चिनियाँ राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

चिनियाँ राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलबाट आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास आफूले लिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।” नेपाल र चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उनले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताए ।

समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताए । यस पटक आफूले संयुक्त राष्ट्रसङ्घीय महासभामा नयाँ तथा फरक मुद्दा उठाएको प्रधानमन्त्री दाहालले बताए । उनले नेपालको शान्ति प्रक्रिया नयाँ र फरक प्रकृतिको रहेको र यससम्बन्धी सङ्क्रमणकालीन न्यायका कतिपय काम टुङ्ग्याउनुपर्ने कुरा आफूले अन्तरराष्ट्रिय समुदायलाई भनेको बताए । त्यसैगरी जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असरका साथै अति कम विकसित राष्ट्रहरूका मुद्दा पनि आफूले एलडिसीको अध्यक्ष देशका हैसियतमा उठाएको उनले बताए ।

प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण नेपाल–चीन सम्बन्धका विविध आयामहरूलाई थप प्रगाढ बनाउने कार्यमा केन्द्रित रहेको भन्दै आगामी दिनमा सहयोग र समझदारीका क्षेत्रहरू बढ्ने तथा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान थप सुदृढ हुने विश्वास व्यक्त गरे । यो पटक आर्थिक विकास र समृद्धितर्फ देशलाई अगाडि लैजाने बाचासहित आफू प्रधानमन्त्री भएको प्रसङ्ग उल्लेख गर्दै सोहीबमोजिम वर्तमान सरकारले काम अगाडि बढाएको र परिणाम पनि देखा परिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा नेपाल–चीन विजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले  लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गरेका थिए । त्यस अवसरमा उनले भने, “कुनै पनि देशको विकास सरकार आफैँले मात्र गर्न सक्दैन, देशको आर्थिक समृद्धिको ‘इन्जिन’ निजी क्षेत्र भएकाले सहयोग र सहकार्यका साथ अगाडि बढ्न चाहेको कुरा मैले  बारम्बार गरेको छु, आज पनि यहाँ दोहोर्‍याउन चाहन्छु ।”

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ५६ बजे

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ