पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक | Khabarhub Khabarhub

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताए । विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै सजगतापूर्वक आवश्यक रणनीति अवलम्बन गरिने महानगरको योजना छ ।

पर्यटन, पूर्वाधार विकास, मानव संसाधन विकास, उद्यमशीलता, सुशासनलाई केन्द्र विन्दुमा राखी तदनुरुप नीति योजना र कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । “सरकारलाई पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न अनुरोध गर्दै समग्र पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोच लागू गरिनेछ”, प्रमुख आचार्यले भने ।

महानगरपालिकाका महाशाखा, शाखा तथा वडाको सेवालाई प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । मेलमिलाप पद्दतिलाई वडा तहसम्म प्रभावकारी बनाउने महनगरको योजना छ । नागरिकलाई प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन विभिन्न ११ विषयगत काउन्टर सञ्चालनमा ल्याइ सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहका लागि ‘एकद्वार प्राणाली’ सञ्चालनमा ल्याइएको प्रमुख आचार्यले बताए । करिब रु तीन अर्बको लागतमा बहुप्रतिक्षित तालचोक बेगनास नमूना सडक विश्व बैङ्कको सहयोगमा निर्माण कार्य यसै वर्षदेखि द्रुत गतिमा अगाडी बढेको छ ।

कोत्रे दोबिल्ला हुँदै बिरौटा जोड्ने वैकल्पिक राजमार्ग स्तरोन्नतिको काम सुरु भएको महानगरपालिकाले जनाएको छ । कृषकद्वारा उत्पादित सामग्री उत्पादन स्थलबाटै सङ्कलन गरी सहरी क्षेत्रका कृषि बजारसम्म पुर्याउनका लागि चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले तर्जुमा गरेको त्रिवर्षीय आवधिक योजनाको समयावधि आव २०८०/८१ मा सकिने भएकाले आगामी आव भित्र स्थलगत विशेषतामा आधारित दोस्रो आवधिक योजना तर्जुमा गरिने उल्लेख छ । हरेक वडामा गुनासो सुनुवाइको व्यवस्था मिलाइने र हेलो मेयर सेवालाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरिने र सेवाप्रवाह तथा सङ्गठन व्यवस्थापनका लागि सुशासन प्रवर्द्धन समितिलाई थप सक्रिय बनाइने छ । विजयपुर पारीको महानगर क्षेत्रलाई पायक पर्ने गरी एक दमकल र एक एम्बुलेन्स सोही क्षेत्रमा रहने व्यवस्था मिलाइने छ । विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य अनुरूप तर्जुमा भएको कार्बन तटस्थ रणनीतिक कार्ययोजना क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।

एक घर दुई बिरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षरोपण कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने र आव २०८१/८२ भित्र दुई लाख बिरुवा रोपण गर्ने गरी हरित पोखरा निर्माणका लागि ‘क्लिन पोखरा ग्रिन पोखरा’ परियोजना सञ्चालन गरिने उल्लेख गरिएको छ । ‘समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहर’ को अवधारणा, ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यता स्थापित गर्न पर्यटकीय वस्तु, सेवा र गन्तव्यको विकास तथा प्रवर्द्धन गर्ने महानगरको योजना छ । पोखराको लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तजुर्मा गरी कार्यान्वयन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुला गर्न पहल गरिने बताए ।

बेगनास ताललगायत तालमा सम्भाव्यता अध्ययनका आधारमा वाटर स्पोर्टस् सञ्चालन गर्ने कार्यक्रमलाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखराको पुरानो बजार क्षेत्रका पुरातात्विक सम्पदा निजी घर र सार्वजनिक स्थलको संरक्षण, सम्वर्द्धन र प्रवद्र्धन गरी सम्पदा पर्यटकीय स्थलको रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ ।

फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने भन्दै नीति तथा कार्यक्रममा फेवा, बेगनास, रुपालगायत रामसार सूचिमा सूचिकृत तालको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । आगामी दुई वर्षभित्र पोखरा–९, पृथ्वीचोकमा पर्यटन सूचना केन्द्र, वाचनालय, घण्टाघर र सार्वजनिक पुस्तकालय रहने गरी पोखरा भवन कोसेली घर निर्माण गरिने प्रमुख आचार्यले बताए । ‘कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ अवधारणका साथ कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आधुनिकीकरण तथा यान्त्रीकरण प्रविधि प्रयोगमा ल्याई उत्पादन तथा उत्पादकत्व वृद्धि गरी तरकारी, दूध, माछा, मासु, अण्डा र पुष्प फूल जस्ता वस्तुमा आत्मनिर्भर बनाउन जोड दिइने छ ।

कृषि उपज बजारीकरणका लागि ‘बारीदेखि बजारसम्म, उत्पादक देखि उपभोक्तासम्म’ अभियान सञ्चालन गरिने छ । कृषि उपज सङ्कलन, भण्डारण र बजार पहुँच विस्तारका लागि कृषि एवं उत्पादनमा जाने सहकारीलाई प्रवर्द्धन गर्दै एक सहकारी एक व्यावसायिक उत्पादनमार्फत, उद्योग तथा रोजगारी अभियान सञ्चालन गरिने नीति छ । ‘बेरोजगारसँग रोजगार, उत्पादनसँग बजार’ नारालाई चरितार्थ गर्न श्रम बजारको माग र आवश्यकता अनुरूप सहज रूपमा दक्ष जनशक्ति आपूर्ति हुने व्यवस्थाका लागि व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने छ । ‘स्वदेश मै भर परौंँ, स्वदेश मै केही गरौँ’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने  छ ।

स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विस्तार, विकास र आधुनिकीकरण गरिने छ । महानगर गौरवको आयोजनाको परिभाषा र मापदण्ड तयगरी तोकिएका मापदण्ड पुरा गर्ने आयोजनालाई मात्रै गौरवको आयोजनाको रूपमा सूचीकृत गरी मध्यकालिन खर्च संरचनामा बजेट व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्म द्रुतमार्गका लागि अध्ययन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लामेआहालमा निर्माण गरिने अत्याधुनिक बस टर्मिनलको जग्गा प्राप्ति लगायतका कार्य प्रदेश सरकारसँगको सहकार्यमा अगाडी बढाइने बताए । पोखरा महानगरपालिकाको भू–उपयोग नीति लागु गरिने उल्लेख गर्दै उनले अव्यवस्थित जग्गा खण्डीकरणलाई निरुत्साहित गर्दै जग्गा विकास कार्यक्रम सञ्चालन गरिने बताए ।

समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि ताल तलैया, पोखरी, चौतारा, सिमसार, गुफा, मन्दिर पुराना ऐतिहासिक सम्पदा लगायतमा आवश्यक पर्ने पर्यटन पूर्वाधार निर्माण साथै संरक्षण र सम्वर्द्धनको नीति लिइने उनले बताए । ग्रेटर पोखराको अवधारणापत्र तयार गरी सार्वजनिक गरिने र त्यसभित्र व्यवस्थित चक्रपथ र स्याटलाइट सिटीको अवधारणा समेत समेटिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा महानगरका मुख्यचोक र पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण गर्दै आवश्यक ठाउँमा सीसी क्यामेरा जडान गरिने जनाइएको छ ।

विद्यालय उमेर समूहका बालबालिकालाई भर्नाको सुनिश्चितता गर्दै गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाको पहुँचलाई थप विस्तार गरिने महानगरप्रमुख आचार्यले बताए । महानगर भित्र प्राविधिक शिक्षामार्फत सिक्दै कमाउँदै कार्यक्रम लागू गरिने उनले बताए । प्राज्ञिक क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम तय गरी पोखरामा नाटक तथा रङ्गमञ्चको प्रवर्द्धनलाई टेवा पु¥याउने नीति लिइने छ । महानगरका सबै वडाबाट निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाइने महानगरप्रमुख आचार्यले बताए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ०६ बजे

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५