पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा | Khabarhub Khabarhub

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ सालबाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्रले हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए । हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए ।

‘सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे । कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ ।’ यहाँका व्यवसायीले हात्ती थपेका छैनन् । स्वदेशी पर्यटक पनि घट्दै छन् । अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि घटाएको उनको भनाइ छ । उनले दुईवटा हात्ती घटाएर एउटा मात्र पालेका छन् ।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् । चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो । कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाइँले बताए ।

उनले पाल्न नसकेपछि दुईवटा हात्ती बेचेको बताए । उनका अनुसार एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ । एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्दछ । तर आम्दानी भने एक लाख पनि नहुने बताए ।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे । तर पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन । विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताए । उनका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन् ।

त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन् । युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेको उनले बताए । उनले भने, ‘राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ ।’

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताए । मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उनले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिए ।

सरकारले निजीस्तरमा पालेको हात्तीको विवरण सङ्कलन गरिरहेको भन्दै नेपालमा एक सय ५० वटा हात्ती निजीस्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए । उनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए । तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ ।

हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ । यद्यपि व्यवसायीले ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्दछन् । यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ४५ बजे

बंक-नाइल सडकसँगै पुल निर्माण पनि सुस्त

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा पर्ने कञ्चनपुरको बंक–नाइल–बुडर सडकखण्डमा निर्माणले

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ

सेयर बजारमा ९.५४ अंकको गिरावट 

काठमाडौं– बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.५४

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत