सडक कालोपत्र भएपछि बरेङवासी खुसी | Khabarhub Khabarhub

सडक कालोपत्र भएपछि बरेङवासी खुसी


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्थे । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका लागि जिल्ला सदरमुकाम आउनजान गाउँपालिकाकै सवारीसाधनमा समेत एक दिन आउन र जान नै समय व्यवस्थापन गर्नुपर्ने उनलाई समस्या थियो । 

विभिन्न प्रशासनिक काम गर्न आउनेका लागि बरेङका सर्वसाधारणलाई आउनजान मात्रै दुई दिन आवश्यक थियो । अहिले दक्षिण भेगको मुख्य सडकको सुधारसँगै जिल्ला सदरमुकाम आउने समय आधाभन्दा बढी छोटिएको छ । अहिले दुर्गम मानिएको बरेङ पुग्न बागलुङ बजारबाट धेरै सडक कालोपत्र र केही सडक स्तरोन्नति भएपछि  सदरमुकाम आउन सहज भएको छ । निर्माण व्यवसायीको उदाहरणीय कामका कारण ठेक्का सम्झौता गरेको दुई वर्ष नपुग्दै राङ्खानीदेखि बरेङ पुग्ने सडक धमाधम कालोपत्र भएपछि बरेङवासीमा खुसियाली छाएको छ । 

‘पालिकाकै गाडीमा बागलुङ बजार जान अघिल्लो दिन नै साइत गर्नुपर्थ्यो, बिहानै हिँडेर कार्यालय समयमा बागलुङ बजार पुग्न सकिँदैनथ्यो, अहिले पूर्वाधार विकास कार्यालयको रु ३४ करोड लागतमा जैमिनी नगरपालिकाको राङ्खानीदेखि बरेङसम्मको अधिकांश सडक कालोपत्र भइरहेको छ’, गाउँपालिका अध्यक्ष शर्माले भने , ‘पालिकाकै गाडीमा यात्रा गर्दा त आउनजान पूरै एक दिन खर्च हुन्थ्यो, सर्वसाधरणलाई जान र आउन दुई दिन व्यवस्थापन गर्न आवश्यक थियो, अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको छ, बिहानै हिँडेपछि कार्यालय समयमा बागलुङ बजार आउन सकिन्छ ।’

बरेङमा उक्त सडक मात्रै नभएर अन्य ग्रामीण सडकसमेत बर्खामा चल्न सक्नेगरी स्तरीय बनाइएको गाउँपालिका अध्यक्ष शर्माको भनाइ छ । बरेङ गुल्मी जिल्लासँग जोडिएकाले यहाँका जनताले प्रशासनिक कामबाहेक किनमेलका लागि गुल्मी हुँदै बुटवल पुग्ने गरेका छन् । सडक पुगेपछि दुर्गम मानिएको बरेङ बिस्तारै सुगम बन्दै गएकामा स्थानीयवासी खुसी भएका छन् ।

बागलुङदेखि कुश्मिसेरा जाने अधिकांश सडक कालोपत्र भइसकेका छन् भने कुश्मिसेरादेखि राङ्खानीसम्मको सडक ग्राभेल भइरहेको सन्दर्भमा राङ्खानीदेखि बरेङसम्मको सडक भने धमाधम कालोपत्र भइरहेको छ । दुर्गमबाट सुगमतर्फ सडक कालोपत्र भइरहँदा स्थानीयवासी खुसी भएका छन् । 

बरेङ–१ धुल्लु लिउवाका बासिन्दा लीलाधर शर्माले घरअघि नै कालोपत्र सडक आएपछि विकासको महसुस गरेका छन् । ‘कुश्मिसेरा बजारदेखि माथि सडक धुलाम्मे छ, कालोपत्र भएको छैन, तर यहाँ घर अघि नै सडक कालोपत्र भयो, हामीलाई विकासको महसुस कालोपत्र सडक आएपछि भयो, दोस्रो खण्ड कालोपत्र भइसक्दासमेत पहिलो खण्ड कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र हुन नसक्दा समस्या छ, तर त्यो सडकसमेत कालोपत्र भए तीन घन्टामै बागलुङ बजार पुग्न सकिन्छ’, शर्माले भने , ‘पहिला बागलुङ बजार पुग्न एक दिन र फर्कन मात्रै एक दिन लाग्थ्यो, सडकले निकै सहज बनाएको छ, अहिले बिहानै हिँडेपछि १० बजे बागलुङ बजार पुगिन्छ, दिनभर काम गरेर बेलुका घरै फर्किन सक्ने भइयो ।’ 

नेपालमा सम्झौता अवधिभित्रै निर्माण कार्य सक्ने निर्माण व्यवसायी निकै कम छन् । बागलुङको दक्षिण भेगको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक निर्माण व्यवसायीले चार वर्षदेखि कालोपत्र गर्न नसकिरहेको सन्दर्भमा राङ्खानीदेखि बरेङसम्मको दोस्रो खण्डका रुपमा रहेको ११ किमी सडकमा अहिले धमाधम कालोपत्र भइरहेको छ । 

बागलुङको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न जैमिनीको केन्द्र कुश्मिसेरादेखि नाम्दुक राङ्खानी हुँदै बरेङ शान्तिपुर जोड्नका लागि पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमी सडक कालोपत्रका लागि छुट्टाछुट्टै मितिमा ठेक्का लगाएको थियो । दोस्रो खण्ड कालोपत्र भएर सडकका कारण स्थानीयवासीको दैनिकी नै फेरिएको भए पनि तल्लो खण्डको काम सन्तोषजनक नभएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिए ।

‘कुश्मिसेरादेखि राङ्खानी पुग्ने १० किमी सडक चार वर्षमा कालोपत्र भएको छैन, तर राङ्खखानीदेखि कुश्मिसेरा पुग्ने ११ किमी सडकमा ठेक्का सम्झौताको दुई वर्ष नपुग्दै धमाधम कालोपत्र भइरहेको छ’, सुवेदीले भने, ‘दुवै खण्ड कालोपत्र भएमा बरेङ पुग्न कुश्मिसेराबाट एक घन्टा मात्रै लाग्नेछ ।’

अहिले राङ्खानीदेखि बरेङसम्मको ११ किमी सडकमध्ये तीन किलोमिटर सडक ढलान र चार किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी चार किमी सडकमा धमाधम कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ । राङ्खखानीदेखि बरेङसम्मको ११ किमी सडक पूर्वाधारसहित कालोपत्र गर्न २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी-धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । 

पूर्वाधार कार्यालयअन्तर्गत कालोपत्र गर्न निर्माणको चरणमा रहेका छन् । सडकमध्ये सबैभन्दा पछि ठेक्का खोलिएको राङ्खखानी–बरेङ सडकको नै हालसम्मको प्रगति सबैभन्दा बढी रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार सडकको हालसम्म ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । 

विसं २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी ठेक्का लगाएको कुश्मिसेरा–राङ्खानी सडक भने ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दासमेत १० किमी सडकको भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

जिल्लाभर सञ्चालित छ ठूला सडकमध्ये राङ्खानीदेखि बरेङसम्मको सडक कालोपत्र भइरहेको छ भने २०७७ सालमा ठेक्का सम्झौता गरेको गलकोटदेखि ताराखोला पुग्ने सडक सम्झौता मिति सकिएपछि कालोपत्रको काम सुरु भएको छ ।

– खेमराज गौतम रासस

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १ : ५९ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट