औषधी/उपचार

घुँडा दुख्ने समस्या र यसको उपचार

By खबरहब

May 25, 2023

पछिल्लो समय धेरै मानिसमा घुँडा दुख्ने समस्या देखिएको छ। यो समस्या पहिला पहिला वृद्धा उमेरका मानिसमा मात्र हुने भन्ने थियो। तर पछिल्लो समय जुनसुकै उमेरका मानिसमा यो समस्या देखिएको छ। उमेर बढेसँगै काम र जीवनशैली नमिल्दा घुँडा दुख्ने र खिइने समस्या बढिरहेको चिकित्सकको भनाइ छ। यो घुँडा दुख्ने समस्याले विस्तारैविस्तारै मानिसमा गम्भीर समस्या निम्त्याइरहेको छ। घुँडा दुख्ने समस्या के हो ? यसको उपचार कसरी गरिन्छ ? यसै विषयमा आधारित रहेर अर्थापेडिक सर्जन डा. दमनकुमार झासँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

घुँडा दुख्ने कस्तो समस्या हो ? घुँडा दुख्ने समस्या उमेर अनुसार फरकफरक हुन्छ। यो समस्या कसैलाई युवा अवस्थामा चोट पटक लागेर हुन्छ भने कसैलाई उमेर बढ्दै जाँदा हड्डी खिइँदै गएर दुख्छ। बच्चा धेरै दौडन्छन्, खेल्छन्। उनीहरूमा पनि घुँडा दुख्ने समस्या देखिन्छ। कुनै चोटपटक लागेमा पनि घुँडा दुख्छ। कतिपय युवाहरू पनि घुँडा दुख्ने समस्याबाट पीडित हुन्छन्। उमेर बढ्दै गएपछि घुँडा खिएर दुखाइ हुन्छ।

के कारणले दुख्छ घुँडा ? बालबालिका धेरै दौडन्छन्, खेल्छन् लड्छन् त्यसकारण उनीहरूमा घुँडा दुख्ने समस्या देखिनसक्छ। साथै कुनै चोटपटक लागेमा पनि घुँडा दुख्छ। त्यसकारण युवा अवस्थामा नै कतिपय युवा घुँडा दुख्ने समस्याबाट पीडित भइरहेका हुन्छन्। उमेर बढ्दै गएपछि घुँडा खिएर पनि दुख्ने हुन्छ। हर्मनको कारणले पुरुषको तुलनामा यो समस्या महिलामा धेरै देखिन्छ।

घुँडा दुख्ने समस्या हुँदा अस्पतालमा नै जानु पर्ने हो घरमा केही गर्न सकिँदैन ? यो समस्याबाट कुनै पनि घर अछुतो नरहला। सबैको घरमा एक जना सदस्यलाई त यो समस्या भएको नै पाइन्छ। यो समस्याको हकमा कसैलाई धेरै दुख्ने र कसैलाई थोरै दुख्ने हुन्छ। तर समयमा नै सबैले एक पटक जाँच गर्नु पर्दछ। अनि के कारणले भएको भन्ने थाहा हुन्छ। घुँडाको वरिपरि लिगामेन्ट, मिनिस्कस हुन्छ। यी कारणले पनि घुँडा दुखेको हुन्छ, त्यसैले पहिला घुँडा खिएर नै दुखेको हो कि होइन थाहा पाउनुपर्छ। यदि घुँडा खिएर नै दुखेको हो भने चाँडै अस्पताल जानुपर्छ। केही दिनलाई औषधि खाएर फिँजियो थेरापी गरेर निको पार्न सकिन्छ। ५० वर्षको मान्छेमा पनि कसैलाई घुँडा खिइने समस्या हुन्छ। तर, कसैमा हुँदैन। किनभने आफ्नो जीवनशैलीले पनि फरक पर्दछ। कसैले दिनभरी उभिएर काम गर्नुपर्ने वा घुँडामा लोड पर्ने जे काम गरे पनि घुँडा खिइने समस्या हुन्छ। अव्यवस्थित खानपान, पोषणयुक्त खानाको कमी, चोटपटक लाग्नु वा हड्डी भाँचिनु र हड्डी सम्बन्धी रोगले पनि घुँडा खिइन्छ।

घुँडा नखिइयोस् भनेर के के गर्ने ? मोटोपनाको कारणले पनि घुँडा खिइन्छ। कोही व्यक्तिको ६० केजी तौल छ भने त्यो घुँडाले दैनिक ६० केजी तौल बोकेको हुन्छ। मोटोपनको लागि ४० वर्ष उमेर कट्नु नै पर्दैन त्यसैले मोटोपन नियन्त्रण गर्नु पर्दछ। दैनिक रूपमा व्यायाम गर्ने, यदि घुँडा खिएर डाइग्नोसिस् भइसक्यो भने फिँजियो थेरापी गर्नुपर्छ। धेरै उकालो ओरालो गर्ने काम कम गर्ने वा धेरै घुँडालाई लोड हुने काम नगर्नु राम्रो हुन्छ।

घुँडा खिइयो भनेर कसरी थाहा पाउने, लक्षण के के हुन् ? लक्षणमा घुँडा बाङ्गो देखिनु, खुट्टा सुन्निनु, जोर्नी कडा हुनु, घुँडा चलाउँदा दुख्नु, बसेपछि उठ्न नसक्नु, भर्याङ उक्लिँदा-ओर्लिँदा दुख्नु, टुक्रुक्क बस्दा, पलेटी कसेर बस्दा र ओरालो झर्दा धेरै दुख्ने हुन्छ।

घुँडा खिएर बेवास्ता गरेपछि कस्तो जोखिम आउनसक्छ ? घुँडा खिइसक्यो भने त अप्रेशन नै गर्नु पर्दछ। अप्रेशन चाहिँ गर्ने तर बिरामीले आफ्नो तौल नमिलाउने वा मोटोपन नघटाउने हो भने घुँडाको अप्रेशन गरेर कुनै फाइदा छैन। त्यसैले जे काम गर्दा घुँडा दुख्छ त्यो काम गर्नु हुँदैन। अप्रेसन गरेर पनि फिँजियो थेरापी दैनिक रूपमा गर्नु पर्दछ। बिरामीले अप्रेसन गर्न मानेन भने हामीले डिपो मेडोल नामक इन्जेक्सन लगाउँछौँ। त्यसले दुखाई कम गर्न मद्दत गर्छ।

घुँडामा कुनै समस्या नआओस् भनेर के–के कुरामा ध्यान दिने ? आफ्नो जीवनशैलीमा सुधार गर्नुपर्छ। कुनै काम गर्दा अप्ठ्यारो भयो भने त्यो काम नगर्ने। सधैँ फिँजियो थेरापी गर्ने। यति गर्दा पनि भएन भने अप्रेशन गर्नुपर्दछ। अप्रेशन गर्ने बित्तिकै सबै काम गर्न सकिँदैन। त्यसैले पहिला नै केयर गर्नुपर्छ। अप्रेशन गर्दा हामीले इम्प्लान राख्छौँ। त्यो इम्प्लान राम्रोसँग केयर गर्यो भने लगभग १५ देखि २० वर्ष जान्छ।