मुठ्ठीदान गरेर शिक्षकलाई तलब « Khabarhub

मुठ्ठीदान गरेर शिक्षकलाई तलब


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।

कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । ‘मुठ्ठीदानमार्फत चामल सङ्कलन गर्‍यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने ।

त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए ।

विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । ‘सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ’, उनले भने, ‘अहिले चार सय ५० विद्यार्थी छन् ।’ प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् ।

घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उनीसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए । केही समय उनले निःशुल्क काम गरे । ‘सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाउनुभयो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, ‘छ महिनापछि एक हजार रुयैयाँ तलब तोकिदिएका थियौँ ।’

‘नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरेका हौँ’, अभिभावक निर्मल परियारले भने ।

उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरूप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए । उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे ।

‘उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्’, निरीक्षक भण्डारले भने, ‘विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।’ आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बाल विकास, एक निजी तथा एक जना परिचारिका कार्यरत छन् ।

घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथि पढ्नका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ’, विद्यार्थी लीला चलाउनेले भनिन् , ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले  १० सम्म यही पढ्न पाउन् भन्ने चाहना छ ।’

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : ४५ बजे

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा