श्वास गन्हाउने समस्या के हो ? | Khabarhub Khabarhub

श्वास गन्हाउने समस्या के हो ?

मुखको स्वास्थ्यमा ख्याल नगरे क्यान्सरको खतरा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दाँत हाम्रो स्वास्थ्यको अभिन्न अंग हो। दाँत र मुखको स्वास्थ्यमा ध्यान दिइएन भने समय भन्दा अगाडि नै दाँतमा किरा लाग्ने वा दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छन्। यति मात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सकिँदैन। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ। यो श्वास गन्हाउने समस्या के हो ? यसको कारण के हो ? कसरी बच्ने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग गरिएको कुराकानीको सम्पादित अंश :

श्वास गन्हाउने समस्यालाई हामीले कसरी बुझ्ने ?
सामान्य मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ। सास गन्हाउने समस्यालाई हामीले रोग भन्ने गर्छौ। नाकबाट वा मुखबाट कोही छेउछाउमा बस्ने मानिसलाई अप्ठेरो पार्ने गरी गन्ध आउँछ भने त्यसलाई श्वास गन्हाउने समस्या भएको भनिन्छ। सम्बन्धित व्यक्ति जसको सास गन्हाउँछ, उहाँहरू मध्ये कसैले आफै थाहा पाउनु हुन्न। कसैले जानकारी पाएर पनि थाहा नभएको जस्तो गर्नुहुन्छ भने कोही जानकारी पाएर धेरै चिन्तित भएको पाइन्छ। हामीले यस्ता तीन किसिमका बिरामी पाउने गर्छौ।

सास गन्हाउने कारण के हो ?
सास धेरै कारणले गन्हाउन सक्छ। जसको सुँघ्ने नशामा केही समस्या छ भने वा वृद्ध अवस्थामा यस्तो समस्या देखिन्छ। तर, वास्तविक रूपमा त्यो सास गन्हाउने समस्या होइन। उहाँहरूको उमेर र नशाको कारणले आफ्नो श्वासबाट गन्ध आएको जस्तो हुन्छ।

मद्यपान, धूम्रपान सेवन गर्ने, दाँत निकाल्ने र राख्ने गरेमा पनि यो समस्या हुन्छ। दाँत लगाएर खाना खाने, खाना खाएर दाँत सफा नगर्ने, व्रत बसेको बेलामा र तारेको भुटेका खाना खाँदा पनि सास गन्हाउँछ। यस्तो अवस्थालाई सामान्य मानिन्छ।

अन्य शरीरसँग सम्बन्धित कारणले वा शरीरका विभिन्न अगंमा लागेको रोगको औषधि खाइरहनेमा औषधिको साइड इफेक्टको कारणले पनि सासमा गन्ध आउँछ। कसैमा र्याल आउने ग्रन्थीमा समस्या देखिँदा, क्यान्सरको उपचार गर्दा थुक कम निस्कने अवस्था आउँछ। थुक कम निस्कँदा सास गन्हाउने समस्या आउँछ। यो अवस्थालाई सामान्य मान्नु हुँदैन। त्यसैले आफ्नो के कारणले श्वास गन्हाएको भनेर समयमा नै रोग पत्ता लगाएर उपचार गरियो भने यो समस्या हराएर जान्छ।

यो कारणले या शरीरका अन्य रोगको कारण श्वास गन्हाएको भनेर कसरी थाहा पाउने ?
यदि कसैले एक मिनेट नाक मुख छोपेर राखेपछि नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धी कारणले हुनसक्छ। अरूलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझ्नु पर्दछ। तर, मुखबाट मात्र गन्ध आयो भने त्यो दाँत तथा मुख सम्बन्धित कारणले हुन्छ। शरीरमा कुनै रोग छैन। तर, सास गन्हाएको आफैलाई थाहा हुन्छ भने सुँघ्ने नशामा समस्या भएको हो या धेरै उमेर भएको व्यक्ति हो भनेर छुट्टाउनुपर्छ।

श्वास गन्हाउँदा समयमा उपचार गरिएन भने पछि कस्तो जोखिम हुन्छ ?
कुनै व्यक्तिले श्वास गन्हाउने समस्या हुँदाहुँदै पनि लापरबाही गर्छ भने जुन अंगको रोगको कारणले श्वास गन्हाएको हो त्यो अंग नै गुमाउनु पर्ने पनि हुनसक्छ। दाँत किराले खाएको छ भने त्यो ठाउँमा खाना अड्किएर बस्छ, त्यही खाना कुहिएर सास गन्हाउने समस्या हुन्छ।

दाँत किराले खाने समस्याको लापरबाही गरियो भने यही समस्याले गिजा सुनिने, गाला सुन्निने र दाँत नै झर्नेसमेत हुनसक्छ। साथै सेलोलाइटिस, साइनोसाइटिस, क्याबलोथसाइलस थ्रमबसिस भएर त्यहाँ भएको पिप र इन्फेक्सन दिमागसम्म पुग्ने हुन्छ। कसैको दुवै तिरको दाँत किराले खाएको छ भने दुवै तिरबाट पिप जम्मा भएर थिच्दै जान्छ। श्वास फेर्ने नली नै बन्द हुन्छ। यसरी श्वास बन्द भयो भने त मान्छेको मृत्युसमेत हुन्छ।

विभिन्न अनुसन्धानले जिन्जाबाइटिस, हर्सा भएका मानिसमा सुगर हुने, हड्डी कमजोर हुने, मुटु सम्बन्धी रोग, श्वासप्रश्वास सम्बन्धी रोग हुने गरेका छन्। दाँत तथा मुखको समस्याले पनि शरीरमा समस्या निम्त्याउँछ। शरीरमा कुनै रोग छ है भनेर सूचना दिन सास गन्हाउने समस्या भएको हुनसक्छ। त्यसैले समयमा नै उपचार गर्नुपर्छ।

श्वास गन्हाउने समस्या हुँदा कस्तो सावधानी अपनाउने ?
दाँत तथा मुखकै कारणले ९० प्रतिशत श्वास गनाउने समस्या हुन्छ। दाँत तथा मुखमा अड्किएका फोहोरलाई सही रूपमा सफा गर्न सकियो भने दाँत तथा मुखमा लाग्ने ९० प्रतिशत रोगलाई रोक्न सकिन्छ। त्यसैले खाना खाइसकेपछि समय समयमा कुल्ला गर्नुपर्छ। अति गुलियो अमिलो, साह्रो, चिसो, तातो खानेकुरा धेरै खानु हुँदैन। धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ। प्रर्याप्त मात्रामा पानी पिउने, हरियो सागसब्जी, रेसादार खानेकुरा, दुग्धजन्य खानेकुरा खाँदा यस्तो समस्याबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०४ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको