काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको हो ।
बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ पुगेको छ । त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।
कार्यालयका अनुसार सबै खातामा गरी १४ अर्ब ५६ करोड ३८ लाख सात हजार ५५६ जम्मा मौज्दात छ ।
कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा भइसकेको छ ।
सरकारले हालै रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ । जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार अतिरिक्त उपलब्ध गराइने छ ।













प्रतिक्रिया