मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण घोषणा गरिने | Khabarhub Khabarhub

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण घोषणा गरिने


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । 

विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८-७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको जानकारी दिए। ‘बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९-८० मा विद्युत पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ’, उनले भने । 

प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीयकरण प्रदेश’ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत् पुर्‍याउने अभियान सुरु गरिएको उनले बताए । 

विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि ५५ करोड बराबरको सिञ्चाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ । ‘उक्त कार्यक्रमअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुलबापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाइने व्यवस्था गरेको छ’, प्रमुख ठाकुरले भने । हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पुर्‍याउन निर्णय गरेर पठाएको उनले बताए । 

सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट दुईका दरले मात्र महसुल तिराउने नीति लिएर विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि पाँच अर्ब बजेट छुट्याएको जनाएको छ । 

प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पश्चात् प्राधिकरण सेवा विस्तार प्रणाली सुदृढीकरण भएको र निरन्तर विद्युत् चुहावट घट्दै गएको प्रमुख ठाकुरले जानकारी दिए ।

मधेस प्रदेशमा गत आर्थिक वर्ष २०७७-७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८-७९ मा १४ दशमलव १७ प्रतिशतमा चुहावट झरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ । 

सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१-४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५-३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । 

औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ । 

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २२ हजार छ सय ६३ ग्राहकको विद्युत लाइन काटिँदा १८ हजार आठ सय २९ ग्राहकले पुनःविद्युत् जडान गराएका प्रमुख ई ठाकुरले बताए। उनका अनुसार पुनःविद्युत् जडानबाट रू एक अर्ब ४३ लाख ४३ हजार एक सय १५ बक्यौता असुली भएको छ । 

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाएको प्रमुख ई ठाकुरको भनाइ छ । चालु आर्थिक वर्ष २०७९-८० को हालसम्म मधेस प्रदेशमा रू १४ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रू १२ अर्ब ९३ करोड महसुल संकलन भएको उनले जानकारी दिए ।

“मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएका छन् । योसँगै प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ रहेका छन्”, प्रमुख ठाकुरले भने । विसं २०७८ देखि अनलाइनबाट विद्युत् महसुल बुझाउनका लागि अनलाइन सेवा सुरु गरेको उनले जानकारी दिए। उनका अनुसार कुल ग्राहकमध्ये हाल २६ प्रतिशतले अनलाइन सेवामार्फत विद्युत महसुल तिर्दै आएका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ३ : ०२ बजे

माओवादीको निष्कर्ष- भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौँ– प्रतिनिधिसभामा देखिएको गतिरोधलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा

पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्चालन

काठमाडौं– नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क शटल बस

एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन

काठमाडौं– आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा

सार्वजनिक सवारिसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक