दसैँमा मासुसँगै सागसब्जी र फलफूल खानुपर्छ | Khabarhub Khabarhub

दसैँमा मासुसँगै सागसब्जी र फलफूल खानुपर्छ


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दसैँलाई मासुको पर्वको रुपमा लिइन्छ। दसैँमा हरेकको घरमा मासुको विभिन्न परिकार पाक्ने गर्छ। तर मासु कस्तो र कसरी खाने भन्ने हेक्का राख्न नसक्दा स्वास्थ्यमा विभिन्न जटिलता पनि देखिन्छन्। कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ ? कस्तो खानेकुराले मुटुलाई झनै असर गर्छ ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंश :

दसैँ भन्ने बित्तिकै मासु नभई हुँदैन भन्ने छ, दसैँ र मासुसँगको सम्बन्ध कस्तो हो ?
दसैँमा मासुलाई बढी महत्त्व दिइएको देखिन्छ। अन्य समयको तुलनामा दसैँमा मासुको खपत पनि धेरै हुने गरेको देखिन्छ। दसैँ सामाजिक, सांस्कृतिक र आर्थिक गतिविधि बढी हुने फरक खालको पर्व हो। यसलाई मासु मात्र खाने पर्व मान्नु हुँदैन। दसैँको आध्यात्मिक महत्त्व धेरै छ। यो बहुआयामिक पर्व हो। पारिवारिक भेटघाटको हिसाबले पनि दसैँको धेरै महत्त्व छ।

त्यसैले खानाको कुरामा मासुका परिकारहरू धेरै हुन्छन्। यो चलिआएको चलन पनि हो। यसलाई हामीले मान्नुपर्छ। मासु खाने कुरामा मासु सफा हुनुपर्छ। मासु सँगसँगै फलफूलहरू पनि खानु पर्दछ। बोसो जन्य मासु धेरै खानु हुँदैन। यसले शरीरलाई फाइदा गर्दैन, पाचन प्रक्रियालाई फाइदा गर्दैन। धेरै नै बोसोजन्य मासुले मुटुजन्य रोगहरू विस्तारै बढाउने सम्भावना हुन्छ। दसैँमा मासुसँगै मदिराको सेवन पनि हुन्छ। त्यो शरीरका लागि फाइदा जनक हुँदैन। त्यसैले यी कुराहरूलाई ध्यान दिएर दसैँ पर्व मनाउनुपर्छ।

मासु स्वस्थ छ या छैन भनेर कसरी छुट्टाउने ?
सामान्यतया हाम्रोमा खासै नियमन भएको जस्तो लाग्दैन। तर जुन जनावरको मासु लिइने हो त्यसको रोग परीक्षण गरिनु पर्दछ। जनावरबाट पनि विभिन्न किसिमका सङ्क्रमण सर्ने सम्भावना हुन्छ। योबाहेक मासु राख्ने, बनाउने सटर घर वा मासु बनाउने ठाउँहरू पनि सफा हुनुपर्दछ। त्यहीबाट सङ्क्रमण जन्य रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ। मासु स्वस्थ सफा हुनुपर्छ। त्यस्तै छाला र बोसो भएको मासु कम खानु पर्दछ। मासु पकाउने क्रममा चिल्लो कम प्रयोग गर्याे भने राम्रो हुन्छ। खसीको मासुभन्दा कुखुराको मासु राम्रो हुन्छ। त्यो भन्दा माछा खानु राम्रो हुन्छ। माछामा वा माछाको तेलमा मुटुलाई फाइदा हुने खालको कोलेस्ट्रोलको हिस्सा हुन्छ। माछामा (ओमेगा थ्री फ्याटी एसिड) धेरै हुन्छ। त्यो हिसाबले माछा खानु राम्रो हुन्छ।

दसैँमा खसीको मासु नै धेरै खाने चलन छ। यो बिहानदेखि बेलुकासम्म कसरी खाने ?
मासु खाने तर त्यसको एक पटकमा थोरै हिस्सा मात्र लिन सकिन्छ। मासुबाहेक अरु स्वादिष्ट खानेकुराहरू पनि धेरै छन्। दसैँमा साथीभाइ भेट्ने, नजिकको ठाउँ घुम्न जाने, हाइकिङहरू जाने, व्यायामहरू गर्ने, देवी र दुर्गाको पूजा गर्नुपर्छ।

यस्तै खानाको बिचबिचमा सागसब्जी र फलफूल पनि खानुपर्छ। बिहानदेखि बेलुकासम्म मासु मात्रै खानु सायद व्यवहारिक र स्वास्थ्यको लागि राम्रो हुँदैन।

मुटुमा समस्या हुने र दीर्घ रोग भएको व्यक्तिले मासु कसरी खाने ?
एकै दिन धेरै खाएर बढी समस्या नहोला तर धेरै बढी त केही कुरा पनि राम्रो हुँदैन। मुटु रोगीहरुले चिल्लो कम, बोसो कम भएको मासु खानुपर्छ। सम्भव भएसम्म माछा खानुपर्छ। मुटु रोगीको लागि माछाको सेवन अन्य मासुभन्दा राम्रो हुन्छ।

बढी चिल्लो खानेकुराले मुटुलाई कसरी असर गर्छ?
चिल्लो खानेकुरा बाहेक शरीरमा उत्पादन हुने कोलेस्ट्रोल बढी हुँदा मुटुजन्य रोगहरू जस्तै रक्तचाप, हृदयाघात, मस्तिष्कघातको समस्या बढ्ने हुन्छ। कतिपय मधुमेहको बिरामी, इन्सुलिन लिएको हुनुहुन्छ भने ठिक समयमा ठिक खानेकुरा सधैँ जस्तै खानुपर्छ। दसैँ भनेर धेरै चिल्लो, गुलियो खानु हुँदैन।

अर्को महत्त्वपूर्ण कुरा भनेको रक्सीको सेवन पनि दसैँमा धेरै पाइन्छ, यसले पनि कलेजो खराब गराउने, रक्तचाप बढाउने, मुटुको चाल अनियन्त्रित र अनियमित गराउने हुन्छ। जसलाई हामीले होलिडे हार्ट सिन्ड्रोम भन्छौँ। धेरै रक्सी खाने मान्छेको मुटुको चाल तीव्र हुने, अनियन्त्रित हुने हुनसक्छ। त्योबाहेक कहिले काहीँ मुटुको गतिविधि नै ढप्प हुनसक्छ। जसले गर्दा हृदयाघात भएर मृत्यु नै हुन पनि सक्छ। यसैगरी थुक, र्यालहरु सर्केर मान्छेलाई निमोनिया हुने, श्वासप्रश्वासमा अवरोध आउने समस्या पनि देखिन सक्छ। त्योबाहेक रक्सी खाएर सवारी साधन चलाउँदा दुर्घटना हुने जोखिम पनि धेरै हुन्छ।

मासुलाई लामो समयसम्म फ्रिजमा राखेर खाँदा कस्तो असर गर्छ ?
फूलपातीको दिनदेखि मासु ल्याएर कसैले फ्रिजमा हालेर लामो समयसम्म पनि राख्नुहुन्छ। फ्रिज नभएको ठाउँमा ठिक्क मात्रामा ल्याउने वा फ्राई गरेर राख्दा हुन्छ। सङ्क्रमण नहुने हिसाबले मासु भण्डारण गर्नु पर्दछ। थोरै मात्रामा ल्याएर राम्ररी फ्राइ गरेर पनि भण्डारण गर्न सकिन्छ।

मदिरा र धूम्रपान सेवनसँगै मासु पनि धेरै खाँदा दीर्घकालीन रूपमा कस्तो असर पर्छ ?
मदिरा क्यान्सर गराउने तत्त्व हो भनेर धेरै अनुसन्धानमा आएको छ। त्योबाहेक मदिराले उच्च रक्तचाप बढाउँछ। त्यस्तै रगतको नलीहरू कडा खालको हुने विस्तारै त्यसले कोलेस्ट्रोल बढाउने, कलेजो खराब हुने, कलेजो सुक्ने, मुख र घाँटीको क्यान्सर, आमाशयको क्यान्सर गराउने हुन्छ। कहिलेकाहीँ मुटुको चाल अनियन्त्रित र अनियमित भएर मुटुको चाल रोकिएर हृदयाघात समेत हुनसक्छ। यस्तै चुरोट पनि हृदयाघात, मस्तिष्कघात लगायतका रोगहरूको मुख्य कारक तत्त्व मानिन्छ।

दसैँ राम्रोसँग मनाउन र मुटु जोगाउन के–के कुरामा ध्यान दिने ?
दसैँ भनेको खानपानको मात्र पर्व होइन, साथीभाइ भेट्ने, पूजापाठ गर्ने, पिङ खेल्ने, आफन्तसँग भेटघाट गर्ने, रमाइलो गर्ने र स्वस्थ खाना खानु पर्दछ। दसैँमा सबैसँग भेटघाट गरेर रमाइलो गर्नुपर्दछ। अनियन्त्रित तरिकाले केही पनि खानु हुँदैन। पहिलादेखिका समस्या भएका मानिसहरूले आफ्नो नियमित औषधिको सेवन गरेर दसैँ खुसी साथ मनाउनुपर्छ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ११ : १७ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको