दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिनभर आज रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने सरकारको तयारी, राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन, कर्णाली प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत, रुकुम पश्चिमको जिप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने सरकारको तयारी

सरकारले टीकापुर घटनामा दोषी ठहरिएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने प्रक्रिया अघि बढाएको छ ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

चौधरीलाई बाँकी सजाय माफी दिन माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए ।

राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेपछि मात्रै राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय लिने बताइएको छ ।

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

कर्णाली प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कर्णाली प्रदेशको विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका हुन् ।

विनियोजन विधेयकमा नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र सहित प्रथम पञ्चवर्षीय योजना २०७६,०७७,२०८०,०८१० कार्यान्वयनमा जोड दिइएको छ ।

उक्त योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्‍त गरी समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रूपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट तर्जुमा गरिने उल्लेख छ ।

यस दिशामा केन्द्रित भई अव म कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० मा समावेश हुने बजेट तथा कार्यक्रमका प्रमुख सिद्धान्तहरू प्रस्तुत गरिएको छ ।

बागमती प्रदेशसभा विनियोजित विधेयकमाथिको छलफल सम्पन्न

बागमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत विधेयकमाथिको छलफल सकिएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले विनियोजित विधेयकमाथिको उठेका प्रश्नको जवाफ दिँदै सरकारले दलगत स्वार्थ नराखी बजेटमा आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

उनले प्रदेशसभा सदस्यहरूले उठाएको विषयलाई आत्मसात गरी सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने, बाढीपहिरोबाट प्रभावित हुने क्षेत्रलाई सम्बन्धित निकायमार्फत तटबन्धनको निर्माण गर्न, पीडित परिवारलाई उद्धार गरी पुनःस्थापनलाई तीव्रता दिन सम्बन्धित जिल्ला प्रशासनलाई स्रोतसाधन र निर्देशन पठाइसकेको जानकारी दिए ।

उनले गत वैशाख २५ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सबै राजनीतिक दलका शीर्ष नेतासँग आगामी आवको बजेट बिनियोजनबारे छलफल गरेको जानकारी दिए । मन्त्री लामाले आगामी आवको बजेटमा सरकारले स्वास्थ्य र शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न रणनीतिक कार्यक्रम समेट्ने बताए ।

प्रदेशका विभिन्न जिल्लामा कृषि उत्पादन, मौसमी तरकारी खेती, पशुपक्षी पालनलाई प्राथमिकतामा राखी दूधजन्य पदार्थलाई सर्वसाधारणको पहुँजमा पुर्‍याउन किसानलाई अनुदान गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

विनियोजित विधेयक २०८० को लागि सैद्धान्तिक र प्राथमिकतामाथि तीन दिनसम्म भएको छलफलमा सहभागी भई प्रदेशसभाका सदस्यले राखेको सुझावलाई इमानदारीपूर्वक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उनको भनाइ छ ।

प्रदेशसभा सदस्यहरूले वन्यजन्तु आरक्ष क्षेत्रको नजिकै पर्ने मानवबस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमणबाट सर्वसाधारण नागरिकको मृत्यु भएको र ती परिवारलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

साथै प्रदेशसभा सदस्यहरूले आदिवासी जनजाति र दलित बस्तीमा भोकमरीको समस्या उत्पन्न हुने भएकाले तत्कालै उनीहरूलाई कृषि उत्पादनका लागि सिँचाइको प्रबन्ध र ऋण उपलब्ध गराउनुपर्ने र हेटौँडाबाट काठमाडौँ जोड्ने निर्माणधीन कुलेखानी–सिस्नेरी–फाखेल सडकलाई सरकारले अनुगमन गरी यथाशीघ्र निर्माण प्रारम्भ गर्न जोड दिएका थिए ।

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।

गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्विर प्रदर्शनीको आज उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि फर्किन नसकिने बताइन् । ‘अब पछाडि फर्किंने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ, तर विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ’, उनले भनिन् ।

वर्तमान शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ । सरकारका प्रवक्ता शर्माले भनिन्, ‘गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता–कस्ता आन्दोलन भए, के–कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका सङ्घर्षलाई पनि हामीले भुल्नु हुँदैन ।’

गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरूले गणतन्त्रका निम्ति गरेको कठिन सङ्घर्ष बिर्सिन नहुनेमा जोड दिइन् ।

प्रवक्ता शर्माले गणतन्त्र प्राप्तिका निम्ति महिला, आदिवासी जनजाति, मधेसी, दलित र उत्पीडितलगायत सम्पूर्ण सीमान्तकृत समुदायले गरेको योगदानको कदर गरिन् । सरकारले यसपटकको गणतन्त्र दिवस विगतको भन्दा फरक ढंगले समीक्षासहित तीन दिनसम्म मनाउने योजना रहेको बताइन्।

उनले भनिन् , ‘यसपटक सरकारले भव्यताका साथ तीन गणतन्त्र दिवस मनाउने योजना बनाएको छ, सरकार समीक्षासहित गणतन्त्र दिवस मनाउन चाहान्छ, परम्परागत ढंगले मनाउनु र हिजोका हाम्रा राजाले जन्मोत्सव मनाउनु एउटै होइन, यो फरक हो ।’

गणतन्त्रमा भएका कमीकमजोरीलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतासँग जोडिएको गणतान्त्रिक व्यवस्थामाथि चारैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले टिप्पणी गरिन् ।

गणतन्त्र प्राप्तिका लागि आमनागरिकका सपना र अपेक्षा, गणतन्त्रपछि सरकार सञ्चालन गर्ने क्रममा निर्माण गरेको भूमिका र ती भूमिकामा भएका कमीकमजोरीलाई लिएर र त्यसमाथि हुने गरेका गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले गणतन्त्र सबैको सम्मान, सहअस्तित्त्व र प्रक्रियासँग जोडिएको बताए। उनले केही नेता वा पात्रका कमीकमजोरीलाई देखाए व्यवस्था नै खराब हो भन्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र हुँदैन : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र नभएको स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा एमाले निकट राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै श्रेष्ठले प्रहरीलाई राजनीतिक लगायत कुनैपनि दवाव वा प्रभावमा मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै षड्यन्त्र नभएको स्पष्ट पारेका हुन् ।

यस प्रकरणमा आशंकका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुट्कारा पाउन नहुने उनले बताए । उनले यस प्रकरणमा थुप्रै व्यक्तिहरूको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिए ।

प्रहरीले आफ्नो अनुसन्धान बयान मात्रै नभइ तथ्यप्रमाणका आधारमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । श्रेष्ठले यस प्रकरण सामान्य भ्रष्टाचारको विषयमात्रै नभए राज्य विरुद्धको अपराध भएकाले त्यही ढंगले अघि बढ्नुपर्ने जिकिर गरे ।

युवा संघले मानव तस्करीको समग्र पक्षमा नगई अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ भएको काम कारवाहीको छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संगठनले अभियुक्तहरूको बयानलाई लिएर एमालेका नेताहरू र अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारवाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको जनाएको छ ।

उनीहरूले यस प्रकरणमा राजनीतिक रंग नदिन समेत माग गरेका छन् ।

बागमतीमा चल्ने सवारी साधनको भाडा समायोजन

बागमती प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन गरेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङका अनुसार सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ।

उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५‍.९० प्रतिशतले घटेको छ । बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय गरिएको छ।

यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो।

रविको चेतावनी – मुद्दा हाल्ने उद्योग नचलाइयोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध लगातार मुद्दा चलाइएको भन्दै आक्रोश पोखेका छन् ।

सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज पौडेलले दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको भोलिपल्ट उनले इरिटेट गर्ने पनि सीमा हुने प्रतिक्रिया दिएका हुन् ।

आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको र अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको उल्लेख गर्दै उनले फेरि प्रश्न उठाउनुपर्ने कारण नभएको जिकिर गरेका छन् । ‘अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्।’सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन् ।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।’ उनले थपेका छन्,

लामिछानेले चेतावनी दिँदै भनेका छन्,’ घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’

रुकुम पश्चिमको जिप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा भएको जिप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

आज बिहान भएको जिप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाइ छ । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

घाइते हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जिप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई रु १० लाख राहत रकम हस्तारण गरेका छन्। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।

गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : ०१ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट