काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना-मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन् ।
नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले बताए।
माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका–२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । जनताको जीवनस्तर सुधार गरेर जानुपर्छ । हामी त्यसमा लागिपरेका छौँ ।’
गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायजस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनको कथन छ ।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अन्य सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताएका छन् ।
‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ’, उनले भने, ‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ । नौवटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।’
पूर्वमन्त्री पुनले आफ्नो पार्टी भ्रष्टाचार, कालोबजारीविरुद्ध निर्ममरूपमा प्रस्तुत भएको समेत उल्लेख गरे । चन्द्रागिरि-२ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो । माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
विगतको कमजोरी सुधार गर्दै माओवादीहरू एक हुने बाटोमा अघि बढिरहेको नेता पुनले बताए । विगतका गल्ती महसुस गरेर माओवादी धारहरूको एकताका लागि प्रयास भइरहेको उनको भनाइ छ । सम्मेलनले सुरेन्द्र तामाङको अध्यक्षतामा माओवादीको २९ सदस्यीय समिति गठन गरेको छ ।
प्रतिक्रिया