पहिला संरक्षण भएको थिएन, अहिले केही मर्मतसम्भारसमेत भएको छ, जैमिनी नगरपालिकाले समेत रु २० लाख लागनी गरिसकेको छ, चुहिने छानो अहिले तामाले छाइएको छ तर समस्या भक्तालु घटेका छन्, हामीलाई प्रचार–प्रसारको खाँचो छ ।”

जङ्गलभित्र मन्दिर भएका कारण शान्त वातावरणम छ भने हरियाली डाँडा धार्मिक पर्यटकीय गन्तव्य बन्ने भए पनि पछिल्लो समय मन्दिरको चर्चा सेलाउँदै गएको स्थानीयवासीको भनाइ छ ।

भगवतीको मन्दिर भएकाले शक्तिसँग जोडिएको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ मानिस त्यहाँ पुग्छन् । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचार–प्रसारको अभावमा यो मन्दिर अहिले ओझेलमा छ ।

बागलुङ दक्षिण भेगको महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको १८औँ शताब्दीमा स्थापना गरिएको मन्दिरको सम्भावना उजागर गर्नका लागि सरोकार निकायले ध्यान दिनुपर्ने स्थानीयवासी लीलबहादुर रानाले बताए ।

“केही नगरेको भने होइन, पदमार्ग, तारबार र खानेपानी लगायतका संरचना छन् तर पहिला टाढा–टाढाबाट भक्तजन आउने गरेका थिए, सवारीसाधनको पहुँच हुँदासमेत कम भक्तजन आउन थाले, प्रचार–प्रसारकै अभाव देखियो, नयाँ–नयाँ मठमन्दिरमा अहिले दर्शनार्थी पुग्छन् तर ऐतिहासिक शक्तिसँग जोडिएको मन्दिर अहिले ओझेल परेको छ”, उनले भने, “मन्दिरको मर्मतसम्भार भए पनि जीर्णोद्वार र प्रचार–प्रसारको काम बाँकी छ, जैमिनी नगरपालिकाले अझै यसमा धेरै काम गर्न आवश्यक छ ।”

उक्त थन्थाप भवगती माईको मन्दिरमा हरेक मङ्गलबार विशेष पूजाआजा हुन्छ । बडादशैँ, चैतेदशैँलगायतका विशेष समयमा त त्यहाँ पुग्ने दर्शनार्थीको घुइँचो नै लाग्ने गरे पनि क्रमशः यसको महत्व बढ्दै जानुमा घट्दै गएको स्थानीयको भनाइ छ । मन्दिरको स्थापनाको ठ्याक्कै यकिन नभए पनि विसं १८६५ लेखिएको ताम्रपत्र भेटिएको उनले जानकारी दिए ।

भुरे टाकुरे राजाको पालामा युद्ध धेरै हुने भएकाले शक्ति स्वरुपा भगवतीको मन्दिर त्यही बेला स्थापना भएको हुनसक्ने राना बताउँछन् । भगवतीको पूजा गर्नाले आँटेको पुग्ने र शक्ति स्वरुपा भएकाले उनको भाकलबाट युद्ध जितिने पनि विश्वास रहेकाले भुरेटाकुरे राजाले नै यहाँ यो मन्दिर स्थापना गरेको स्थानीयवासीको अनुमान छ । यहाँको हाँडीकोट, पुरानो गाउँलगायतका ठाउँमा पहिले राजा रहेको भन्ने एथेष्ट प्रमाण र पुरातत्व सामग्रीबाट प्रमाणित भइसकेको छ ।

मन्दिरमा परेवा र बोकाका मात्र बलि दिइन्छ । पछिल्ला दिनमा जैमिनी नगरपालिका क्षेत्रबाट बसाइँ सरेर जानेको सङ्ख्या बढी भएकाले मन्दिरमा आउनेको सङ्ख्या कम भएको हो । मन्दिरको नाममा अर्जेवा, जैदी, बिनामारेमा गुठीका जग्गा भएको भन्ने सुने पनि अहिले जग्गाको अत्तोपत्तो छैन । ऐतिहासिक पक्षसँग जोडिएकाले थन्थाप भगवतीको मन्दिरको विकास र प्रचार–प्रसारका लागि जैमिनी नगरपालिकाले विशेष चासो दिएको उपप्रमुख हरिहर शर्माले बताए ।

“अहिलेसम्म नगरपालिकासहित विभिन्न निकायबाट मन्दिरको संरक्षण र प्रवद्र्धनमा रु ७० लाख खर्च भइसकेको छ, यहाँको पुरानो योजनालाई विकसित गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न हामी लागेका छौँ”, उनले भने, “गुठीका विषयमा जुन जग्गाको कुरा छ त्यो मालपोतले हेर्ने हो पालिकाले हेर्न मिल्दैन, हामीले धार्मिक पर्यटकीय गन्तव्य बनाउन कुनै कसर बाँकी राख्दैनौँ ।” उनले थन्थापमाई, कोतघर जहाँ तोपसमेत छ दुवैलाई एकैपटक विकास गर्ने गरी योजना बनाएको बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ४२ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा