भादगाउँ– धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा मङ्गलबारदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।
भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता (आकाश दीप) मुपात्र र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछेँ, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, बोलाछेँ, चासुखेल लगायतका स्थानहरुमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।
जात्राको तेस्रो दिन अर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा इन्द्रायणी देवीलाई शृङ्गारपटार गरी विधिवत् पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिलाहरु हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु धूप दीप बालेर सिद्धपोखरीले परिचित इन्द्र दहको दक्षिण दिशाको बीचमा ल्याई विराजमान गराइन्छ । जात्राका क्रममा राति पालाको दीप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।
जात्राको चौथो दिन येंया पुन्ही (भाद्र शुक्ल पूर्णिमा)का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनहरु ठूलो घुइँचो लाग्ने गर्छ । देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन इन्द्रायणी देवीसँगै दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरू तथा वासुकी नागको समेत पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाई पिउने परम्परा छ । राती इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आसनमा विराजमान गराइन्छ । जात्राको पाँचाँै दिनलाई पनि शून्य मानिन्छ ।
जात्राको छैटौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशूल आकारको माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती) बालिन्छ । लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँहरुमा परिक्रमा गराइन्छ ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुईजना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ । सहर परिक्रमा गर्दा टोलटोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ ।
जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेश कहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ । लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।
जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी (तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोलहरु तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत् रुपमा बलि पूजा गरिन्छ ।
भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोहरुमा धान खुवाउने, तमारी र दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँढले छुन्छ कि भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाएको हो ।
जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।
इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए।
लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरुको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाइँ गरे ।
लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन् । सो क्रममा दैत्यहरुलाई जनतामाझ सहर पराक्रमा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको प्रा डा श्रेष्ठ बताउँछन् ।
भक्तपुरमा इन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस्, काल र शत्रुनाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा डा श्रेष्ठले बताए । साथै यस जात्राले मूला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ ।