देश/प्रदेश

कपडा पसलमा आगलागी हुँदा लाखौँको सामान नष्ट

By खबरहब

September 23, 2023

सिरहा– सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

विष्णुपुर गाउँपालिका–५ का चन्देश्वर महतोले विष्णुपुर– १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट पसलमा रहेका कपडालगायतका सामान पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।