मासुभात र आँसुभातको अर्थशास्त्र   | Khabarhub Khabarhub

मासुभात र आँसुभातको अर्थशास्त्र  



भित्ताको पात्रोमा आँखा डुलाउनासाथ धेरैको प्रतिक्रिया हुन्छ– ओहो ! आयो दसैँ । दसैँ सकिनासाथ चिसो सास फेर्दै भन्छ– गयो दसैँ । न दसैँलाई आएर सुख छ, न आउँदै नआएर । नेपालीका लागि दसैँ र चुनावले बोक्ने मनोविज्ञानको जमिन समान छ । दसैँले सुतेको उत्साह जागृत गराउँछ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक हरेक पाटोसँग दसैँको सम्बन्ध अन्योन्याश्रित रहन्छ ।

घरले परदेश, परदेशले घरदेश सम्झन्छ । बिछोडिएका जोडीको यही बेला माया मर्स्याङ्दी भएर उर्लिन्छ । घरको जाउलो कमाउन गएको छोरो दसैँ सम्झिएर अलिकति भएपनि कमाइको आयतन बढाउन निद्रा मार्न कस्सिन्छ । दसैँको सुगन्ध पस्नासाथ गृहिणीहरू ताउलो सफा गर्ने सुरसार गर्छन् । पसाएको केराको कोसो गल्छ कि गल्दैन भन्ने ध्याउन्न सबैको हुन्छ । त्यसमाथि दसैँका नयाँ लुगा र दक्षिणाबाट आउने बासनाको स्पर्श कसका लागि प्रिय नहोला !

दसैँ मान्ने खेलाडीको रुचि बदलिए पनि खेलका नियम एउटै गतिमा छन् । जहाजबाट झर्ने लाहुरेको आशक्तिमा रुम्जाटार विमानस्थलमा उभिएर आँखा ओछ्याउने परम्पराले विश्राम पायो होला । एकादशी बजारमा दोहोरी घन्किन छोडे होलान् । बेनीको बजारमा माया लगाउने एउटा मीठो सपना भङ्ग भयो होला । हरियो डाँडामाथि हलो जोत्ने साथी गीत गाएर चौतारीमा मान्छे बटुल्ने धर्मराज थापाको युग सकियो होला । नारायण रायमाझीको अक्षता नमुछ्न आव्हान गरिएको गीत कतिका लागि सत्य सन्देश भयो होला ।

दसैँ मनाउन घर जाँदा आफैँ चढेको बाहन दुर्घटना भएर भगवानका प्यारा हुनेहरूको कथा अलग छ । तर प्रकृतिको डायरीमा अन्धकारसँगै उज्यालोको पृष्ठ छ । आशाले मान्छेलाई तानिरहन्छ । भोलि बाँच्ने ग्यारेन्टी होस् नहोस्, अलार्म ठीकठाक पारेर सुत्छ मान्छे । आखिर मर्ने भयले मान्छे जन्मन कहाँ कम भएको छ र ?

माध्यम फेरिए पनि मायाको परिभाषा उही छ । मायाले दिने सामर्थ्य उही छ । आँखाको आँसु र अनुहारको हाँसो प्रकृतिले मानिसलाई दिएको सबैले बुझ्ने लिपि हो, भाव हो । हावाको गतिमा भएपनि मायाले उही सौदा मारेकै छ । हुलाकको चिठ्ठीबाट आउने मायाको सन्देश अहिले सामाजिक सञ्जालमै भएपनि उच्छ्वास पोखिएकै छ । माया कतै टीकटकको बाछिटामा रमाएको छ । माया र कुवाको पानी समान हो । यो खर्च भयो भनेर डराउनु पर्दैन । माया बाँड्नुस्, दोब्बर हुन्छ ।

अजात शत्रु मानिने बिराला र कुकुरको प्रेमले हार्दिकता बाँड्न थालिसक्यो ।  बिराला र मुसाको लुकामारीले प्रकृतिको नियमलाई च्यालेन्ज गरिसक्यो । महँगा गाडी र बाक्ला ओछ्यानमा मालिकसँग सुत्ने टमीहरु फलफूल र ड्राइफूडको सोखिन भइसके । समयसँग मान्यता बदलिनु प्रकृतिको अर्को नियम हो । दसैँ धेरै नेपालीका लागि एउटा साझा बिसौनी हो । माया जोड्ने सुपरग्लु हो । यिनै चाडपर्व छन् र त कर्तव्य जीवित छन् । त्यही कर्तव्य लिकमा अनुशासन हिँडेको छ । सानाले ठूलाबाट लिने आशीर्वादभित्र एउटा सिङ्गो समय छ । मङ्गल धुनसँगै बीस सय आयुका लागि गरिने कामना आफैँमा ठूलो कमाई हो ।

दसैँ त्यसै दसैँ भएको होइन । न गर्मी, न जाडोको शारदीय मौसम । मान्छेअनुसारका योजना । बहानाबाजी गर्नेका दसैँ त झन् खुँदो सावित हुने गर्छ । साहु दसैँ तेर्स्याएर  ऋण उठाउन तम्सिन्छ । आसामी दसैँ निहुँ बनाएर उम्किने बहाना खोज्छ । सरकारी कार्यकालमा जानुस्, दसैँका नाममा अस्तिनै खातापाता मिलाएर काम हुन छोडिसक्यो । स्कुलमा आग्लो लागेको निक्कै समय घर्किसक्यो । न्यायालय दसैँको दुईहप्ते छुट्टीमा निमग्न छ । जीवनजलमा रस भेट्नेहरू ग्राहकको खोजीमा लागिसके । सगुनका नाममा तीनपाने र चारपानेका स्वादहरू चेली, माइतीको सम्झनामा बाफ बनेर तप्कन थालिसके ।

प्रविधिको प्रतापले के गाउँ, के शहर, के घरदेश, के परदेश सबै ठाउँ एकाकार भएको छ । खीर, कुराउनी, चाम्रेलाई गाउँघरसम्मै पिजा, बर्गर, स्याण्डवीचले विस्थापित गरिसकेका छन् । अब मासु हैन चिकेन, मटन, पोर्कका भेराइटीले घर गरिसकेका छन् । शहरका चोकगल्लीमा चिकन र गाउँका पाखापखेरामासमेत पानीपुरीका लागि किशोरकिशोरीको उदेकलाग्दो भीड देखिने गरेको छ । युट्युबमा हेरेर कपाल काट्ने, लुगाको डिजाइन छान्ने पुस्ता हावी हुन थालिसकेको छ । जसले देशलाई आमा नभएर रहर फुलाउने ट्रान्जिट ठान्छ ।

कर्म नभई भाग्य फुलाउने रहरले भाषणमा जति आत्मनिर्भर देखिन्छ, भोगाइमा भने मुलुक भारत र चीनको शोरुम बन्दै गएको छ । दसैँमा जसले जसलाई जति आशीर्वाद दिएपनि ढर्रा फेरिएन । बाउको आशीर्वाद लिएर मुन्टो हल्लाए पनि आफ्ना बाउआमा जस्तो इमानी हुने साहस न छोराले गरे, न छोरीले । पहिला गाउँमा साना घरभित्र धेरै सदस्य थिए । पर्खाल बन्दिलो थिएन, एकताको साङ्लो प्रबल थियो । सानो ढोकाभित्र निहुरिएरै धेरै मान्छे छिर्थे । अहिले शहरमा ठूला ढोका छन् तर छिर्ने मान्छे छैनन् । आफ्नैसँग हार्दिकता छैन । अब धेरै कुर्न पर्दैन टीका, आशीर्वाद भिडियोबाट दक्षिणा डिजिटल पे बाट भुक्तानी भएको खबर आउने छ ।

पहिला पहिला थोरै आयस्ता, थोरै प्राप्तिबाट धेरैको सदिच्छा पूरा गर्नुपर्ने बाध्यता थियो । घुँडा टालेको मयलपोस सुरुवाल लगाउने बाउले एकदर्जन सन्तानको व्यवस्थापन गर्थे । जात्रामा मजेत्रो पाएका साइँली, काइँलीले दसैँको भाग पाउँदैनथे । तीजमा धोती जुरेका हजुरआमा, आमा र काकीका लागि दसैँ आउँदैनथ्यो । दसैँमा जसले जुत्ता र कमिज पाउँथे, तिनीहरूका भागमा जाडो छल्ने खद्दरका बाक्ला कमिजसँग भेटघाट हुँदैनथ्यो । जेठा, माइला दाइले सानै उमेरमा बाउन्न लात, त्रिपन्न ठक्कर खाएर घर व्यवहारमा बाउसँगै साझेदार बन्नुपर्थ्यो । घरैपिच्छेको सामाजिक अर्थशास्त्र यही थियो । आमाले भाग लगाएर दिएको हरेक चीज भगवानको प्रसादजस्तो हुन्थ्यो ।

घरभित्रको अनुशासन समाज हुँदै राज्यमा फैलिएको थियो । विकृतिलाई संस्कृति बनाउने दुष्प्रयास हम्मेसी कसैले गर्दैनथ्यो । अहिले जिन्दगीको मेनु नै फेरिएको छ । न मीठोले कोही सन्तुष्ट हुन्छ, न राम्रोले कसैलाई फ्रेस बनाउँछ । दुःख रोपेर सुख खोज्ने विडम्बनापूर्ण पात्र बन्दैछ मान्छे !

जिन्दगी भनेको झरनाजस्तै हो, अरुले सुन्दर देख्छन् तर ढुंगामा बजारिनुको पीडा आफैँलाई मात्र थाहा हुन्छ । अझ यो कली हो, यहाँ कसम खानेले नभई रक्सी खानेले साँचो बोल्छ, नोट देख्दा सबै अघि सर्छन् चोट देखेपछि पछि सर्नेको जमात गनेर साध्य हुन्न । मन दुखाएर होइन, मन बुझाएर कटाउनु पर्छ समय । बच्नुपर्ने सानोतिनो गल्तीबाट नै हो, मान्छे पहाडसँग नभएर ठोक्किने ढुंगासँग हो ।

अन्ततः बुझ्नुपर्ने सत्य के भने हामी सबै यो पृथ्वीका पाहुना हौँ, मालिक होइन । निधारमा के लेखिएको हुन्छ नभोग्दासम्म कसैलाई थाहा हुन्न । हाँसेको आफ्नै तस्वीर हेरेर हरेक रात रुनुपर्ने पात्र यही धरामा भेटिन्छन् । स्कुलको परीक्षा जस्तो हुँदैन जिन्दगीको परीक्षा । यसलाई घोकेर नभई सोचेर समाधान गर्नुपर्छ । राम्रो दिनको प्राप्तिका लागि नराम्रो दिनसँग लड्नुपर्छ । भाग्यको किताबमा लेखिएका धेरै पाना जिन्दगीले च्यातिदिन्छ ।

आखिर जिम्मेवारीको बोझ, परिवारको सोच र धनको खोजमा मानवयात्रा सकिने रहेछ । भनिन्छ– पसिना र आँसु कहिल्यै झुटो हुन सक्दैनन् किनकी पीडा नभई आँसु झर्दैन र दुःख नगरी पसिना बग्दैन । मान्छेले घर बदल्छ, साथी बदल्छ तर पनि दुःखी नै हुन्छ, किन थाहा छ ? उसले आफूलाई बदल्न सक्दैन ।

 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ४५ बजे

भ्रष्टाचारीलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको

सालझण्डी–ढोरपाटन खण्ड : १४ वर्षमा ३० प्रतिशत काम

बागलुङ- सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र

युरो २०२५ को ‘ड्र’ सार्वजनिक

काठमाडौं – स्वीट्जरल्याण्डमा अर्को वर्ष हुने युरो २०२५ को समूह

म्याग्दीमा बगैँचाबाटै सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैँचाबाट सुन्तला बिक्री हुन

बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण

काभ्रे– गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति