आज चैत ११ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन्:
लोकतन्त्रका निम्ति निरन्तर लडिरहने राहुल गान्धीको प्रतिबद्धता
भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको बताए ।
आज यहाँ भएको पत्रकार सम्मेलनमा उनले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै बेथितिविरुद्धको आफ्नो सङ्घर्ष जारी रहने बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्बाट निष्कासन गरिएको बताउँदै उनले सुरत अदालतको निर्णयबाट आफू विचलित नभएको बताए ।
आफू जस्तोसुकै धम्कीबाट नझुक्ने र नडराउने बताउँदै उनले प्रधानमन्त्री र व्यापारी गौतम अडानीबीचको सम्बन्धबारे प्रश्न गर्न कहिल्यै पछि नपर्ने दृढता व्यक्त गरे । उनीहरूको सम्बन्धको छानबिन हुनै पर्ने उनले दोहोर्याए ।
सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।
नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्व मन्त्री पूर्णेश मोदीले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।
गत शनिबार अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट उनलाई संसद्बाट समेत हटाइएको हो ।
आलोचकहरूले विपक्षी र अधिकारकर्मीहरूलाई दबाउन मोदी सरकारले कानुन प्रयोग गरेको आरोप लगाएका छन् ।
गान्धीलाई संसदबाट हटाइको विरोधमा भारतका विभिन्न शहरमा आज विरोध प्रदर्शन भएका थिए ।
खालिस्तानी नेता नेपाल पस्ने आशंकामा भारतीय सुरक्षाकर्मीद्वारा सीमामा उच्च सतर्कता
भारतले ‘खालिस्तान’ नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ ।
पछिल्लो समय लन्डन र सन फ्रान्सिसकोसहित भारतमै पनि खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीको खोजीमा रहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा नेपाल भारत सीमामा सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
वारिस पञ्जाब दे नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर सार्वजनिक भएपछि भारतीय सुरक्षा निकायले उनी सोही क्षेत्रबाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको बताइएको छ ।
भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार सिंह उत्तराखण्डबाट नेपाल पस्नसक्ने आशंकामा नेपाल–भारत सीमामा अलर्ट जारी गरिएको छ । यससँगै पछिल्ला दिनमा मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।
अमृतपाल सिंह सम्पर्कविहीन भएपनि खलिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ । हिंसा भड्कने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमा भित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।
अमृतसर नजिकै रहेको अज्नाला प्रहरी कार्यालयमा अमृतपाल सिंहको समुहले आक्रमण गरी आफ्ना सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले कारवाही सुरु गरेको हो । प्रहरीले उनी माथी लूकआउट नोटिस तथा पक्राउ पुर्जी जारी गरेको छ ।
उता, अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले लन्डन, सन फ्रान्सिस्कोलगायतका सहरमा रहेका भारतीय नियोगमा राखिएका झन्डा निकालेर खलिस्तानी झन्डासमेत राखेका थिए । खलिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासमक्ष आपत्ति जनाइसकेको छ ।
पानीभित्र आणविक आक्रमण गर्नसक्ने ड्रोनको परीक्षण गरेको उत्तर कोरिया दाबी
उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको सफल परीक्षण गरेको दाबी गरेको छ ।
उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले भनेको छ- ‘परीक्षण सफल भएको सो ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्नेसहित पानीजहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने क्षमता राख्दछ ।’
गत मंगलबार दक्षिणी हामग्योंङ प्रान्तस्थित समुद्रमा गरिएको अभ्यासका क्रम उक्त ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टा १२ मिनेटसम्म सफलतापूर्वक काम गरेको थियो । अब कुनै पनि बन्दरगाह वा तटीय क्षेत्रमा उक्त ड्रोन प्रक्षेपण गर्न सकिने केसीएनएको दाबी छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशानिर्देश गरेको र अब वासिङटन तथा दुस्मन देशहरूलाइ उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउन ड्रोनको सफल परीक्षण गरेर सन्देश दिइएको उत्तर कोरियाली मिडियाले जनाएका छन् ।
दक्षिण कोरियाका योनहाप समाचार एजेन्सीलेका अनुसार समुद्री क्षेत्रमा नक्कली शत्रुहरु माथि निशाना लगाउनका लागि उत्तर कोरियाले उक्त ड्रोन परीक्षण गरेको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।
रुसलाई चीनले हातहतियार आपूर्ति गरेको छैन : राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसतर्फ चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।
“चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।
राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित अकस महत्वपूर्ण सुरक्षा साझेदार रहेको बताए ।
यसैसाता चिनियाँ राष्ट्रपति सी जिन्पिङले रुस भ्रमण गरी दुई मुलुकबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास गरेको भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले रुसलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए ।
चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले चीनमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना हुन्थ्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।
बेलायती प्रधानमन्त्री ऋषि सुनक र इजरायली समकक्षी बेन्जामिन नेतन्याहुबीच भेटवार्ता
बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँग भेट गरेका छन् । डाउनिङ स्ट्रिटमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री सुनकले ‘लोकतान्त्रिक मूल्यमान्यता’ को रक्षा गर्नुपर्नेमा जोड दिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
नेतन्याहू आफ्नो सरकारको न्यायिक सुधार कार्यक्रमलाई लिएर इजरायलमा हप्तौंदेखि जारी विरोध प्रदर्शनपछि लण्डन आइपुगेका हुन् । सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।
संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।
डाउनिङ स्ट्रिटका प्रवक्ताले दुई नेताको बैठकको सारांशमा भने, “प्रधानमनत्री सुनकले इजरायलमा प्रस्तावित न्यायिक सुधारलगायत दुई देशको सम्बन्धलाई आधार बनाउने लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नुपर्ने महत्वमा जोड दिए ।
नेतन्याहुको विरोधमा इजरायलको झण्डा र प्लेकार्ड बोकेका सयौं प्रदर्शनकारीले उनको आगमनलाई रोक्न गेटबाहिर सडकमा र्याली निकालेका थिए ।
डाउनिङ स्ट्रिटको १० नम्बर द्वारमा सुनकले इजरायली वरिष्ठ नेतालाई अभिवादन गर्दा प्रदर्शनकारीले यसलाई ‘लज्जा’ को बिषय भन्दै नारा लगाएका थिए ।
लण्डन प्रस्थान गर्नुभन्दा केही घण्टाअघि टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहुले आफ्नो विभाजनग्रस्त मुलुकभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बेलायत सरकारले नेतन्याहुको दुई दिने भ्रमणबारे आंशिक विवरण सार्वजनिक गरेको छ ।
दुई देशले ‘२०३० रोडम्याप’ सम्झौतामा हस्ताक्षर गरेको केही दिनपछि लण्डनले ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौता गर्ने क्रममा ‘द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने’ बताएको थियो ।













प्रतिक्रिया