६० वर्षअघि आजकै दिन भएको थियो अमेरिकी राष्ट्रपति केनेडीको हत्या, को थिए हत्यारा ? « Khabarhub

६० वर्षअघि आजकै दिन भएको थियो अमेरिकी राष्ट्रपति केनेडीको हत्या, को थिए हत्यारा ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

६० वर्षअगाडि आजकै दिन अमेरिकका ३५ औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । सन् १९६३ नोभेम्बर २२ का दिन टेक्सस राज्यको डालसमा उनको गोली हानी हत्या गरिएको थियो ।

राष्ट्रपति केनेडीको हत्या भएको घटनालाई अमेरिकामा २० औँ शताब्दीकै सबैभन्दा सनसनीपूर्ण राजनीतिक घटनाका रुपमा लिने गरिन्छ । उनको हत्या भएको घटनाले त्यसबेला अमेरिकामात्रै नभई पूरा विश्व नै चकित र स्तब्ध भएको थियो ।

यसरी भएको थियो केनेडीको हत्या

सन् १९६३ नोभेम्बर २१ कादिन अमेरिकी राष्ट्रपति केनेडी श्रीमती ज्याकलिन र उपराष्ट्रपति लिण्डन बी जोनसनसँगै २ दिने टेक्सस भ्रमणमा निस्केका थिए । नोभेम्बर २२ को बिहान झरी परिरहेका बेला उनले फोर्ट वर्थस्थित आफू बसेको टेक्सस होटेलको पार्किङ लटमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

हत्या हुनु केही घण्टाअघि फोर्ट वर्थमा सम्बोधन गर्दै रष्ट्रपति केनेडी तस्वीर- रोयटर्स

त्यसपछि उनी डालस जानका लागि नजिकैको कार्सवेल हवाइअड्डातर्फ लागे । केनेडी राष्ट्रपतीय जहाज एअर फोर्स १ बाट १३ मिनेटको उडानपछि डालसस्थित लभ फिल्ड विमानस्थल पुगे । समर्थकहरुसँग केही समय हात मिलाएपछि केनेडी दम्पत्ति त्यहीँ नजिकै रोकिराखेको मोटरमा चढे ।

डालसस्थित लभ फिल्ड विमानस्थलमा समर्थकहरुसँग केनेडी दम्पत्ति/तस्वीर-रोयटर्स

टेक्सस राज्यका गभर्नर जोन कोनली र उनकी श्रीमती नेली त्यही मोटरको अघिल्तिरको सिटमा बसेर उनीहरुलाई पर्खिरहेका थिए । डालसमा त्यस बेला पानी पर्न रोकिएकाले उनीहरु चढेको मोटरको छत हटाइएको थियो । उपराष्ट्रपति जोनसन भने अर्को मोटरमा सवार थिए ।

उनीहरुले त्यही मोटरमा १० माइलको यात्रा गर्ने तय भएको थियो । उनीहरुलाई स्वागत गर्न सडकभरी हजारौँ मानिसहरुको भीड जम्मा भएको थियो । करिब साढे १२ बजेतिर उनीहरुको मोटर मेन स्ट्रिटको डेली प्लाजाबाट टेक्सस स्कुल बुक डिपोजेटरीतिर मोडियो । उक्त डेपोजेटरी पुग्दै गर्दा एक्कासी गोली चल्न थाल्यो ।

राष्ट्रपतिको टाउको र घाँटीमा गोली लाग्यो भने गभर्नरको ढाडमा पनि गोली लाग्यो । राष्ट्रपतिको मोटरसँगै अर्को मोटरमा सवार उपराष्ट्रपति जोनसनलाई हृदयघात भयो । आठ वर्षअघि पनि उनलाई त्यसैगरी हृदयघात भएको थियो ।

गोली लागेका राष्ट्रपति सवार मोटर नजिकैको पार्कल्याण्ड मेमोरियल अस्पतालतर्फ तीव्र गतिमा हुँइकियो । उनको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । राष्ट्रपति केनेडीलाई १ बजे मृत घोषित गरियो । गम्भीर घाइते भएपनि गभर्नर कोनली पछि गएर स्वस्थ भए ।

राष्ट्रपतिको मृत शरीरलाई वाशिंटन लैजान लभ फिल्ड विमानस्थलमा पुर्‍याइयो । केनेडीको मृत शरीरलाई वाशिंटन लैजादै गर्दा विमानभित्रै उपराष्ट्रपति जोनसनलाई २ बजेर ३८ मिनेटमा नयाँ राष्ट्रपतिको सपथ खुवाइयो ।

पछि नोभेम्बर २५ का दिन राजकीय सम्मानका साथ आर्लिङ्टन स्मारक समाधिस्थलमा उनको अन्त्येष्टि गरियो । उनको अन्त्येष्टि सभामा १ सय भन्दा धेरै मुलुकका राष्ट्र एवम् सरकार प्रमुखको उपस्थिति रहेको थियो भने अन्य लाखौँ मानिसले टेलिभिजनमार्फत् उनको प्रत्यक्ष प्रसारण हेरेका थिए ।

को थिए हत्यारा ?

केनेडीलाई संदिग्ध कम्युनिष्ट कार्यकर्ता एवम् अमेरिकी सेनाको मरिन कोरका पूर्वसैनिक ली हार्भी ओस्वाल्डले गोली प्रहार गरेको विश्वास गरिन्छ । केनेडीमाथि गोली प्रहार हुनेबित्तिकै सुरक्षाकर्मीले ओस्वाल्डलाई गिरफ्तार गरेका थिए ।

ली हार्भी ओस्वाल्ड डालस प्रहरीको हिरासतमा/ तस्वीर-पीबीएस

अमेरिकी संघीय जाँचबुझ ब्युरो तथा राष्ट्रपति जोनसनले गठन गरेको वारेन आयोगले पनि घटनामा ओस्वाल्डकै संलग्नता रहेको पुष्टि गरेको छ ।

पछि २४ नोभेम्बरका दिन डालस प्रहरी मुख्यालयबाट लैजाँदै गर्दा स्थानीय रात्रिक्लबका साहु ज्याक रुबीले ओस्वाल्डमाथि गोली प्रहार गरेका थिए । गोली लागी घाइते भएका उनको पछि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : ३३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी