अलैँचीको मूल्यमा गिरावट, किसान चिन्तित | Khabarhub Khabarhub

अलैँचीको मूल्यमा गिरावट, किसान चिन्तित


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले जानकारी दिए । 

यस वर्ष चोलन्ती गाउँमा रहेको करिब छ सय मन अलैँची प्रतिमन २४ हजारका दरले मात्र बिक्री भएको उनले बताए। ‘यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य पाएन’, विष्टले भने। अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरू मारमा परेको उनको भनाइ छ । विगतमा राम्रो मूल्य पाएपछि किसानहरूले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा छाएको विष्टले बताए ।

‘अहिले अलैँचीको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था छैन’, उनले भने, ‘मैले यस वर्ष १० मन अलैँची उत्पादन गरे । त्यसको गोडमेल तथा टिप्नका लागि एक सय ५० जना बढी खेताला लगाएको छु । अहिलेको मूल्य हेर्दा उनीहरूलाई दिने पैसा नै नपुग्ने अवस्था छ ।’ मूल्यमा गिरावट आउन थालेपछि कतिपय कृषकले बगान नै गोड्न छाडेको कृषक विष्टको भनाइ छ । यसरी नै मूल्य घट्दै जाने हो भने अलैँचीको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । 

‘पाँच-छ वर्षअघिसम्म अलैँचीको मूल्य राम्रो थियो’, विष्टले भने ,’हामीले नै प्रतिमन एक लाख २० हजारसम्म बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि धान खेत मासेर अलैँची लगाइयो अहिले समस्या भयो । समय फेरियो अब फेरि अलैँचीको विकल्पमा अरू बाली लगाउनुपर्ने अवस्था छ ।’अलैँचीले राम्रो मूल्य पाएपछि विदेश जान छाडेर यही व्यावसायिक खेतीमा लागेको भए पनि मूल्यमा आएको गिरावटको कारण समस्या भएको युवा अलैँची कृषक सुवास विष्टले बताए । 

कुल ११ रोपनीभन्दा बढी जमिनमा खेती विस्तार गरेको भए पनि सोचेजस्तो मूल्य पाउन नसकेको उनको भनाइ छ । ‘स्वदेशमा नै केही गरौँ भनेर व्यावसायिक अलैँची खेती गरिरहेको छु’, कृषक विष्टले भने, ‘मूल्य स्थिर छैन । हामी जस्ता किसानको समस्यालाई ध्यानमा राखेर सरकारले बजारीकरणमा ध्यान दिन आवश्यक छ ।’

 मूल्यमा आउने गिरावट, अलैँचीमा लाग्ने रोग, सुक्खा खडेरीलगायत विविध कारण अलैँचीको उत्पादन घट्दै गएको स्थानीय किसान पुष्कर विष्टले बताए । ‘मूल्यको कारण किसानमा निराशा छ’, उनले भने,’किसानले पहिला जस्तो मिहेनत गर्न छाडेको अवस्था छ । जसको कारण बर्सेनि उत्पादन पनि घटेको अवस्था छ । बर्सेनि मूल्य कमी हुँदै जाँदा खेती विस्तारमा पनि धेरै कृषकहरूले कमी गरेका छन् ।’

पछिल्लो समय अलैँची किसानमा निराशा छाएको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए। अलैँची किसानलाई मूल्यमा आएको गिरावटसँगै रोग, किरा तथा बाँदरका कारण उत्पादनमा समस्या रहेको उनले जानकारी दिए। ‘मूल्यमा आउने उतारचढावका कारण अलैँची किसानमा निराशा छ’, अध्यक्ष प्रधानले भने, ‘मूल्य घटेको कारण किसानको श्रम ज्याला नउठ्ने अवस्था छ । सरकारले यसको उचित मूल्य निर्धारण गरेर बजारीकरणमा ध्यान दिए किसानमा उत्साह थपिने थियो ।’

अलैँचीको उत्पादन पनि कुल बर्सेनि कमी हुँदै आएको उनको भनाइ छ । ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उनले जानकारी दिए। जिल्लामा सात सय १९  हेक्टर क्षेत्र अलैँची खेतीयोग्य जमिन रहेको भए पनि पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ  । केन्द्रका अनुसार  गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो ।

भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा,  हेलौछा, गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य  रुपमा अलैँची उत्पादन हुने गर्दछ । 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ५६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि