बदलिएको व्यवस्था, नबदलिएको व्यहोरा | Khabarhub Khabarhub

बदलिएको व्यवस्था, नबदलिएको व्यहोरा



एकपटक हम्मरले साँचोसित भनेछ– ‘साँचो भाइ ! तिमी मभन्दा सानो छौ, तैपनि ठूलठूला ताल्चा सजिलै खोल्छौ, म तिमीभन्दा निकै ठूलो छु, तथापि सानै ताल्चा खोल्न पनि निकै प्रयास गर्नुपर्छ किन होला ?’

हम्मरको कुरा सुनेर साँचोले भनेछ– ‘हम्मर दाजु ! कुरो सामान्य छ । खासमा ताल्चा मैले खोलेको होइन, ऊ आफैँ खुलेको हो । म मित्रता गरी उसको मन जित्ने प्रयास गर्छु । त्यसपछि ऊ आफैँ खुल्छ, मैले केही गर्नै पर्दैन । तर, तपाईं बल प्रयोग गर्नुहुन्छ । यसबाट तन जित्न त सकिन्छ तर मन जित्न सकिँदैन । त्यसैले निकै प्रयास गर्नुपरेको हो ।’

तेस्रो पटक मुलुकको कार्यकारी बनेका पुष्पकमल दाहाल तेस्रो पटकको एकवर्षे कार्यकाल पुगेपछि बल्ल बिहान १० बजे कार्यालय जाने निधो गर्दै हुनुहुन्छ । अर्कातिर भूकम्पको धक्का जितेर बाँचेका भूकम्प पीडितहरु सरकारले दिएको पालमुनि चिसोले जीवन समाप्त गरिरहेका छन् ।

जनता दुखेका बेला फेरि कुर्सीको परेड शुरु भइसकेको छ । सम्भवतः म्युजिकल चियर्सको मादल बजेको छनक पाएपछि प्रधानमन्त्रीले असल विद्यार्थी देखाउन घडी हेर्ने बाचा गर्नुभएको हो ।

नेपालमा सत्ता किराना पसलजस्तै हो । बाहिर हेर्दा सबैथोक देखिन्छ । कार्टुनभित्रका माल कसले कता लैजान्छ, पत्तै हुन्न ।

आँखाको आँसु, चाउरिएको निधार, फाटेको मजेत्रो, काटेको घाउलाई कमेडीको हटकेक मसला बनाइँदैछ । एउटाको कलेजो रेटिएको दृश्य अर्काका लागि माड र जाँड जोहो गर्ने साधन बनेको छ । हेर्दा सबै छन् तर सबैभित्र एक्लो बाँच्नु नेपाली नियति बनेको छ ।

सीताका संरक्षक राम थिए, अपहरित हुँदा एक्लै थिइन् । द्रौपदीका पाँच पति थिए, निर्वस्त्र हुँदा कोही थिएनन् । राजा दशरथका चार पुत्र थिए, सास जाँदा पुत्रविहीन रहे । रावणको लंका राज्य समृद्ध थियो । सेना बलशाली थिए । सुनैसुनको भण्डार थियो । तर लंका खरानी हुन कसैले रोकेन । अभिमन्यू राज खलकका थिए तर चक्रव्यूहबाट छुटाउने कोही भएन ।

हो, नेपालमा तीन करोड जनता छन् । घरैपिच्छे नेता छन् । एकाध किलोमिटरमा प्रदेश छन् । वडा सदस्यदेखि मुलुुकको कार्यकारी प्रधानमन्त्रीको हातमा आईफोन, आईप्याड छ । गाडी घोडा छन् । निजी सचिव छन् । प्रेस सल्लाहकार छन् । ब्रम्हनालदेखि सिंहदरबारसम्म दलका अखडा क्रियाशील छन् । माथिदेखि तलसम्म दिनरात बैठक बसेको बसेकै छ । निर्देशन दिने काम तीव्र भएकै छ ।

आकाश–पाताल जोड्ने योजना छन् । सरकार ढाल्ने र बनाउने पासा मिल्काइएका छन् । अकाल मरेका जनताको लासको धुँवाले आकास धर्ती रंगिरहँदा सत्ताको दाउपेच बाक्लिन्छ । प्रधानमन्त्री हुन पूर्वप्रधानमन्त्रीहरु नै लाइनमा छन् । कुनै योजना छैन, विचार छैन । ठेगानाविनाको चिट्ठीजस्तै लक्ष्यविहीन भागवण्डा छ । अरु देशका राजनेता कुर्सीमा पुगेपछि दुब्लाउँछन् । यहाँ कोमामा पुगेकालाई कुर्सी थमायो भने चोला फेर्छन् ।

चारदशकदेखि एउटै पुस्ताका नेताहरुको राजनीतिक म्युजिकल चियर्समा अविराम सहभागिता छ । जेलनेल, तोडफोड, हत्याहिंसा, लुटपाटको सफल नेतृत्व सत्ता सञ्चालकका न्यूनतम योग्यताभित्र पर्छ । उनीहरुलाई चीन, रुस, अमेरिका, क्यूबा, पेरुका राजनीतिक इतिहास कण्ठ छ । मार्क्स, लेनिन, माओका दर्शन घाँटीघाँटीसम्म अक्षरशः ज्ञान छ । तर, जन्म दिने बाउको धोतीटोपी कुन रंगको पत्तो छैन । आमाले वर्षौंदेखि भोगिरहेको दमव्यथा र गानोगोलाको हेक्का छैन । छोराको सपना थाहा छैन । नातिपुस्ताको भविष्यसँग दरकार छैन । तीनपुस्ताको भविष्यप्रति सचेतता र सजगता नै राजनीतिको पहिलो र अन्तिम गन्तव्य हो भन्ने नर्सरी ज्ञान उनीहरुलाई छैन ।

नेता भनेको तीन करोड जनताको व्यवस्थापक हो । उसले आफ्ना छोराछोरीजस्तै सबै युवालाई शिक्षित र समृद्ध बनाउने बाटो खोल्ने राजनेता बन्नुपर्छ । राजनेताले देशको भविष्य हेर्छ, न कि नेता चुनावको भोटमा सीमित हुन्छ । धानमीलको फित्ता घुमेजस्तै एउटै मनचिन्ते इतिहास बोक्नु भनेको असफल गाथा हो ।

महात्मा गौतम बुद्धले भन्नु भएजस्तै तीनथरि मानिसलाई कहिल्यै बिर्सनु हुँदैन । पहिलो, जसले संकटका बेला साथ दिन्छ । दोस्रो– जसले संकटका बेला साथ छोड्छ र तेस्रो– जसले तपाईंलाई संकटसम्म पुर्‍याउँछ ।

जग रोएका बेला हाँस्नेहरुको भाग्य कस्तो लेखिएको हुन्छ ? चरम भोकले तड्पिएर मर्न आँटेकी बालिकाको मृत्यु पर्खिएर बसेको एउटा गिद्धको फोटो सबैले देखेको हुनुपर्छ । त्यो फोटो यस शताब्दीकै चर्चित फोटोग्राफी हो । सन् १९९३ मा सुडानमा लिइएको यो तस्वीर उतार्ने फोटो पत्रकार थिए– केविन कार्टर ।

फोटो सार्वजनिक भएपछि उनी चर्चाको शिखरमा रहे । यही फोटोले उनलाई पुलित्जर पुरस्कार दिलायो । कार्टरले त्यो सम्मानको आनन्द धेरै समय लिन पाएनन् । फोटो खिचेको केही महिनामा ३३ वर्षको उमेरमा उनले आत्महत्या गरे । दुनियाँभर केविनको ख्याती चलिरहेकै बखत उनलाई फोन गरेर कसैले सोध्यो– ‘फोटो खिचेपछि ती बालिका कुन अवस्थामा थिइन् ?’ उनले जवाफ फर्काए– ‘खै, थाहा भएन। किनकि मेरो फ्लाइट ढिला हुँदै थियो ।’

यो जवाफपछि प्रश्नकर्ताले जंगिँदै भने– ‘त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए । जसमध्ये एउटाको हातमा क्यामेरा थियो ।’ फोटो पत्रकार कार्टरलाई यो संवादले यति विचलित बनायो कि अन्त्यमा आत्महत्या रोजे ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट सही समय बताउँछ । तर, बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मालिकहरुले सहमतिको आवरणमा तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अराजकताको भुँवरीमा फसेको छ । नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन् ।

यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् त कसैले मौन बसेर । बीपी– जीपी, केपी–पीके, मनमोहन–माधव, झलनाथ–बाबुरामदेखि यादव कम्पनीसम्म यस कटु सत्यका पारंगत पात्रहरु हुन् । सत्ता टिकाउन आफूलाई कति बिकाउनु पर्छ भन्ने सत्यबाट कोही अछुतो छैनन् । तर, यो विषयलाई उनीहरुले फगतः कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए ।

अरु त अरु, कम्युनिष्ट पृष्ठभूमिका नेताहरु कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो । नेपालमा चेतनाभन्दा उत्तेजना, विवेकभन्दा आवेग बढी विक्री हुन्छ । अंकमा दुई तिहाईको शक्तिशाली सरकार पनि बने । तर, त्यसको सामथ्र्य परालको खुट्टा जति पनि भएन । यसबाट प्रमाणित हुन्छ कि नेपालमा जनमत नभएर ‘कनेक्सन’ शक्तिशाली हुन्छ । नेपाल मात्र नभएर विश्वमै यो श्रृंखलाले निरन्तरता पाएको देखिन्छ ।

चारदशकअघि विश्व शीतयुद्धतर्फ अघि बढिरहँदा विश्वका आधाजति मुलुकमा कम्युनिष्ट शासन थियो । जति देशमा कम्युनिष्ट शासन थियो, अरु देशको तुलनामा विकासका दृष्टिले ती देश पछि परिरहे । पेरु, कम्बोडिया, फिलिपिन्स, अफ्रिकाका दर्जन मुलुक युद्धमै अल्झिए । उनीहरुले सबै वर्गलाई उचाले । जब तिनीहरुको उपयोगिता सकियो, थचक्कै थेचारे । खै त कम्युनिष्ट शासन आएपछि स्कुलकलेजको शुल्क घट्यो ? उपचार सहज भयो ? हामीले खाने पीठो सस्तियो त ?

सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरफ्लाई ब्राण्डका पारखी हुन पुगे । तर, सिसाको गिलासमा खाँदा रहस्य खुल्ने डरले स्टीलको गिलासमा खाएर जनताको नाममा पाखण्ड ओकल्न भने उनीहरु अझै पछि पर्दैनन् । नेताहरुलाई मात्र के दोष, पदमा आसीन हुनासाथ २, ३ सय किलोका माला लिएर आरती उतार्न तयार हुने कार्यकर्ता पनि उत्तिक्कै जिम्मेवार छन् ।

नेपाली जनतामा यस्तो राजनीतिमेनिया छ कि चना चटपटे बेच्नेलाई पनि सिंहदरबारकै स्वाद छ । यस्तो महामारीमा पनि नेताकै नौटंकी बिकेको छ । पत्रकारको उर्जा नेता पछ्याउनमै खर्च भइरहेको छ ।

घर बन्धकी राखेर खाडीमा बेल्चा चलाउन गएको एउटा श्रमिक युवा थप ऋण खेपेरै भए पनि नेताका नाममा टिकट किनेर पठाउँछ । विमानस्थलमा नेतालाई खादा ओढाउँछ । अन्तिममा नेतासँग कुम जोडेको फोटो फेसबुकमा अपलोड गरेपछि सन्तोषको सास फेर्दै मनमनै मख्ख पर्छ– ‘आफू नेता नभएर के भो, नेता त मैले चलाएको छु ।’

अर्कातिर मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आइफोनको पारखी भएका छन् । अरु त परै छाडौं, एउटा सामान्य म्यासेज पढ्ने र पठाउने कला पनि उनीहरुमा देखिँदैन । हो, देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाएझैँ नेताहरुको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । माओ कि बाइडेन ? यसो भनेर गाई–त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरुको रोजाई बाइडेन पर्नेमा शंका छैन ।

कार्यकर्ताहरुलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ नामको चालीसासम्म कण्ठ गराएका नेताहरुका लागि युरोप, अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् ।

नेताहरुले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्युबा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, जापान, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरु यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ४० बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै