भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि पुननिर्माण गरिँदै | Khabarhub Khabarhub

भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि पुननिर्माण गरिँदै


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ ।

सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । 

भूकम्पपछि त भवनका धेरै संरचना क्षतविक्षत भएका छन् । भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोनाअघि नै बनाउने तयारी भएको थियो तर कोरोना महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन । भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि-फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्कीले बताइन् ।

भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमा समेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन । प्राधिकरणले २०७८ पुसमै छ वर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ । प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले रु ६५ करोडको लागतमा भवन बनाउन लागेको हो ।

सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि आँखा लगाएका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौलागाईँले सुनाए ।

भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको आयोजना बैंकसँग रु ६९ करोड माग गरिएको छ । आयोगको प्रक्रिया पूरा गरी बजेट मागको कागजात अर्थमन्त्रालय पुगेर बन्ने निश्चित भएको जनाइएको छ । भूमिगत पार्किङसहित सात तले भवनका लागी माटो परीक्षण र ड्रइङ, डिजाइनको काम सकिएर ठेक्का भई छनोटको क्रममा रहेको उनले बताए ।

केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालिम दिन्छ । केन्द्रका लागि विसं २०२२ मा बबरशम्शेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो । जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ । एक सय वर्षभन्दा पुरानो भवन भएकाले यस विषयमा पुरातत्व विभागले पनि अध्ययन गरेर पुनःनिर्माणको अनुमति दिएको केन्द्रले जनाएको छ ।

राणाकालीन यो दरबार ‘एनइओ क्लासिकल’ प्रकारको हो । अब बन्दा भने यस्तै भवन नबन्ने सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर निशा केसीले बताइन् । अब भने यो भवन आधुनिक र ‘न्यू क्लासिकल’ स्वरुपमा बन्ने गरी डिजाइन गरिएको उनले सुनाइन् ।

प्रशिक्षण केन्द्र भवनको ऐतिहासिकता

 पुरानो भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी पूर्वमुख्य प्रशिक्षक सीता रेग्मीले जानकारी दिइन्। २०१९ साल मङ्सिर १ गते स्थापना भएको केन्द्र सुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो ।

राणाकालमा चन्द्रशम्शेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो । विसं २०७० मा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको थियो ।

हुलाक पुस्तकालय आठ वर्षदेखि बन्द

प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीन तले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रि-फ्याब भवनमा सञ्चालन भइरहेको छ । भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक कार्कीले बताइन्  । भवनमा स्थान अभावका कारण हुलाक र समसामयिक विषयका महत्वपूर्ण पुस्तक रहेको पुस्तकालय बन्द छ ।

 सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन । सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी  तालिम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो ।

केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएकाले आठ वर्षपछि बन्न लागेको हो । भवन निर्माण भएपछि यसलाई बहु सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ ।

हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग, केन्द्र, मुद्रण विभाग, सुरक्षण मुद्रण विभागको प्रशासन शाखालगायत कार्यालय नयाँ बन्ने भवनमा रहने बारेमा हाल छलफल चलिरहेको पनि प्रशिक्षक चौलागाइँले बताए ।

–पूर्णप्रसाद मिश्र रासस

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : २५ बजे

केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा

काठमाडौं- दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७

चीनद्वारा डिजिटल सवारी दर्ता लाइसेन्स जारी

बेइजिङ – चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी