दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त, उपनिर्वाचनको तयारी पूरा, तुइनबाट खसेर दार्चुलामा एक जनाको मृत्यु, प्रधानमन्त्री  प्रचण्ड भारत भ्रमणमा जाँदै, अर्थतन्त्रमा सुधारको संकेत, पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने,७८ जनामा संक्रमण पुष्टि लगायतका समाचारले स्थान पाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन असफल भएसँगै उनी पदमुक्त भएका हुन् । यससँगै प्रदेश सरकार पनि गिरेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत लिनु परेको हो ।

उनलाई विश्वासको मत दिने पक्षमा ४ मत र विपक्षमा ३५ मत परेको थियो ।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमणमा जाँदैछु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको समग्र हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन् । शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो छिट्टै छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्नका लागि आवश्यक तयारी भइरहेको बताएका हुन् ।

उनले बिभिन्न चूनौतिबीच कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेकाले यसलाई अवसरको रुपमा लिने बताए । राष्ट्रिय एकतालाई अघि बढाउन र आर्थिक समस्या समाधानका साथै इतिहासको चक्कालाई पछि ढकेल्न खोज्ने चूनौति देखिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको निर्वाचन प्रणाली र संवैधानिक व्यवस्थाका कारण कुनै एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेका कारण गठबन्धन बनेको र गठबन्धनलाई पाँचै वर्ष अघि बढाएर देश र जनतामा सेवा प्रवाह गरिने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले कम्युनिष्ट आन्दोलन अझैपनि जनतामा लोकप्रिय रहेको भन्दै कम्युनिष्ट एकतामा भएको त्रूटीलाई आत्मसमिक्षा गर्दै पुन एकतामा जानुको विकल्प नरहेको बताए । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि पार्टी केन्द्रीत भएको छिटै नतिजामा पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको साझा मुद्धामा सहकार्य गर्नका लागि कम्युनिष्ट दलहरु तयार हुनुपर्ने बताए । उनले विचार मन मिल्न सने कम्युनिष्ट पार्टीहरु एकता नै गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।

उनले अहिलको कम्युनिष्ट आन्दोलनको अवस्थाका बारेमा गहिरो समिक्षा गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

उपनिर्वाचनको तयारी पूरा

प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ ।

यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ । मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ ।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त लिएको छ ।

उपनिर्वाचन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने

उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी नचल्ने भएका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेँसीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको हो ।

तनहुँ-१ निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन हुने भएकाले गाडी निषेध गरिएको हो ।  उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुत बनाइएको प्रजिअ रिजालले जानकारी दिए । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । 

उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उनले बताए ।

साइक्लिङले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउँछ : राजदूत थम्पसन

विश्व पृथ्वी दिवसको अवसरमा शनिबार काठमाडौँमा साइकल र्‍याली कार्यक्रम सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्‍याली गरिएको हो ।

उक्त साइकल र्‍यालीमा अमेरिकी राजदूत डिन आर थम्पसनलगायत करिब २०० जनाको सहभागिता रहेको थियो । यस अवसरमा राजदूत थम्पसनले भने, ‘म यस कार्यक्रमको हिस्सा हुन पाउँदा निकै उत्साहित छु । राजदूत थम्पसनले यस कार्यक्रमले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउन मद्दत गर्ने आशा व्यक्त गरे’। उनले दिगो भविष्य निर्माण गर्न र ग्रहको रक्षा गर्न प्रत्येक व्यक्तिको भूमिका रहेको बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले साइकल र्‍यालीमा सहभागी भएकाहरूलाई स्वागत गर्दै साकलिङले स्वास्थ्यलाई फाइदा पुर्‍याउने र बढ्दै गएको वायु प्रदूषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रमका क्रममा महालक्ष्मी नगरपालीकाको वडा न ६ र ८ का स्थानीयले  साइकलन र्‍यालीमा सहभागिहरुलाई विभिन्न बाजागाजको साथ स्वागत गरेका थिए ।

आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै सहयोगी हातहरूलाई धन्यवाद दिए । आइएसएसआरले विभिन्न निकायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए। यसैबीच, अमेरिकी राजदूत थम्पसनले कार्यकममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘यो कार्यक्रम गर्ने अहिले राम्रो समय हो। नागरिक, देश र विश्वकै लागि र वातावरणका लागि महत्वपूर्ण छ।’ उनले भने।

उक्त कार्यक्रममा सहभागीहरू र राजदूत थम्पसन दम्पतिले ७०० वर्ष पुरानो महालक्ष्मी मन्दिरमा दर्शन समेत गरेका छन् ।

अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको बताएका छन् । उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको उल्लेख गरे। उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पारे । देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले राजनीतिमा पनि आवेग र सेन्टिमेन्टतर्फ विषय जाने हो कि भन्ने खतरा देखापरेको तथ्य पेस गरे । नेपालमा विकसित भएको मूल्य मान्यतातर्फ नै केन्द्रित गर्नुपर्नेमा विदेशमा स्थापित भएका मूल्य र मान्यतालाई मात्रै मान्नुपर्छ भन्ने सोचले काम गरिरहेको उनको भनाइ थियो ।

अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छु स् अर्थमन्त्री

अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ’, अर्थमन्त्री डा महतले भने ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताएका हुन्। अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न उनले आग्रह गरे । अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व संकलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताए ।

वैदेशिक सहयोगमा सञ्चालित आयोजनासमेत विभिन्न अवरोधका कारण समस्या खडा भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पूर्वतयारी पूरा गरेर मात्रै परियोजना अगाडि बढाउन सकिए कुनै पनि समस्या नहुने बताए ।

उपनिर्वाचनमा जसपाले बुथ लुट्ने तयारी  : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा आइतबार हुन लागेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपा नेपालले बुथ लुट्ने तयारी गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष राउतले बुथमा अनुगमनका लागि आउन सञ्चारकर्मीलाई पनि आग्रह गरेका छन् ।

खासगरी नेपाल–भारत सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेको उल्लेख गर्दै अध्यक्ष राउतले ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा रहेको बताएका छन् । जसपाका नेता र प्रहरी प्रशासनबीच साँठगाँठ रहेको बताउँदै अध्यक्ष राउतले फर्जी मतदानका लागि निर्वाचन अधिकारीहरु पनि मिलेको आरोप लगाएका छन् ।

‘खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बूथहरू दिनदहाडै लूटिने गरेका छन्। ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा छन्, प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेका छन्, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानको लागि तम्तयार छन्।’ उनले लेखेका छन् ।

उनले मतदान गरिने ठाउँहरुमा सेना परिचालन गर्न सरकरसँग माग गरेका छन् ।

तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू(भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन ।

‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’, बुढाथोकीले भने – ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।’

सिङ्दलसिंहको शव भारतीय भू(भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छिन् ।

उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको बताइएको छ

कोरोनाबाट थप एक जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

कोरोना आक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।

यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको संख्या ३८३ पुगेको छ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ०३ बजे

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

एजेन्सी– इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध

प्रतिमाको प्रश्न- के सरकार व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउँदैछ ?

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकार देशमा रोजगारी सिर्जना

५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप

काठमाडौं- भन्सार छलेर ल्याएको सुनको कारोबार गरेको अभियोगमा प्रहरीले एकजनालाई

‘कल्की २८९८ एडी’को कीर्तिमानी व्यापार

काठमाडौं– प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’