रविको हातमा खोयो, खोयाजस्तै कुरो ! | Khabarhub Khabarhub

रविको हातमा खोयो, खोयाजस्तै कुरो !


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 10 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरामा भाषण गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सामुन्ने शनिबार कतैबाट एउटा खोयो आइपुग्यो । लामिछानेले मञ्चमा देखाए अनुसार खोयो कसैले भर्खरै पोलेर खाएको हरियो मकैको थियो । तर, खोयो जसै मञ्चमा पुग्यो, आन्तोन चेखबको चर्चित व्यंग्यात्मक कथा ‘क्यामेलियन’ (छेपारो) कै जस्तै परिदृश्य कार्यक्रमस्थलमा देखियो ।

खोयो कसले फाल्यो ? किन फाल्यो ? पक्राउ परेका व्यक्ति सन्तोष रानाभाटले प्रहरीसमक्ष गरेको वयान जस्तै नियतबस नभएर मकै खाइसकेर फाल्दा अझाटिएर मञ्चतिर पुगेको हो कि ? अथवा, कसैले नियतबस नै लामिछानेलाई तोकेर हानेको हो कि ? पहिल्यै योजना बनाएर खोयाले हानिएको हो वा चर्को भाषण सुन्दैगर्दा एक्कासी रिस उठेर हानिएको हो ? कुनै पुरानो पार्टीले अह्राएर हानिएको हो वा व्यक्तिगत निर्णय थियो ? सद्दे मानिसले खोयाले हानेको हो वा विक्षिप्तले ?

रविले भाषण गरिरहेको ठाउँमा पुगेको खोयो जनआक्रोशकै अभिव्यक्ति हो त ? अथवा यो एउटा बाँदरे प्रवृत्तिको सामान्य उपद्रो मात्र हो ? के यो खोयाले नेताहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठाइदिन सक्छ ? खोयाले दिन खोजेको सन्देश के हो ?

आखिर ढुंगा, जुत्ता वा अरु चिजवस्तुले नहानेर खोयो नै किन प्रयोग गरियो ? कतै यसबाट लाक्षिणक अर्थ पनि दिन खोजिएको हो ? कि यो एउटा काकताली मात्र हो ?

यस्ता विविध प्रश्नको पोयो समयक्रमसँगै खुल्दै जाला । प्रहरीको अनुसन्धान बाहिर आउला । खोयो हानेर प्रक्राऊ परेका युवकका भनाइ पनि बाहिर आउलान् । कामना गरौं– यो खोयो रवि लामिछानेमाथि नियतबस हानिएको नभई मकै खाइसकेर फाल्दा गलत दिशातिर सोझिएको प्रमाणित होस् । किनभने, जसले मञ्चतिर खोयो फाल्यो, उनी रविको भाषण सुन्नैका लागि जाडोको पर्वाह नगरी मकै खाँदै रास्पवाको कार्यक्रममा पुगेका थिए । सायद रविबाट प्रभावित भएरै त्यहाँ गएका थिए ।

यहाँ चर्चा गर्न खोजिएको चाहिँ रविको हातमा रहेको मकैको खोयाको भन्दा पनि खोयाको राजनीतिको हो । खोया जस्तो राजनीतिको हो ।

‘खोयो’ एउटा विम्व

शब्दका तीन प्रकारका शक्ति हुन्छन्– अभिधा, लक्षणा र व्यञ्जना । जस्तो– खोयाको शब्दशक्ति हेरौं :
अभिधा– मकैको घोगाको भित्री डाँठ ।
लक्षणा– यो मान्छे खोया हो ।
व्यञ्जना– यसले खोया खाएछ ।

खोया खानु भनेको घरेलु रक्सी खानु भन्ने अर्थ लाग्छ । घरेलु रक्सी बोतलमा हालेर खोयाको बिर्को लगाइने हुनाले यसलाई ‘खोयाबिर्के’ भनिन्छ । ‘खोयाजस्तो मान्छे’ भनेको चाहिँ काम नलाग्ने मान्छे वा मातेर भिल्लु भएको मान्छे भन्ने अर्थ लाग्छ ।

लाक्षणिक अर्थमा हेर्दा खोयाले हान्नु भनेको कसैलाई मकैको घोगाको भित्री डाँठले हिर्काउनु मात्र होइन, ‘तँ खोयाजस्तै होस्’ है भन्न खोज्नु पनि हो ।

फूलले हान्नु, ढुंगाले हान्नु, जुत्ताले हान्नु, अण्डा वा टमाटरले हान्नु, रंगले हान्नु, लौरोले हान्नु वा खोयाले हान्नु, यी सबै किसिमका प्रहारहरुमा आ–आफ्नै लाक्षणिक अर्थ लुकेका हुन्छन् ।

अब, रवि लामिछानेले मञ्चबाट खोयो देखाउँदै के के भने, त्यसको चर्चा गरौं । उनकै शब्दमा –

‘यो एउटा उपहार हो’

मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु । प्रतिशोध लिएर होइन, शिक्षा लिएर । नेपाली जनताले कत्रो अपेक्षा गरेका छन्, हेर् यदि तैंले बाटो बिराइस् भने आज त खोया, घागा पाइस्, भोलि तैंले बाटो बिराइस् भने के मात्र पाउनेछन् कल्पना गर् भनेर मलाई चेतावनी दिइएको हो । मैले यसलाई सकारात्मक रुपमा लिएको छु ।

म यसलाई तबसम्म सजाएर राख्नेछु, जबसम्म तपाई र मैले देखेको साझा सपना पूरा हुने छैन । तबसम्म जोगाएर राख्नेछु । कुहिन दिन्नँ । झर्न दिन्नँ । हराउन दिन्नँ । जोगाएर राख्नेछु । तबसम्म जोगाएर राख्नेछु, जबसम्म आफूले बोलेका एक–एक शब्द वास्तविकतामा परिणत हुने छैनन् । फ्रेममा लगाएर, जोगाएर राख्नेछु ।

मेरो घरमा मैले संसारले दिएको वल्र्ड रेकर्ड (गिनिज बुक) को सर्टिफिकेट पनि राखेको छैन । तर, मलाई त्यो भन्दा महत्वपूर्ण सर्टिफिकेट आज एकजना साथीले दिएर जानुभयो । मेरो उहाँप्रति अगाध सम्मान छ । जति काम गरें, जति काम गर्न सकें, जति काम गर्नेवाला छु, यसको हिसाब म गर्दिनँ, तपाई गर्नुहोला । यो हिसाब मैले पाएको छु आज ।

मैले पाएँ आज हिसाब । अनवरत नेपाली जनतालाई गरेको सेवा । अनवरत दुःख पीडा अप्ठ्यारो, विभेदमा परेका नेपालीहरुको सेवा । भूकम्प जाओस् कि बाढी आओस्, वस्ती बनाउन जाँदाखेरिको उपहार । भूकम्पमा थिचिएका मानिहरुमा मल्हम पट्टी लगाउन गएको उपहार । विदेशमा बेचिएका चेलीहरुलाई उद्धार गरेको उपहार । अलपत्र युवाहरुलाई गरिएको सहयोगको उपहार । बाढीले बगाएको वस्तीमा घरहरु बनाएको उपहार । सुत्केरी आमाहरु बाटोमै मृत्यु हुनुपर्ने अवस्थालाई चिर्नका लागि दुर्गममा अस्पताल बनाएको उपहार । कोभिडले थला परेका मान्छेहरुलाई आफ्नो ज्यानको बाजी लगाएर अक्सिजनको जोहो गर्दै दिनरात हेरेको उपहार आज मैले पाएको छु । यो उपहार जिन्दगीभरि सम्हालेर राख्नेछु । तबसम्म सजाएर राख्नेछु, जबसम्म आफूले बोलेका कुराहरु पूरा हुने छैनन् ।

नेपाली जनताले आशा र अपेक्षा अनुसार काम पाएनन् भने जनताले विद्रोह गर्छन्, आक्रोश व्यक्त गर्छन् । कोही बोलेर, कोही यसरी । जसरी गरे पनि स्वीकार गर्न सक्नुपर्छ । एउटा ठूलो पाठ आज मलाई कास्कीले दिएको छ । मेरा लागि यो महत्वपूर्ण घटना हो ।

कसैले पनि सानो मन नगर्नुहोला । प्रहरीले समात्नुभएको छ, उहाँ एकजना हुनुहुन्छ, यहाँ यति धेरै मान्छे हुनहुन्छ । एकजना निरीह मान्छेमाथि यति धेरै मान्छे जाइलाग्नु राम्रो होइन । उनले जस्तो जाने, त्यस्तै गरे । यो आक्रोश हो, यसमा अशिक्षा, बेरोजगारी, गरीबी, लुट भ्रष्टाचार, कुशासनको नमूना उहाँले प्रस्तुत गर्नुभएको हो । यसमा उहाँको केही पनि दोष छैन । तपाई भए पनि यही गर्नुहुन्थ्यो, म भए पनि यही गर्थें । जसले जसरी जान्दछ, त्यसरी नै गर्छ । विद्वानले शास्त्र जान्दछ, अविद्वानले सशस्त्र जान्दछ । उहाँले यही जान्नुभो, यही दिनुभो । तर, यो एउटा अभिव्यक्ति, एउटा सिम्बल हो । यसमा केही बेठिक भएको छैन, यो एउटा उपहार हो ।

सुरक्षा निकायका साथीहरुलाई अनुरोध छ, आज मलाई दिइएको फूलमध्ये सबैभन्दा मग्मगाउँदो फूल, सबैभन्दा उत्कृष्ट, राम्रो फूल दिएर उहाँलाई घर पु¥याइदिनुहोला । म उहाँलाई, उहाँको परिवारलाई भेट्न छिटै जानेछु । र, उहाँले कुनै समस्या समाधान नभएर त्यसो गर्नुभएको रहेछ भने म फेरि पनि भन्छु त्यो समस्याको लागि लड्न अग्र पंक्तिमा म आफूलाई उभ्याउनेछु । कसैले केही पनि नगरिकन, न कुनै मुद्दा, न कुनै मामिला, न कुनै प्रतिवाद, न कुनै प्रश्न जस्ताको त्यस्तै घर पुर्‍याइदिनुहोला ।

मेरो कुरालाई अवज्ञा नगरिदिनुहोला, सुरक्षा निकायका साथीहरु, मैले बिन्ती गरें । म यो देशको पूर्वगृहमन्त्री भएको आधारले तपाईलाई आदेश दिँदैछु, ती साथीलाई सकुशल घर पु¥याइदिनोस् । यति अधिकार मलाई दिनुहोला । न कुनै कागज, न कुनै ल्याप्चे । न कुनै मुद्दा, न कुनै मामिला । यो उहाँले सही काम गर्नुभएको हो, कुनै गलत काम गर्नुभएको होइन । मलाई गर्दा सही, अर्कोलाई गर्दा गलत भन्ने होइन । नेपाली जनताको आक्रोशको अभिव्यक्ति यही नै हो ।

जनताको आक्रोश बढ्दै गयो र हामीले त्यो आक्रोशको सम्वोधन गर्न सकेनौं भने सम्झनुहोला, सधैं दर्शकदीर्घाबाट घोगाचाहिँ आउँदैन, यो सचेतनाका लागि धेरै धेरै धन्यवाद । देश विदेशमा बसेर के भयो कसो भयो भनेर सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ होला । त्यस्तो केही पनि भएको हैन, जनताले सचेत गराएका हुन् भन्ने सन्देश पठाइदिनुहोला ।

नबढाएसम्म डराउँदैन रवि लामिछाने । मकैको घोगाको ठाउँमा गोली आएको भए पनि स्वीकार्य हुन्थ्यो । यस्तो घोगाहरु कसलाई फाल्नुपर्ने हो, मलाई थाहा छैन । आवाजबाट त मैले धेरै भन्दै आएको हुँ, तर कामबाटै यी चिजहरुको जवाफ दिन चाहन्छु ।

खोयाकै वरिपरि घुम्यो भाषण

आफ्नो भाषण सकिने बेलामा रविले भने, ‘सप्पै समय एउटा घोगाले लग्यो ।’

भाषणका क्रममा उनले आगामी ०८४ को चुनावमा एउटा धक्का दिने र बहुमत ल्याउने बताए । बिरामी पर्दा सरकारी अस्पतालमा मात्र उपचार गर्ने प्रतिवद्धता दोहोर्‍याए । रविले आर्थिक अनियमितता गरेको छ कि भनेर खोज्नेहरुले सात जुनी खोजे पनि नभेट्ने बताउँदै भने, ‘यो जन्मको त के, अघिल्लो सात जन्मको पनि तिमीहरुले निकाल्न खोज्यो भने तिमीहरुले पाउने जिरो हो ।’

सम्पत्ति कमाउने र आरामको जिन्दगी बिताउने सम्भावना राजनीतिमा आएर अहोरात्र दुःख खेपिरहेको बताएका रविले राजनीतिमा लाग्दा आफ्नो घरसमेत बैंकले लैजान सक्ने बताए । ‘यति भन्ने आँट मलाई कहाँबाट आयो होला?’ लामिछानेले भने, ‘न सम्पत्ति छ ।… व्यक्तिगत लाभका लागि राजनीतिलाई दुरुपयोग न आफू गर्छु, न अरुलाई गर्न दिन्छु ।’

यसो भनिरहँदा रविका केही भनाइहरु झण्डै झण्डै ‘खोया’ कै प्रतीत हुने खालका पनि देखिए । जस्तै–

उनले व्यक्तिगत सम्पत्तिको कुरा गरिरहँदा गृहमन्त्री भएका बेला र हटेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको प्रशंग भाषणमा सम्झन आवश्यक ठानेनन् । राजनीतिमा लागेर पुराना दलका नेताहरुले जस्तै आफ्नो सम्पत्ति विवरण आम जनतासमक्ष सार्वजनिक नगरेका रविको जायजेथा कति थियो र छ भन्नेबारे जनता अहिलेसम्म बेखरबर छन् । उनले यसमा व्यवहारबाटै पारदर्शिता देखाउन सकेका छैनन् ।

त्यसो त रविले व्यक्तिगत लाभका लागि राजनीतिलाई दुरुपयोग गर्दिनँ भने पनि पार्टीको काममा विदेश जाँदा पार्टीको मुख्य जिम्मेवारीमा नरहेकी श्रीमतीलाई पनि साथमा लिएर गएका थिए, यसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छोरीलाई साथ लिएर हिँडेकै दृश्यसँग जोडेर सामाजिक सञ्चालनमा चर्चा भएको पाइन्छ ।

आफ्नो बोली र व्यवहारमा तादाम्य नदेखिए पनि रविले आफूमाथि भएको खोया प्रहारका विषयमा चाहिँ ठीकै भनेका हुन्, ‘यो आक्रोश हो, यसमा अशिक्षा, बेरोजगारी, गरीबी, लुट भ्रष्टाचार, कुशासनको नमूना उहाँले प्रस्तुत गर्नुभएको हो । यसमा उहाँको केही पनि दोष छैन । तपाई भए पनि यही गर्नुहुन्थ्यो, म भए पनि यही गर्थें ।… यो एउटा अभिव्यक्ति, एउटा सिम्बल हो । यसमा केही बेठिक भएको छैन, यो एउटा उपहार हो ।

खोयो प्रहार निन्दनीय

रवि स्वयंले खोया प्रहारबाट बेठिक भएको छैन र यो एउटा उपहार हो भने पनि सार्वजनिक मञ्चमा नेतामाथि यसरी प्रहार हुनु सही कार्य होइन । यस्तो कार्यलाई सही मान्न सकिँदैन । यस्तो व्यवहारले समाजमा सभ्यता र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ र अराजकता फैलाउँछ । अझ, रवि लामिछाने त सत्तापक्षका नेता होइनन्, प्रतिपक्ष, त्यो पनि वैकल्पिक राजनीतिका संवाहक हुन् । उनी सत्तापक्षका नेता वा मन्त्री होइनन् । उनीमाथि यसरी खोया प्रहार हुनु कुनै पनि हिसाबले सही कार्य होइन ।

रविले आफूमाथि प्रहार गर्नेलाई रिहा गरिदिन प्रहरीसमक्ष आग्रह गरे, यो उनको क्षमाशील महानता हो । तर, उनले पूर्वगृहमन्त्रीको हिसाबले प्रहरीलाईए जुन आदेश दिन्छु भने, त्यो सुशासनको परिचायक होइन । पूर्वगृहमन्त्रीले प्रहरीलाई आदेश दिन सक्छ ?  यो त खोयाजस्तै तरिका भएन र ? रविले मञ्चबाटै भनेका थिए, ‘म यो देशको पूर्वगृहमन्त्री भएको आधारले तपाईलाई आदेश दिँदैछु–ती साथीलाई सकुशल घर पुर्‍याइदिनोस् ।’

सार्वजनिक स्थलमा शान्ति खललत गर्ने वा उपद्रो गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले देशको ऐन कानुन अनुसार कारवाही गर्छ, पूर्वमन्त्रीको आदेश वा हुकुम प्रमाङ्गीबाट देश चल्दैन, चल्न हुँदैन ।

सञ्चारकर्मी भएका बेला रविले खुल्लामञ्चमा ल्याएर नाकको डाँडी भाँचिने गरी दिन मन छ भन्नेजस्ता शब्दहरु प्रयोग गर्थे । बालकोट नजिकै ढुकेर केपी ओलीको गाडीमा ढुंगा हाने हुन्छ भन्नेजस्ता भाषा प्रयोग गर्थे, यी कुराहरु मिडियाकर्मीले भन्न सक्ने खालका नभएर अराजकता भड्काउने खालका अभिव्यक्ति हुन् । त्यस्ता अभिव्यक्तिले समाजमा सकारात्मक संस्कृतिको विजारोपण गर्दैन ।

जस्तो–अहिलेका राजनीतिक अभियन्ता दुर्गा प्रसाईले नेताहरुलाई सडकमा कालोमोसो दल्ने दिन आउँछ भनेका थिए । उनले कालोमोसो दस्ता पनि बनाएका थिए । तर, पछि उनैमाथि कालोमोसो घसियो । दुर्गामाथि त्यसरी मोसो दल्ने कार्य आपराधिक थियो । तर, सरकारले दोषीलाई समातेन, उन्मुक्ति दियो ।

व्यवहारमै सुध्रन आवश्यक

रवि लामिछानेले पोखराबाट शिक्षा पाएको बताउँदै मञ्चबाटै भनेका छन्, ‘नेपाली जनताले आशा र अपेक्षा अनुसार काम पाएनन् भने जनताले विद्रोह गर्छन्, आक्रोश व्यक्त गर्छन् । कोही बोलेर, कोही यसरी । जसरी गरे पनि स्वीकार गर्न सक्नुपर्छ । एउटा ठूलो पाठ आज मलाई कास्कीले दिएको छ । मेरा लागि यो महत्वपूर्ण घटना हो ।’

के रविले जनस्तरबाट आफूमाथि आउने आलोचनाहरुलाई अबदेखि सहज रुपमा पचाउलान् ? के उनले अब जनता र मिडियाको आलोचनालाई सहज रुपमा लेलान् ? यसमा पत्याइहाल्ने स्थिति अझै छैन । किनभने, उनले पोखराकै भाषणमा पनि उनको आर्थिक अनुशासनबारे प्रश्न उठाउने वा चासो दिनेहरुसँग रिसाउँदै भनेका छन्, ‘यो जन्मको त के, अघिल्लो सात जन्मको पनि तिमीहरुले निकाल्न खोज्यौ भने तिमीहरुले पाउने जिरो हो ।’

यसो भन्नुको साटो उनले गृहमन्त्री हुँदा सम्पत्ति विवरण किन सार्वजनिक नगरी पुरानै दलका नेताको जस्तो अपारदर्शिता देखाएको भन्ने जवाफ दिएको भए राम्रो हुन्थ्यो कि ? अनि आफू र आफ्नो दलमाथि प्रश्न उठाउने राज्यको चौथो अंगलाई ‘१२ भाइ’ भनेर बदख्वाइँ गरेकोमा आत्मालोचना गरेको भए, मान्न सकिने थियो अबदेखि रवि लामिछानेले जनताको आक्रोश वा आलोचनालाई स्वीकार गर्न थालेछन् । तर, रविको व्यवहार र बोलीमा त्यसको छनक अझै आइसकेको छैन ।

सात जुनी खोजे पनि तिमीहरुले मेरो कमजोरी भेट्दैनौ भन्दै खोया हान्ने युवालाई छाडिदिन प्रहरीलाई आदेश दिएका लामिछाने कार्यक्रम सकिएपछि खोयाकै पछि लागे । उनले पोखराका प्रहरी प्रमुखलाई फोन गरेर ती युवाबारे चासो लिए । त्यो फोनवार्ताको भिडियो नै बनाएर उनको सचिवालयले सार्वजनिक गर्‍यो । त्यसमा रविले खोया हान्ने व्यक्ति ग्यालेक्सी टीभीसँग जोडिएको सहकारीमा आवद्ध हुन् कि होइनन् भन्नेमा बढी नै चासो राखेको देखियो । प्रहरीले ‘फेक न्युज हो हजुर’ भनेपछि उनी ढुक्क देखिए ।

त्यसपछि एउटा जिम्मेवार दलका सभापति जस्तो मान्छे, कान्तिपुरमा प्रकाशित एउटा समाचारको विषयलाई लिएर  प्रधान शत्रुजस्तै ठानेर पुरानै शैलीमा गाली गर्दै फेसबुकमा यसरी प्रस्तुत भए-

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता।

कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकि प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर।

सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएँ। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो। मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणित भए तिरौंला पनि। यत्रो ऋण लिनेलाई नै कुनै अत्तो पत्तो छैन ।

हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ।

ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ, क्लियर छ। तर पित-पत्रकारिता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।

कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यही खोयाको टुक्रोमा टेकेर यसपछि रबिले सूर्य दर्शनसँग करोड लिएको समाचारतर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला।

मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र, मसँग इमानको लडाइ लड्न सक्दैनौ , सक्दै त सक्दैनौ। म आक्रोश प्रतिशोधबाट माथि उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन।

यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौं, अब सकौं । त्यत्रो ठूलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध सँगै लडौं,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें- हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु : हात्ती लम्कँदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ।

भिडियो हेर्नू होला।

खोयाजस्तै कुरो !

यो कुरा सही हो, कांग्रेस, एमाले माओवादी, राप्रपा जस्ता दलहरुको राजनीति ‘खोया’ जस्तै भएकाले दिक्क भएका जनताले विकल्प खोजेका हुन् । रवि लामिछानेको पार्टीले स्थापना भएको पाँच महिनामा ११ लाख मत ल्याउनुको कारण पनि खोया–राजनीतिको विकल्पकै खोजी हो । यसको अर्थ रविको राजनीति र व्यवहार पनि उनी खोयाजस्तो नहोस् भन्ने जनतामा अपेक्षा छ भन्ने रविले बुझ्नुपर्छ, बुझेकै होलान् ।

तर, कतिपय समयमा उनमा देखिएको सत्तालोलुपता, परिवारवाद, पार्टीभित्रको एकमनावाद र व्यक्तिगत आर्थिक जीवनको अपरादर्शिता जस्ता कुराहरुले जनतामा प्रश्न उठ्नु अस्वाभाविक होइन । त्यसरी प्रश्न उठाउनेहरुमाथि रवि जुन तरिकाले आक्रमक देखिने गरेका छन्, यसबाट आलोचनात्मक सभ्य समाज एवं सभ्य राजनीतिलाई बल पुग्दैन । वैकल्पिक राजनीतिका नेताले देखाउने व्यवहार पनि पुराना नेताहरुको भन्दा फरक हुनुपर्छ ।

जस्तो कि– एउटा मिडियाले लेखेको समाचारको खण्डन गर्ने तरिका र शैली कस्तो हुने ? शायद पूर्वपत्रकार लामिछानेलाई थाहा हुनुपर्ने हो । तर, उनी हिजो पत्रकार हुँदा टीभीको स्क्रिनबाटै नाकको डाँडी भाँच्ने कुरा गर्थे, आज नेता हुँदा मिडियासँग लडाइँ खेल्ने र शान्ति वार्ता गर्ने कुरो गरिरहेका छन् ।

भाषणमा फूलले स्वागत गर्छु भने पनि पोखरामा खोया हानिएको घटनामा रविलाई मनमनै चित्त दुखेको छ । उनले भाषणमै खुलाइसकेका छन्–

‘जति काम गरें, जति काम गर्न सकें, जति काम गर्नेवाला छु, यसको हिसाब म गर्दिनँ, तपाई गर्नुहोला । यो हिसाब मैले पाएको छु आज । अनवरत नेपाली जनतालाई गरेको सेवा । अनवरत दुःख पीडा अप्ठ्यारो, विभेदमा परेका नेपालीहरुको सेवा । भूकम्प जाओस् कि बाढी आओस्, वस्ती बनाउन जाँदाखेरिको उपहार । भूकम्पमा थिचिएका मानिसहरुमा मल्हम पट्टी लगाउन गएको उपहार । विदेशमा बेचिएका चेलीहरुलाई उद्धार गरेको उपहार । अलपत्र युवाहरुलाई गरिएको सहयोगको उपहार । बाढीले बगाएको वस्तीमा घरहरु बनाएको उपहार । सुत्केरी आमाहरु बाटोमै मृत्यु हुनुपर्ने अवस्थालाई चिर्नका लागि दुर्गममा अस्पताल बनाएको उपहार । कोभिडले थला परेका मान्छेहरुलाई आफ्नो ज्यानको बाजी लगाएर अक्सिजनको जोहो गर्दै दिन–रात हेरेको उपहार आज मैले पाएको छु ।’

फेरि उनी अर्को कुरा गर्छन्, ‘आशा र अपेक्षा अनुसार काम पाएनन् भने जनताले विद्रोह गर्छन्, आक्रोश व्यक्त गर्छन् । कोही बोलेर, कोही यसरी । जसरी गरे पनि स्वीकार गर्न सक्नुपर्छ ।… कसैले पनि सानो मन नगर्नुहोला ।’

प्रश्न उठ्छ–  रविले नराम्रो काम गरेर खोया खाएका हुन् या राम्रो काम गरेवापत सजायँ ? एउटै भाषणमा उनका कुरा बाझिएका छन् । यो त खोया जस्तै कुरो भएन र ? न छेऊ छ, न टुप्पो !

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १९ बजे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको

जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको