काठमाडौँ– केही समययता विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपालमा पनि पर्न थालेको छ । यहाँका वित्तीय संस्था, सहकारी, उद्योग, व्यापार, मिडिया सबै क्षेत्र प्रभावित भएका छन् । अब यो आर्थिक मन्दीको असर निजी अस्पतालभित्र पनि छिरेको छ ।
कोरोना कालमा ठूलो लगानीमा सञ्चालनमा आएका काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रका धेरै निजी अस्पताल अहिले बन्द हुने अवस्थामा पुगेका छन् ।
अचेल निजी अस्पतालमा बिरामीको संख्या घट्न थालेको छ । पहिले दैनिक सयौँको भीड हुने ओपीडी सेवामा अहिले बिरामीहरु आउन छाडेको चिकित्सकहरू बताउँछन् ।
केही अस्पतालको उदाहरण हेरौँ–
दुई वर्षअघिसम्म वार्षिक करिब एक अर्ब रुपैयाँसम्म आम्दानी गर्ने ललितपुरको स्टार अस्पताल अहिले ४५ करोडमा सीमित भएको छ । सो अस्पतालले सन् २०२१ मा ९० करोड ३० लाख र सन् २०२२ मा ७४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, अहिले यो अस्पतालको आम्दानी घटेर सन् २०२३ मा ४५ करोड १० लाख रुपैयाँ कायम भएको अस्पताल स्रोत बताउँछ । दुई वर्षको अवधिमा सो अस्पतालको आम्दानी ४९.७२ प्रतिशत घटेको छ ।
स्टारजस्तै अहिले अधिकांश अस्पतालहरूको आम्दानी घटेको छ । काठमाडौंको ग्रिनसिटी अस्पतालका सीईओ लोकबहादुर टण्डन पनि अस्पतालमा अहिले आर्थिक मन्दीको असर परेको स्वीकार्छन् । आजभन्दा ११ वर्षअघि करिब १५ करोडको लगानीमा १ सय शय्याबाट सञ्चालनमा आएको ग्रिनसिटी अस्पतालले शय्या थप्ने योजना बनाएको तर आम्दानीको आश नरहेको सीईओ टण्डनले खबरहबलाई बताए ।
यी दुई अस्पताल त उदाहरण मात्रै हुन् । नाम चलेका मेडिसिटी, नर्भिक अस्पताल, फ्रन्टलाइन, ग्राण्डी लगायतका निजी अस्पतालहरू पनि घाटामा रहेका समाचारहरू बेलाबेला आउने गरेका छन् । साना अस्पतालहरूको त कुरै नगरौँ । अहिले अधिकांश लगानीकर्ताहरूको अवस्था खस्केको निजी अस्पतालहरूको छाता संस्था अफिन नेपालका सचिव पंकज खतिवडाले सञ्चार माध्यमलाई बताउँदै आएका छन् ।
अस्पताल खोल्ने होडबाजी
पछिल्ला वर्षहरूमा नेपालमा निजी क्षेत्रबाट सञ्चालन हुने अस्पतालको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७९-०८० मा देशभर ४ सय ६९ वटा निजी अस्पताल थपिएको ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ को तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७९-०८० मा देशभर निजी अस्पतालको संख्या २ हजार ५ सय ५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा नेपालमा २ हजार ८२ वटा र आर्थिक वर्ष २०७८-०७९ मा २ हजार १ सय ५५ वटा निजी अस्पताल थिए ।
हाल प्रदेश अनुसार हेर्दा बागमतीमा मात्रै १ हजार ५ सय ३६ निजी अस्पताल छन् । मधेशमा २ सय ५० वटा छन् भने लुम्बिनीमा २ सय ३४ वटा निजी अस्पताल छन् ।
त्यस्तै कोशी प्रदेशमा २ सय १७, गण्डकीमा १ सय ५७, कर्णालीमा ७५ र सुदूरपश्चिममा ८२ वटा निजी अस्पताल छन् । यो तथ्यांक हेर्ने हो भने पछिल्लो समय निजी अस्पताल खोल्ने होडबाजी नै चलेको देखिन्छ ।
जोखिममा लगानी
उसो त स्वास्थ्य क्षेत्र नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने हो । तर, हरेक क्षेत्र कुनै न कुनै किसिमले नाफासँग जोडिएको हुन्छ । निजी अस्पतालको उद्देश्य पनि नाफा कमाउने नै हो । अहिले अर्थतन्त्रमा देखिएको मन्दीका कारण चेकजाँच गर्नेहरू अस्पताल नआउँदा स्वास्थ्य संस्थाहरूको आम्दानी घटेको अस्पताल सञ्चालकहरू बताउँछन् ।
दुई वर्षअघि अर्कैबाट किनेर अस्पताल चलाइरहेका निम्स नेशनल अस्पताल दमक झापाका सञ्चालक उमाकान्त आचार्यले अस्पतालबाट पछिल्लो समय कुनै आम्दानी नरहेको र सेवामुखी मात्रै भएको बताए । ‘अब सरकारले स्वास्थ्य संस्थाहरूलाई पनि सहुलियत ब्याजमा ऋण लगानीको व्यवस्था गर्नुपर्छ’ आचार्यले भने ।
सरकारी अस्पताल सुधारको प्रभाव
निजी अस्पताल भन्दा सरकारी अस्पतालमा उपचार गराउन सस्तो पर्छ । तर, सरकारी अस्पतालमा बिरामीलाई पालो पाउन गाह्रो हुने, कतिपय बिरामीले उपचारको पालो कुर्दै ज्यान गुमाउनुपर्ने जस्ता गुनासा हामीले सुन्दै आएका थियौं । तर, पछिल्लो समय शहरका नाम चलेका सरकारी अस्पतालको स्तर राम्रो र निरन्तर सुधारोन्मुख छ । यसको प्रभावले गर्दा पनि निजी अस्पतालहरू सुक्न थालेको कतिपयको बुझाइ छ ।
योग्य डाक्टर, अत्याधुनिक उपकरण र औजार, सर्वसुलभ सेवा, खुला ठाउँ लगायतलाई मापदण्ड मान्ने हो भने सरकारी अस्पताल पनि अब्बल छन्। अहिले विशेषज्ञ सेवा दिने तृतीय श्रेणीका केन्द्रीय सरकारी अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू भैसकेको छ। यसले गर्दा सरकारी अस्पतालमा निरन्तर प्रतिस्पर्धात्मक सुधार भइरहेको छ।
त्यस्तै प्रदेश र स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा पनि सरकारले बिस्तारै सुधार गर्दै गइरहेको छ । दुर्गम क्षेत्रका गम्भीर बिरामी र गर्भवतीका लागि पनि राम्रो व्यवस्था गरेको सरकारी चिकित्सक बताउँछन् ।
जनशक्तिको चिन्ता
पछिल्लो समय युवा जनशक्ति बाहिरिने क्रम बढ्दो छ । यसको असर पनि स्वास्थ्य क्षेत्रमा परेको सरोकारवालाहरू बताउँछन् । लाखौं लगानी गरेर चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सक स्वदेशमा भविष्य नदेखिएको भन्दै विदेश जान थालेपछि निजी अस्पतालले जनशक्ति नै पाउन छाडेको अफिनका सचिव पंकज खतिवडाको भनाइ छ ।
अहिले धेरै अस्पतालहरूमा बीमाको कठिनाइ उत्पन्न भएको खतिवडा बताउँछन् । भनेको समयमा बीमा नवीकरण नहुने र सरकारले विभिन्न सेवाहरू थप्न खोज्दा स्वीकृति नदिने गरेका कारण समस्या आएको उनी बताउँछन् ।
नर्सिङका कक्षाका लागि अनुमति माग्दा सरकारले नदिएको खतिवडाको गुनासो छ । ‘कोशी प्रदेशमा मेरो आफ्नै अस्पताल छ, मैले ११ वर्षदेखि सय बेडको शय्याकाे अस्पताल चलाइरहेको छु,’ उनी भन्छन्, सबै मापदण्ड पूरा गरी नर्सिङ अध्यापनका लागि अनुमति मागेको वर्षौँ भइसक्यो, अहिलेसम्म पाएको छैन ।’
अस्पतालमा बिरामीका आफन्तले गर्ने आन्दोलन र चिकित्सकमाथिको हमलाका कारणले पनि निजी स्वास्थ्य संस्थाहरू प्रताडित बनिरहेको खतिवडाको गुनासो छ । उनी भन्छन्, ‘उपचारका क्रममा कोही बिरामीको मृत्यु भयो भने त्यसको सबै दोष अस्पताललाई नै दिने प्रवृत्तिले पनि निजी अस्पताललाई असहज भएको छ ।’
ग्रिनसिटी अस्पतालका सीईओ टण्डन युवा चिकित्सकहरू बाहिरिएकोमा चिन्तित छन् । उनी भन्छन्, ‘जुन रूपले अहिले युवा शक्ति बाहिरिएको छ, यही अवस्था रहने हो भने सरकारले ठूलो क्षति बेहोर्नुपर्छ ।’
प्रतिक्रिया