शान्तिवाटिकामा सारिएका अनसनकारीलाई पैदलयात्रुले ‘भिख’ दिएपछि.... | Khabarhub Khabarhub

शान्तिवाटिकामा सारिएका अनसनकारीलाई पैदलयात्रुले ‘भिख’ दिएपछि….



माइतिघर मण्डलाबाट लखेटिएर धर्ना बस्न रत्नपार्कस्थित शान्तिवाटिका पुगेकालाई पैदलयात्रुले भिखारी ठानेर ‘भिख’ दिएको मनिषा साहले बताइन् । धनुषाकी मनिषा  आफ्नी दिदी आरती साहको न्यायको लागि धर्नामा छिन् । 

दाइजोका कारण हत्या गरेको भन्दै उनको परिवार विगत ६ महिनादेखि माइतिघरमा धर्नामा थिए । तर मंसिर ४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सुरक्षाको कारण देखाउदै निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु शान्तिवाटिका आइपुगेका छन् । 

युवा संघ नेपाल र दुर्गा प्रसाईँको प्रदर्शनमा मुठभेठ हुन सक्ने भन्दै प्रशासनले निषेध गरेपछि माइतिघरमा धर्नामा बसेकालाई रत्नपार्कस्थित शान्तिवाटिकामा ल्याएर राखिएको छ । तर शान्तिवाटिकामा धर्नामा बसेकालाई पैदलयात्रुले भिखारी ठानेर ‘भिख’ दिएको उनीहरूले गुनासो गरेका छन् ।

मनिषाका भाइ प्रेमले शान्तिवाटिका धर्ना बस्न लायक ठाउँ नभएको बताउँछन् । ‘यो न्याय माग्न बस्ने ठाउँ होइन, भिख माग्न बस्ने ठाउँ हो ।’ उनी भन्छन ‘बसपार्क जस्तो ठाउँमा ल्याएर प्रहरीले राखिदिएको छ । जताततै दिसापिसाब भेटिन्छ, दुर्गन्धले बसिसक्नु छैन’ । ग्यास जस्तो दुर्गन्ध  र धुलो उत्तिकै भएकाले माक्स नलगाई बस्न नसकिने उनले बताए । यो ठाउँमा मिडिया र आफूहरूलाई समर्थन गर्नेहरू पनि कोही नआएको उनको गुनासो छ ।

म र बुवा कतै जानुपर्यो भने आमा र बैनीलाई मात्रै यहाँ छोड्न सकिने स्थिति नरहेको दुखेसो प्रेमले गरे । उनको अनुभवमा यो बाटो भएर हिँड्ने मान्छेले यहाँ आइमाई मान्छेलाई राम्रो नजरले हेर्ने रहेनछन् । पुलिस स्वयंले भन्यो यो माइतिघर मण्डला जस्तो सुरक्षित छैन । यहाँ रक्सी जाँड खाएर आउने उनले बताए । महिलासँग कस्तो व्यवहार गर्नुपर्छ, प्रहरीलाईसमेत थाहा नभएको आरोप उनको छ ।  

त्यस्तै, मनिषाका बुवा विनोप्रसादले मंसिर ४ गते बेलुका ८ः३० बजेतिर प्रहरीले निषेधित क्षेत्र बनाएको भन्दै उनीहरूलाई माइतिघर छाड्न आदेश दिएको बताए । सूचना पनि नदिएर त्यहाँबाट उठ्न लगाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । सरकारको आफ्नो काम कर्तव्य होला, तर २४ घण्टा धर्नामा बसेकालाई कहाँ व्यवस्थापन गर्ने भनेर निक्यौल गर्नुपर्छ कि पर्दैन भनेर उनले प्रशासनलाई प्रश्न गरेका छन् । ‘निषेध घोषणा भयो, प्रहरी आएर ल उठिहाल, यहाँ बस्न पाइन्न भन्छ,’ 

प्रहरीले तत्काल माइतिघर छाड्ने आदेश दिएपछि उनीहरु अलमलमा परे । उनीहरुले  त्यो रातको समय दिन अनुरोध गरे । बिहान उज्यालो हुँदासम्म केही उपाय निस्कन्छ कि भनेर, तर प्रहरीले मानेन । त्यही राति उनीहरुलाई प्रहरीले उठाएर भ्यानमा हाल्यो ।

प्रहरीले उनीहरूको ब्यानर र पर्चा च्यातिदिएको भन्दै विनोदले दुःख व्यक्त गरे । भन्छन्, ‘रातको समयमा प्रहरीको त्यो व्यवहार देखेर दुख लाग्यो ।’हामी राज्यद्रोही, देशद्रोही थिएनौ तर पनि प्रहरीले लछार पछार गर्दै दमनमाथि प्रतिदमन गरेको उनले सुनाए ।

न्याय नपाउदाँसम्म सडकबाट नउठ्ने भनेपछि प्रहरीले लछार पछार गर्दै उनीहरूलाई भ्यानमा हाल्यो । अन्य प्रदर्शनकारी दिनभर बसेपनि साह परिवार २४ घण्टे धर्नामा छन् । हाम्रो आफ्नो कहाँ जाने ठेगान नभएपछि प्रहरीले शान्तिवाटिकामा ल्याएर छाडिदिएको उनले बताए । 

त्यसैगरी मनिषाकी आमा निर्मलाले न्याय नपाउँदासम्म सडकबाट नउठ्ने अडान दोहोर्याइन् ।  ‘दिउँसो बसेपनि राति यो ठाउँ बस्न लायक छैन । फेरि यहाँ माइतिघरमा जस्तो प्रहरी पनि खटाइदिएको छैन । सुरक्षित ठाउँ चाहियो भनेर हामीले कसलाई कहाँ भन्ने हो ? तिमीहरु सुरक्षित छौ कि छैनौ भनेर कसले सोध्न आउँछ र हामीलाई ? उनी प्रश्न गर्छिन् ।

यस्तो असुरक्षित ठाउँमा कसैले आक्रमण गर्यो भने को जिम्मेवार हुन्छ, भन्ने उनीभित्र भय छ । ‘हामी आफ्नो छोरीको न्यायको लागि धर्ना बसेका छौ । दाइजोको नाममा अब मधेसमा अन्य छोरीले मर्नु नपरोस् भनेर एउटा सामाजिक न्यायको लागि धर्ना बसेका छौ ।’ यो ६ महिनामा प्रहरी १० पटकभन्दा बढी ज्यादती गरेको उनले सुनाइन् । 

६ महिना बितिसक्यो, हाम्रो आन्दोलन सरकारले निषेध गर्दैमा रोकिने आन्दोलन होइन । हामी नागरिकले आफ्नो अधिकारको लागि धर्ना बस्न पनि नपाउने ? यदि उनीहरूले तोकेको ठाउँ निषेध गरेपछि, अर्को विकल्प दिनुपर्देन ? विकल्पको रुपमा यस्तो असुरक्षित ठाउँमा ल्याएर छोडिदिन मिल्छ ? उनीहरूको प्रश्न छ । 

अब राज्यसँग हामीलाई मार्ने बाहेक उपाय छैन । हामी न्याय नलिई सडकबाट नउठ्ने भएपछि यस्तो असुरक्षित र दुर्गन्धित क्षेत्रमा ल्याएर राखिदियो । यो देश चीन जस्तो क्रूर हो भने हामीमाथि डोजर चलाइदिए हुन्छ । लोकतन्त्र भएको देश हो भने हामी पीडितलाई राज्यले गर्ने व्यवहार यस्तो हुन सक्छ ? भनेर पीडितले प्रश्न गरेका छन् । हाम्रो शान्ति सुरक्षाको लागि खुलामञ्चमा लगेर राखिदिएको भए के जान्थ्यो भन्ने उनीहरूको राय थियो । 

खुलामञ्च किन ‘बन्दमञ्च’ भयो ?

हरेक राजनीतिक परिवर्तनको उद्घोष स्थल खुल्लामञ्चलाई नागरिक अभिव्यक्तिको थलो बनाउन प्रमुख राजनीतिक दलहरूकै निष्क्रियता बढ्दो छ । पार्टीहरुमा टुट, फुट र गुट हावी हुन थालेपछि सार्वजनिक बहसले कम प्राथमिकता पाउने गरेको छ । प्रमुख दलका महाधिवेशन नै व्यावसायिक पार्टी प्यालेसमा  सम्पन्न हुन थालेका छन् ।

खुल्लामञ्चको व्यवस्थापकीय जिम्मेवारी लिएको काठमाडौं महानगर पनि खुल्लामञ्च खुलाउने हतारोमा छैन । खुल्लामञ्च कहिले खुल्छ ? भन्ने खबरहबको प्रश्नमा महानगरका प्रवक्ता नविन मानन्धर खुलामञ्च खुल्ला रहनुपर्ने महानगरको इच्छा भएको बताउँछन ।विभिन्न प्राकृतिक विपत्ति र निर्माण समयमा खुलामञ्च प्रयोग भएकाले त्यसको पुनर्निर्माण गर्ने भनेर हाललाई बन्द गरिएको मानन्धरको भनाइ छ । 

मानन्धरले डिपिआर तयार भैसकेको र अब छिटै टेण्डर खुलाउने बताए । उनी भन्छन्, ‘खुलामञ्च नै त्यो स्थान थियो, जहाँ नेताको भाषणदेखि नागरिकको पीरमर्का सुन्न र सुनाउन सकिन्छ । खुलामञ्च हरेक राजनीतिक परिवर्तनको साक्षी हो ।’ यसलाई जतिसक्दो छिटो निर्माण गरिने उनले बताए ।

खुलामञ्च कहिले स्थानीय निकायले व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको थियो । कहिले ठेकेदारले आफ्नै ढंगले प्रयोग गरेको थियो । खुलामञ्च बचाउन ‘अकुपाई टुँडिखेलका अभियन्ता आन्दोलनमै उत्रिएका थिए । 

नारायणहिटी दरबारदेखि करिब एक किलोमिटर दूरीमा रहेको छ खुलामञ्च । खुलामञ्चबाटै दरबारको हैकमलाई नेताहरू चुनौती दिन्थे । जहाँबाट कयौं नेता जन्मिए । खुलामञ्चबाटै उदाएका नेताहरू आज सिंहदरबारमा रम्दै रमाउँदै छन् ।तर आज त्यही खुलामञ्च तिनै नेताको मौन समर्थनका कारण बन्द भएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  २ : ५८ बजे

लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुखको आग्रह

कम्बोडिया– पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले

आठ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ उपयोगविहीन 

पर्सा– ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानको अभावमा नारायणी अस्पताल

कास्कीको अन्नपूर्णमा ‘हनी हन्टिङ’ महोत्सव

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

भोजपुर– समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको