अझै फरार छन् एमाले सांसद् लक्ष्मी महतो कोइरी, के भन्छ प्रहरी ? | Khabarhub Khabarhub

अझै फरार छन् एमाले सांसद् लक्ष्मी महतो कोइरी, के भन्छ प्रहरी ?


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै सांसद बने । तर, उनको यो खुसी धेरै दिन टिक्न नै पाएन ।

१९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो ।

उनी कानुनी छिद्रबाट संसद त बने, तर संसदीय यात्रामा भने सहभागी हुन पाएनन् । अन्ततः १९ वैसाख २०८० मा उनकै पार्टी एमालेबाट सभामुख बनेका देवराज घिमिरेले उनलाई सांसद पदबाट नै निलम्बन गरे । मनोनयन समेत वारेसनामा मार्फत् दर्ता गराएका कोइरीले निर्वाचित भएको प्रमाणपत्र समेत आफूले लिन पाएनन् ।

…त्यसपछि फरार भए लक्ष्मी महतो कोइरी

मधेस आन्दोलन हुँदै गर्दा २५ भदौ २०७२ मा मधेसी मोर्चाका कार्यकर्ताले असई थमन विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका लागि लैजाँदै गर्दा घाइते विकलाई एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर विभत्स हत्या गरेको कोइरीमाथि आरोप लागेको थियो । यही प्रकरणअन्तर्गत जनकपुर उच्च अदालतले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको हो । तर, उनी आदेश सुनाएको २०७७ देखि नै फरार छन् । सांसद बनिसकेपपछि पनि पक्राउ पर्ने डरले उनी भूमिगत अवस्थामा छन् । न उनलाइ सुरक्षाकर्मीले प्रक्राउ गर्न सकेको छ, न त पक्राउ गर्न राज्यले चासो देखाएको छ ।

जनप्रतिनिधिविहीन महोत्तरी–१

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १०३० मतले पराजित गर्दै लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका कोइरीको बाक्लै आलोचना भएपछि उनी संसद बैठकमा सहभागी नै भएनन् । फरार अभियुक्त कोइरीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने दबाब बढेपछी एमालेको सिफारिसमा सभामुख घिमिरेले उनको सांसद पद निलम्बन गरेका थिए । त्यसयता महोत्तरी क्षेत्र नम्बर १ सांसदविहीन बनेको छ । यो क्षेत्रबाट संसदीय नेतृत्व नै नभएपछि विकास निर्माणका कामहरु समेत चलायमान हुन नसकेको स्थानीय बताउँछन् ।

यसरी बने कोइरी एमालेको हतियार

माओवादी केन्द्रको आधार इलाका मानिने महोत्तरी क्षेत्र नम्बर १ लाई पहिलेदेखि नेकपा एमाले तोड्न चहान्थ्यो । यसका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको एमालेले लक्ष्मी महतो कोइरीलाई फेला पा¥यो । उनै कोइरी २०७४ को संघीय निर्वाचनमा पनि गिरिराजमणि पोखरेलसँग भिडेका थिए । २०७४ को निर्वाचनमा गिरिराजमणि पोखरेलले २३ हजार ७ ७६ मत ल्याउँदा लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएका थिए ।

संगठनिक संरचना नै नभएको संघीय समाजवादी फोरमबाट चुनावी मैदानमा होमिएका कोइरीले यति धेरै मत ल्याएपछि नै नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर वारेसनामा मार्फत् मनोनयन दर्ता गराएको भए पनि एमालेले भने १ वर्षदेखि गृहकार्य गरेको एमालेका युवा नेता गुरु भट्टराई बताउँछन् । माओवादी हराउने अभियानअन्तर्गत कोइरीबाहेक बलियो अस्त्र नेकपा एमालेले अरुलाई नदेखेपछि उनलाई उम्मेदवार बनाएको हो ।

किन अझै फरार छन् कोइरी ?

निर्वाचित भएको ९ महिना बितिसक्दा पनि लक्ष्मी महतो कोइरी अझै फरार अवस्थामा छन् । पुर्पक्षको लागि अदालतले जेल चलान गर्ने आदेश जारी गरेसँगै फरार रहेका कोइरी किन अनुसन्धान प्रक्रियामा आउन चाहेका छैनन् भन्ने गम्भीर प्रश्न बनेको छ ।

कतिपयले नेकपा एमालेको निर्देशनमा नै फरार रहेको आंकलन गरेका छन् । तर, कानुन व्यवसायीहरुले भने उनी भूमिगत हुनुले घटनाका दोषी हुन् भन्ने विषयलाई आफैँले प्रमाणित गरिरहेको टिप्पणी गर्छन् । यता एमालेका जिम्मेवार नेताहरूले कोइरीका शुभचिन्तक र परिवारजनलाई यो अवस्थाबाट उन्मुक्ति दिलाएर संसदको भूमिकामा नै फर्काउने आश्वासन दिँदै आएका छन् ।

केन्द्रीय सदस्य जुली कुमारी महतोले कोइरीको गृह गाउँ पुगेर एक कार्यक्रममा उनलाई उन्मुक्ति दिलाएर नै छाड्ने बताइन् । ‘हामी लागिपरेका छौँ, जसरी पनि उन्मुक्ति दिलाएर नै छाड्छौँ,’ उनले भनिन् ।

उनको अभिव्यक्तिलाई हेर्ने हो भने पनि कोइरी एमालेको निर्देशनमा नै भ्रमिगत बनेको आरोप लागेको छ । संसदमा समेत एमालेका रघुवीर महासेठले कोइरी निर्दोष रहेको अभिव्यक्ति दिएका थिए ।

के भन्छ प्रहरी ?

उनी कहाँ छन् भन्ने विषयमा आफूहरुले निगरानी गरिरहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार कोइरीको मोबाइलसमेत ट्रयाक भइरहेको छ । कतिपयले कोइरी गृह ठाउँ निगौलमा नै रहेको बताए पनि त्यसमा कुनै सत्यता नभएको प्रहरीको भनाइ छ । ‘हामी खोजीरहेका छौँ । भेट्नासाथ पक्रन्छौँ,’ गिरीले भने, ‘तर, मोबाइलको लोकेसनअनुसार वहाँ नेपालमा भएको देखिँदैन ।’

उनलाई पक्राउ गर्न यसअघि गृह मन्त्रालयले ७७ वटै जिल्लामा सर्कुलर जारी समेत गरेको थियो । तर, उनी सांसद पदबाट निलम्बन भएपछि सुरक्षाकर्मीले उनलाइ पक्राउ गर्न बेवास्ता गरेको देखिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १ : ४८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि