यस्तो छ राष्ट्रपति चयन प्रक्रिया | Khabarhub Khabarhub

यस्तो छ राष्ट्रपति चयन प्रक्रिया


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपति उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । सोही दिन अपराह्न ४ बजेभित्र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने र साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ ।

नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास हुँदै आएको छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

राष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८१ कायम छ । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेशसभा सदस्यको मतभार फरक हुने भएकाले सो व्यवस्था गरिएको हो ।

धारा ६२ (१) मा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार सङ्घीय कानूनबमोजिम फरक फरक हुने उल्लेख छ ।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसङ्ख्यालाई सङ्घीय संसद्का सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर सङ्घीय संसद्का सदस्यको मतभार निकालिन्छ ।

कूल जनसङ्ख्यालाई प्रदेशसभा सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिन्छ ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनःमतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।

संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्त हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ ।

सङ्घीय संसद्का सदस्यको कूल मतभार २६ हजार एक सय ४९ र प्रदेशसभा सदस्यको कूल मतभार २६ हजार ४०० हुन आउँछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानूनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछ । राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुनेछ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।

नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन विसं २०६५ साउन ४ गते भएको थियो । उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका पाँच सय ९४ सदस्य मतदाता भए तापनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरेका थिए । उक्त निर्वाचनमा डा रामवरण यादवले दुई सय ८३ र रामराजाप्रसाद सिंहले दुई सय ७० मत मत प्राप्त गरेका थिए । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेकाले साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ र सिंहले दुई सय ८२ मत प्राप्त गरेका थिए । यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

राष्ट्रपतिको पछिल्लो विसं २०७४ मा भएको निर्वाचनमा सङ्घीय संसद्का तीन सय २६ र प्रदेशसभा सदस्य पाँच सय ३६ जनाले मतदान गरेका थिए । उक्त निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरिका थिए । पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : १६ बजे

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई

राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन

 जलेश्वर– यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता

काठमाडौं– नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु, सहयोगको अपिल

काठमाडौं– लगातारको वर्षापछि आएको बाढीपहिरोबाट संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला