राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति | Khabarhub Khabarhub

राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा सो आयोजना निर्माण अघि बढाइएको थियो ।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २०७० मा निर्माण सकिनुपर्ने थियो । विसं २०७४ मङ्सिरमा सम्पन्न गर्नेगरी छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी) ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेको छैन ।

आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म समग्रमा ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तिय प्रगति भएको बताए। “पैँतालिस महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो”, उनले भने, “कोरोना महामारी र विपद्का कारण ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।”

पुरानो ठेकेदार आईभीआरसीएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो । विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको जेपी कम्पनीले हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, छ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र एक सय ९६ मिटर ठाडो सुरुङ निर्माण गरिसकेको छ । अडिट एकबाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ ।

छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म पाँच हजार एक सय ६२ मिटर निर्माण सकिएको छ । एक हजार एक सय आठ मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माण स्थलमा अडिट एक, अधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटहरुबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ ।

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युतगृह निर्माणले निरन्तरता पाएको आयोजनाका व्यवस्थापक गणेश केसीले बताए ।

प्राकृतिक विपद्, कोरोना महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउनुलाई ठेकेदारले ढिलाइको कारण भएको जनाएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ ।

भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । उक्त आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो) को चार टावर तयार भएको छ ।

केही दिनअघि आयोजना निरीक्षण गरेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसँग आयोजनाका अधिकारीहरुले नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्यमा असर पर्न थालेको जानकारी गराएका थिए । सर्वोच्च अदालतले विसं २०७८ असारमा कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी गर्न रोक लगाएको थियो ।

मन्त्री जुग्जालीले राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले म्याग्दी जिल्लालाई मात्र नभएर समग्र देशलाई नै नोक्सानी भएको बताए । वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले थप भएको आगामी एक वर्षभित्र नै आयोजना सञ्चालन हुने वातावरण बनाउन आयोजना, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  २ : ०८ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी