दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज दिनभर राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पर्ने राष्ट्रपतिको भनाइ, वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य नभएकाे प्रधानमन्त्रीकाे भनाइ, छुवाछूत र विभेद अन्त्य गर्न राष्ट्रियसभा सदस्यको माग, बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारियो, तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कसैलाई पनि पछाडि फर्कने छुट नभएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाललाई समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे ।

भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उनले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिए । मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उनको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको गुनासो गरे । सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए ।

पछिल्लो समय राज्यले व्यवसायीलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए । उनले राष्ट्रपतिमा निर्वाचित भएकामा महासङ्घको तर्फबाट पौडेललाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरे ।

इन्टरनेशनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एसोसिएसनका अध्यक्षसमेत रहेका अध्यक्ष सिंहले आगामी मङ्सिर ४ देखि ८ सम्म काठमाडौँमा हुने ४६औँ इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण गरेका छन् ।

महासङ्घ प्रतिनिमिण्डलमा अध्यक्ष सिंहका साथ महासङ्घका सल्लाहकार यक्षध्वज कार्की, जयराम लामिछाने, बीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), उपाध्यक्षद्वय रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हीरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेमसिंह ऐर र उपनिर्देशक निर्मल अर्याल सहभागी थिए ।

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समाजिक सुरक्षा कोषका योजनामा आबद्ध गराउने कार्यको आरम्भ गर्दै उनले भने, “अब दुःख दिने, दुःख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानाो कदर हुनेछ ।”

उनले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको उल्लेख गर्दै श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाइने बताए ।

उनले विदेशमा रहेका नेपालीको हकहित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने विषय सरकारको प्राथमिकतामै रहेको जानकारी दिए ।

प्रधानमन्त्रीले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताउँदै सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको स्पष्ट गरे ।

छुवाछूत र विभेद अन्त्य गर्न राष्ट्रियसभा सदस्यको माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनीहरूले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । सांसद अनिता देवकोटाले छोरीहरू समाजमा असुरक्षित रहेको, उनीहरूको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भनिन्।

सांसद कुमार दसौदीले आफूलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित गराएकोमा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिए ।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेतिथिलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्य तालिका ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गरे ।

सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्वासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गरे ।

सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा धन्यवाद दिए ।

सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकार विपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गरिन् ।

सांसद सिंहबहादुर विश्वकर्माले सिराहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानूनअनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।

जनताको मुख थुन्ने कुबुध्दि कसले सिकायो ? : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो । सोही घटनालाई लिएर रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाएका हुन् ।

‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?’ रावलले ट्विट गर्दै भनेका छन् ।

अयोग्य माओवादी लडाकुलाई रकम बाँड्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा ः राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

माओवादी लडाकुको नाममा यसअघि निकासा भएको अर्बौं रकम हिनामिना भएको आरोप खेपिरहेका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।

जसको चौतर्फी आलोचना भइरहेका बेला राप्रपाले पनि विरोध जनाउँदै सरकारको आर्थिक अराजकताको पराकाष्ठा रहेको टिप्पणी गरेको हो ।

देशको अर्थतन्त्र धरापमा पर्दै गएका बेला पुरानो हिसाब नदेखाई फेरि लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय अनुचित, बलजफ्ती र आर्थिक अराजकताको पराकाष्ठा हो,’ पार्टीका प्रवक्ता श्रेष्ठले भनेका छन् ।

बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारियो

बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक चैत १० गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरी संसदलाई जानकारी गराउन माग

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र खराब अवस्था नरहेको र निवर्तमान अर्थमन्त्रीले आर्थिक अवस्था खराब रहेको बताएकाले श्वेतपत्र नै जारी गरेर देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ परेका छन् । तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौँ बबरमहलका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैंचाका हिरालाल शिवाकोटी, तनहुँको शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुरको गोदावरीका विजय लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कटवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको खुलेको छ ।

उनीहरुको साथबाट ४ थान स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौँ महानगरपालिका ६ नं वडा कार्यालयको छाप, जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट लोब्साङ ठिन्ले गुरूङको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र पनि बरामद गरिएको छ ।

त्यसैगरी लोब्साङ ठिन्ले गुरुङकै नामको ई पासपोर्ट एप्लिकेसन फर्म, अन्दाजी ५०० थान विभिन्न व्यक्तिको नाममा विभिन्न जिल्लाबाट जारी भएको देखिने सक्कली तथा नक्कली सरकारी कागजात, ३ लाख ५० हजार ५०० रुपैयाँ र ७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेखको तालपोखरीमा मालबाहक मिनी ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

सहचालक प्रकाश कुमाईं भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु

मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ। गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो।

मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेका हुन्। सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पुराउने अध्यक्ष गुरुङको भनाई छ।

स्वास्थ्य क्षेत्रको पनि सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाहरुमा सेवा सुविधा बढाउँदै लगिएको गुरुङले दावी गरे। गर्भ जाँच गर्न महिलाहरु टाढा–टाढा, सहरबजार धाउनुपर्ने बाध्यतालाई मध्यनजर राख्दै गाउँपालिकाले वडाभित्रै यो सेवा सुरु गरिएको अध्यक्ष गुरुङले बताए। स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको उनले बताए।

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रासाउण्ड उपकरण खरिद गरेर खुदी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको बताए ।

ओडीआई वरियतामा नेपाल एक स्थान माथि उक्लियो

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईको वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो ।

यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ स्थानमा उक्लिएको छ । ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो ।

वरीयताको पहिलो स्थानमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २०मा पपुवा न्युगिनी रहेका छन् ।

प्रधानमन्त्री थ्री नेसन्स प्रतियोगितामा नेपाल विजयी

प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको ३१औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी ५६औं मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि अर्को गोल थपे ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ५८ बजे

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।