विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज भदौ ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

८९ वर्षको उमेरमा बिजुलीप्रसादको मृत्यु

भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो ।

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताए ।

सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको यो हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो । बिजुली प्रसाद नामको यो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो ।

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो । बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो । पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुनसक्ने सरमानको अनुमान छ ।

श्रीलङ्कामा खडेरीका कारण हजारौँ हेक्टरमा लगाइएको धान नष्ट
श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धानखेती नष्ट भएको छ ।

कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताए । यद्यपि देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने उनको भनाइ छ ।

दक्षिण एसियाली देश श्रीलङ्काको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भित्र्याइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताए ।

श्रीलङ्काको मौसम विभागले देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ ।

पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय
थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ ।

नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय आज सुनाएको हो ।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी बैंकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्‍याइएको अदालतले जनाएको छ ।

थाइल्याण्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा परेका छन् ।

पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाड्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रुपमा चयन गर्ने तयारी भएका बेला अदालतबाट कारावासको सजाय भएको छ ।

चौहत्तर वर्षीय थाक्सिनलाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्नेछन् भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।

सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय

सात शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

उत्तरी इङ्ग्ल्याण्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा ६ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गर्दै अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पूर्ण जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे ।

लेटबीलाई गत हप्ता सात नवजात शिशुको हत्या र अन्य छ वटा बच्चाको हत्या प्रयासको सातवटा मुद्दामा दोषी ठहर गरिएको थियो। सजाय सुनाउने टिप्पणीमा न्यायमूर्ति गसले म्यानचेस्टर क्राउन कोर्टमा कडा हिरासतमा सजाय सुनाउँदै भने, ‘नर्सले विश्वासको घोर उल्लङ्घन र पूर्वचिन्तन, मूल्याङ्कन र चतुरताको साथ काम गरेकी छिन्, त्यसले उनलाई भारी सजाय दिइन्छ ।’

‘तपाईले गरेको व्यवहार बालबालिकाको पालनपोषण र हेरचाह गर्ने सामान्य मानवीय प्रवृत्तिको पूर्णतया विपरीत थियो र चिकित्सा र हेरचाह पेशामा काम गर्ने व्यक्तिहरूमा सबै नागरिकहरूले राखेको विश्वासको घोर उल्लङ्घन थियो,’ न्यायाधीशले भने।

गत शुक्रबार सोही अदालतका न्यायाधीशले नर्सलाई १० महिनाको सुनुवाइ पछि सात नवजात शिशुको हत्या र ६ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गरे पछि अहिले सजाय सुनाइएको हो ।

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून लागू गरिएको छ । यसअनुसार प्रतिजासुसी गतिविधिमा संलग्न हुने नागरिकलाई प्रोत्साहनको व्यवस्था पनि गरिएको छ । त्यसबाहेक राष्ट्रपति सी जिन्पिङले आफ्ना नागरिकलाई एक अर्काविरुद्ध जासुसी गर्न बारम्बार आह्वान गर्दै आएका छन् ।

यसअनुसार चिनियाँ राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनाको सम्प्रेषण गर्न बन्देज लगाइएको छ भने राष्ट्रिय सुरक्षा तथा जासुसीको परिभाषालाई पनि विस्तार गरिएको छ । विदेशी नागरिक वा संस्थाहरूसँगको चिनियाँको साँठगाँठ, तिनले उक्साएको वा आर्थिक सहयोग उपलव्ध गराएको विदेशी वा स्वदेशी संस्था वा व्यक्तिहरूसँग मिलेर काम गरेकोमा दोषी ठहर गर्न सकिने, राज्यको गोप्य सूचना, तथा अन्य संवेदनशील विषय चोर्न, खोज्न वा प्राप्तिका लागि सङ्गठित संस्था वा व्यक्ति पनि लाग्नसक्ने भएकाले तिनमाथि पनि नजर राख्नु पर्ने व्यवस्था गरिएको छ । अनुसन्धानकर्ताले अब सम्बन्धित व्यक्ति र संस्थामाथि छानविन गर्न पाउनेछन् ।

चीनले जासुसीको आरोपमा बेलाबेला चिनियाँ र विदेशी नागरिकहरुलाई पक्राउ गर्दै आएको छ । गत मार्च महिनामा जापानी औषधि कम्पनी एस्टेलास फर्माका कार्यकारी पक्राउ परेका थिए भने अस्टे«लियन पत्रकार चेङ लेईलाई पनि जासुसीकै आरोपमा पक्राउ गरिएको छ ।
अमेरिकाले भने चीनको नयाँ प्रतिजासुसी अभियानप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकाले चीनमाथि साइबर आक्रमण र जासुसीको आरोप लगाउँदै आएको छ ।

चीन सरकारले आफ्ना नागरिकलाई जासुसी गर्न प्रोत्साहन गर्दै आएको छ । चिनियाँ राष्ट्रिय सुरक्षामन्त्री चेन यिशीनका अनुसार चीनले राष्ट्रिय सुरक्षाका निम्ति राजनीतिक सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

त्यसबाहेक पर्यटक, विद्यार्थी र कामदारका रुपमा विदेश भ्रमणमा जाने चिनियाँ नागरिकहरु पनि जासुसी गतिविधिमा सक्रिय रहेको पाइन्छ । चीनले आफ्ना नागरिकलाई पर्यटक, विद्यार्थी र कामदारको भेष्मा जासुसीका लागि पठाएको भन्दै आलोचना पनि हुँदै आएको छ ।

सन् २०११ मा भारतीय सैन्य शिविरको तस्वीर लिइरहँदा तीन जना चिनियाँ पर्यटकहरु पक्राउ परेका थिए । भारतीय अधिकारीले उनीहरुसँग वैध राहदानी र भिसा नभएको जनाएका थिए । अनुसन्धानबाट उनीहरु चिनियाँ प्रविधि कम्पनी हुवावेमा कार्यरत रहेको पाइएको थियो ।

सन् २०११ मा नै एक जना चिनियाँ महिलाले भारतीय सैन्य गतिविधि, रक्षा उपकरणको प्रयोग, विदेश नीति एवम् अन्य संवेदनशील सूचना चीन पठाउने गरेको खुलासा भएको थियो । चिङ शी नाम गरेकी ती महिलाले भारतमा दुई कम्पनी स्थापना गरी जासुसी गरेको भारतीय अधिकारीले आरोप लगाएका थिए ।

सन् २०२२ मा भारतमै जासुसीको आरोपमा सोङ सिआओलान नाम गरेका चिनियाँ पर्यटक पक्राउ परेका थिए । बोध गयामा पक्राउ परेका उनी जासुस रहेको र उनले तिब्बती धर्मगुरु दलाई लामाको सुरक्षामा जोखिम उत्पन्न गरेको भारतीय सुरक्षा अधिकारीको ठहर छ ।

हालै पर्यटकको भेषमा रहेका चिनियाँ जासुसले अमेरिकाको अलास्कामा रहेको फोर्ट वायनराइट सैन्य आधारमा घुसपैठको प्रयास गरेका थिए । उनीहरुको साथमा ड्रोनसमेत रहेको पाइएको छ । उनीहरुले त्यहाँ राखेको उपकरणबाट संवेदनशील जानकारी हासिल गर्न सकिने अमेरिकी सेनाका पूर्ववरिष्ठ अधिकारी डेभिड डेम्टुलाले जनाएका छन् ।

त्यस्तै, केही समयअघि हङकङमा जारी चिनियाँ दमनबारे बेलायतको संसदीय समितिमा सुनुवाइ भइरहँदा एक जना चिनियाँ पर्यटक बैठक कक्षमा देखा परेका थिए । हङकङका मानवअधिकारवादी अभियन्ता फिन लाउले ती व्यक्ति चिनियाँ जासुस रहेको भनी दाबी गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ०० बजे

पार्टी विभाजनको भण्डाफोर गर्न देशभर जसपा नेपालको परिपत्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा तल्ला

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा बुधबार साँझ यात्रुवाहक

सरकारको नीति तथा कार्यक्रममा महिलाको मुद्दा कति समेटियो ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दुबै संसदको संयुक्त सदनमा

गृहमन्त्री लामिछानेबाट त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न

दुर्व्यसनीको दुःख : न राज्यको साथ, न आफन्तको हात

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ घर भएका ३५ वर्षीय