गण्डकी प्रदेशका केही सडक र पुल आयोजना अलपत्र « Khabarhub

गण्डकी प्रदेशका केही सडक र पुल आयोजना अलपत्र


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी– विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।

तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात वर्ष बित्दासमेत बन्न सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सब–इन्जिनियर धनबहादुर गुरुङले बताए ।

निर्माण कम्पनी क्याराभानले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । स्थानीय तह नबन्दै निर्माण सुरु भएको मनाङकै मर्स्याङ्दी नदी पुल पनि वर्षौँदेखि अलपत्र अवस्थामा छ ।

यी सहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत १६ पूर्वाधार आयोजना रुग्ण अवस्थामा छन् । यसमा १३ सडक र तीन पुल आयोजना छन् ।

पर्वतको मिलचोक–सल्यान–घाहाखेत–धारापानी–ठोटनेरी सडक, स्याङ्जाको मिर्मि–बिर्घा–रानीघाट, वालिङ–काफलडाँडा–रोग्दी–रामपुर सडक, मनाङको दूधखोला र मर्स्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड) अलपत्र छ ।

तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, रिसिङ–भीरकोट, कृष्ण मार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर–अहाले–रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ–आनन्दज्योती सडक, फुर्सेखोला–मट्टीखान सडक रुग्ण अवस्थामा छ ।

पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा–राङखानी–नाम्दुक–बरेङ–शान्तिपुर र गलकोट–हरिचौर–हिल–तारा–रुम जोड्ने सडकको काम पनि सुस्त गतिमा छ । दुवै आयोजना बहुवर्षीय हुन् । बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमि सडक सडकमध्ये दस किमि कालोपत्रका लागि विसं २०७६ मा ठेक्का भएर निर्माण अघि बढेको थियो ।

निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले दोस्रो पटक म्याद थपिए अनसार विसं २०७९ पुस देखि काम सुरु गरेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम सुरु हुन सकेको छैन । २४ करोड ७८ लाख रुपैयाँको ठेक्कामा बन्न लागेको उक्त खण्डमा अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।

सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले गत वर्ष मन्त्रालय अन्तर्गत ४६ पूर्वाधार आयोजना रुग्ण रहेकामा यो वर्ष घटेर १६ मा आइपुगेको बताए । उनले काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालिने उनको भनाइ थियो ।

मनाङको मर्स्याङ्दी नदी पुल, गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, फुर्सेखोला–मट्टीखान सडक ठेक्काको धरौटी रकम जपथ गरिएको मन्त्रालयले जनाएको छ । अधिकांश आयोजना निर्माण कम्पनीकै ढिलासुस्तीका कारण अलपत्र परेको मन्त्रालयको भनाइ छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई गति दिइने बताए । ‘मन्त्रालयको वार्षिक समीक्षामा पनि यो विषयमा गम्भीर ढङ्गबाट छलफल भएको छ, वर्षौँसम्म काम नभएका आयोजनाको ठेक्का तोडिन्छ’, उनले भने, ‘आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय स्पष्ट र दृढ छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ३८ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका