गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म « Khabarhub

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले ६ हजार ५८४ मत ल्याएर विजयी भएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो । २०४६ सालको जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन् ।

नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । २०४८ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नम्बर ३३ को सचिव बनेका उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित भएका थिए ।

२०५५ सालमा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्‍याएका थिए । २०६१ सालमा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२–६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहे । २०७० सालमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्‍याए । २०७१ सालमा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए ।

२०७३ सालमा स्वास्थ्यमन्त्री भएका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आए ।

२०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा काम गर्दै आए । २०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत निर्वाचित भए ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिएका सभापति थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन् । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका थिए ।

थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन् । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १२ : ०९ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।